वर्तमान शिक्षा पद्धति : कति वैज्ञानिक, कति प्रयोजनपूर्ण ?

खरीबोट

शिक्षा विकासको सर्वथा पहिलो आधार हो । मानवीय चेतनाको असल जागृतिको मुख्य माध्यम भनेकै शिक्षा हो । त्यसकारण पनि मानवीय चेतनाका लागि शिक्षा अनिवार्य शर्त हो । त्यसका लागि व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी स्तरबाट पहल र प्रयास हुनुपर्छ यो नै सत्य कुरा हो । तर अहिलेको शिक्षापद्धति के-कति वैज्ञानिक र के कति प्रयोजनपूर्ण ? हाम्रा परम्परागत शिक्षा, पिँढी-शिक्षा या पहिलो पुस्ताबाट संस्कारको रूपमा स्वतः प्राप्त हुने शिक्षालार्इ आजको शिक्षापद्धतिले सम्बोधन गर्छ कि गर्दैन ? यो पृथक् चिन्तनको पाटो हो ।

शिक्षाले मानिसलाई नैतिक चेतना सिकाउनुपर्छ, अधिकार र कर्तव्यप्रति सजग बनाउनुपर्छ र व्यक्तिलाई आफ्ना कर्तव्यहरूप्रति उत्तरदायी बनाउनुपर्छ । काँधमा जिम्मेवारी, हृदयमा जिम्मेवारी र मस्तिष्कमा समझदारीको विकास शिक्षाले नै गराउन सक्छ । यही सत्य बुझेर शिक्षाको स्तरीयताका लागि विद्यालयहरूको सुधार योजना सरकारले ल्याइरहेको छ भने अभिभावकहरू पनि आफ्ना विद्यार्थीहरूलाई महङ्गो शुल्क तिरेर स्तरीय विद्यालयहरूमा भर्ना गरिरहेका छन् ।

सरकारी विद्यालयहरू निजी विद्यालयहरूको तुलनामा किन पछि परे ? महङ्गा विद्यालयहरूले छात्रहरूका लागि गर्ने लगानीको अपेक्षा सरकारले प्रत्येक क्षेत्र र वर्गलाई लक्षित गरेर लगानी गर्दागर्दै त्यस किसिमको शैक्षिक प्रतिफल प्राप्त गर्न किन सकेन ? त्यो पृथक् चिन्तनको विषय हो । तर निजी विद्यालयहरूले स्तरीयता कायम गर्नका लागि चालेका हरेक कदम के सही छन् त ? यो विषयमा कमै मात्र अभिभावक सजग बनेको देखिन्छ ।

एकातर्फ  निजी विद्यालयको नाम अङ्ग्रेजी भाषामा राखिनु पनि विवादकै विषय बन्दै आएको छ । भाषा अङ्ग्रेजीमा राखिनु समस्या नहोला तर हरेक निजी विद्यालयको नाममा इंग्लिस बोर्डिङ स्कूल राखिन्छ । हामीले अङ्ग्रेजी विद्यालय किन भन्नुपऱ्यो ? के कुनै विद्यालयमा अङ्ग्रेजी भाषामा पठन-पाठन हुनु नै अङ्ग्रेजी विद्यालय हुनु हो ? बोर्डिङ स्कूल मात्र भन्दा के बिग्रिएको छ ? अङ्ग्रेजी भाषामा पढाइ हुनु त्यहाँको यथार्थ होला, तर हामीले आफ्नो कमजोरी र अरुको महत्तालाई यसरी स्वीकारेका छौँ कि हामी महान् भइसक्दा या हुँदाहुँदै पनि अरुको आरती या स्तुतिगान गर्न छोडेनौँ । स्वाभिमान र अखण्डताको नित्यगान गर्ने हामीहरूका सूक्ष्म कुरामा दासताको अभिव्यक्ति वा वकालत किन ?

अधिक सुविधासम्पन्न विद्यालय र महाविद्यालयमा उत्पादन भएका जनशक्ति नेपालका लागि कम र विदेशका लागि बढी उत्पादन भएका छन्, जसको मारमा राज्य स्वयं परिरहेको अवस्था छ ।

निजी विद्यालयहरूले के-कति शुल्क लिएका छन् ? त्यसको वैज्ञानिकता वा अवैज्ञानिकता के ? भन्ने विषयको अनुगमन गर्ने निकायको खाँचो त निकै समयदेखि खट्किरहेको विषय हो । कक्षाकोठाको स्तरीयता कति आवश्यक र कति अनावश्यक ? विद्यार्थीहरूलाई न्यूनतम आवश्यकता कति र के ? यी सबैको निर्क्योलविना मेरो छोरो फलानो स्कूल या कलेजमा पढ्छ भन्नकै लागि अधिकांश अभिभावकले अन्धाधुन्ध खर्च गरिरहेको स्थिति छ ।

एकातिर शुल्कका आधारमा स्तरीयताको मापन हुन थाल्नुजस्तो अविवेकिता समाजमा व्याप्त भइरहेको छ भने अर्कातिर अधिक सुविधासम्पन्न विद्यालय र महाविद्यालयमा उत्पादन भएका जनशक्ति नेपालका लागि कम र विदेशका लागि बढी उत्पादन भएका छन्, जसको मारमा राज्य स्वयं परिरहेको अवस्था छ । यी सबैको प्रासङ्गिक उठान गरिए पनि यहाँ चर्चा गर्न खोजिएको भने निजी विद्यालयहरूमा देखिने पोसाकसम्बन्धी अवधारणाबारे हो ।

निजी विद्यालयहरू व्यापारिक प्रयोजनका लागि खोलिने कुरा जगजाहेर छ । अभिभावकहरूले विद्यालयले तोकिदिएका पोसाक (युनिफर्म) आँखा चिम्लेर किन्नुपर्ने र एउटा लोगोका लागि १५ देखि २५ रूपैयाँ खर्चिएको आधारमा न्यूनतम ५० प्रतिशतभन्दा बढी शुल्क अभिभावकहरूले तिरिरहेका छन् । हाउस ड्रेस, डे ड्रेस या सधैँको ड्रेस भनेर पोसाकका नाममा निजी विद्यालयहरूले निजी लाभका लागि जति ड्रेसहरू किनाउने गरेका छन् तिनीहरूको वैज्ञानिकता वा अवैज्ञानिकता अभिभावकहरू र विद्यार्थीहरूले कहिल्यै बुझेका छैनन् । ठीकै छ नेपाली अभिभावकहरू सम्पन्न मात्र होइन, अत्यन्त सहनशील पनि छन् ।

तर अचम्मलाग्दो कुरा के हो भने कतिपय निजी विद्यालयमा क्रिसमसका बेलामा सबै विद्यार्थीहरूलाई क्लजड्रेस (टोपीमात्र किन नहोस्) अनिवार्य गराइन्छ । एकातिर हाम्रो संस्कार र संस्कृतिमाथि प्रष्ट प्रहार भइरहेको र यसबाट राज्यको सांस्कृतिक सम्पन्नता जोखिममा पर्दै गएको चिन्तन भइरहेको छ भने अर्कातिर प्रायः निजी विद्यालयहरूले क्लजड्रेस किनाइरहेका छन् । यसको शिक्षासँग कुनै नाता छ ? ठीक छ विद्यार्थीहरूलाई सांस्कृतिक रूपमा सचेत गराउनुपर्छ । संस्कृति शिक्षाको अभिन्न पाटो हो । तर कुनै विद्यार्थीले मेरो पारिवारिक संस्कृति हो मैले छालाजन्य वस्तु धारण गर्दिनँ भन्यो भने कुनै निजी विद्यालयले छुट दिनेछैन, तर निश्चित सम्प्रदायको कुनै संस्कृतिमा सबै सम्प्रदायका व्यक्तिहरूलाई तत्सम्बद्ध ड्रेसको अनिवार्यता गराउनुको वैज्ञानिकता के छ ? एकथरिको वैज्ञानिक पद्धतिलार्इ पनि अन्धविश्वास र अर्कातिर अवैज्ञानिक कुरालार्इ पनि संस्कृतिको रूपमा स्वीकार गरिनु कतिसम्म न्यायोचित ठहर्छ ?

कुनै नेपालीले म बुद्धले लगाएझैँ चीरवस्त्र लगाएर यही विद्यालयमा पढ्न चाहन्छु भन्ने छुट छैन । अथवा बुद्धपूर्णिमाको दिन कमसेकम सबैले बुद्धले लगाउने माला धारण गरेर आओ कुनै बोर्डिङले भनेको सुनिँदैन । भनिनैपर्छ भन्ने पंक्तिकारको आशय पटक्कै होइन, तर आफ्नो देशमा जन्मिएका विश्वले गर्व गर्न लायक व्यक्तित्वको सम्मान या स्मृति पनि झुक्किएर मात्र गर्ने हामी किन अन्य (अन्य किन भनेको हुँ, यहाँहरूले बुझ्नुभएकै छ) लाई किन प्रोत्साहित गरिरहेका छौँ ? यसभित्रको वैज्ञानिकता के छ ? यसको बारेमा कुनै पनि अभिभावकले चासो किन देखाउँदैन ? कृष्णजन्माष्टमीमा कृष्ण, शिवरात्रिमा शिव वा बुद्धपूर्णिमामा बुद्ध नै बन्नुपर्ने अनिवार्यता विद्यालयहरूमा गरिनुहुँदैन ।

अर्काको संस्कृतिलाई नकार्नुपर्छ पटक्कै भनिएको होइन, निन्दा गर्नुपर्छ पनि पटक्कै भनिएको होइन, तर अर्काको संस्कृतिलाई स्वीकार्ने निहुँमा आफूले आफ्नो नैसर्गिक संस्कारलाई बिर्सिनु, वा अर्काको संस्कृतिलाई नबुझी लहैलहैमा अङ्गीकार गर्नु मूर्खता हो ।

ती-ती व्यक्तिहरूको वस्त्रमा होइन चरित्रमा अनुकरण गर्न सिकाउनुपर्छ । ती व्यक्तिहरूको चरित्रका रूपमा अनुकरण हुँदै आएका नकारात्मक र सकारात्मक कुरामध्ये नकारात्मकलार्इ स्पष्ट निषेध र त्यसको भावार्थ बुझाएर सकारात्मक कुराको अनुकरण गर्न अभिप्रेरित गरिनुपर्छ । हामीले बोक्राको अनुकरण त गर्न सिकायौँ, तर मनोरञ्जन र व्यापारका लागि संस्कृतिलाई जोड्नु के संस्कृतिको उपहास होइन ? श्रीकृष्णको पोसाक पनि अनिवार्य गरिनुपर्छ भन्ने होइन । तर अधिकांश त्यस संस्कृतिसँग परिचित व्यक्तिहरू रहेको ठाउँमा त्यसलाई चाहिँ महत्त्व नदिएर माथि वर्णन गरिएको प्रवृत्ति देखा पर्नुले चाहिँ आफ्नो मुठीमा रहेको खीर छोडेर कुहिनो चाट्ने प्रवृत्तिलाई सम्झाउँछ । अस्तित्वलाई जोखिममा राखेर अस्तित्वरक्षाको पाठ सिकाउनुले उत्पादित जनशक्ति कता मोडिन्छ ? हाम्रो राष्ट्रका, समाजका मौलिक पोसाकहरूलाई निजी विद्यालयमा किन स्थान दिइँदैन ?

के कसैले दौरा सुरुवाल लगाएर विज्ञान, सूचना-प्रविधि वा अङ्ग्रेजी भाषा पढ्नुहुँदैन ? अथवा त्यस्ता विषयहरूको आफ्नो भाषामा पनि पढ्न सक्ने व्यवस्थाका लागि सरकारी या निजी दुवै स्तरबाट पहल हुनुपर्दैन ? के हप्ता, महिना या वर्षैमा किन नहोस् एकदिन पारिवारिक संस्कृतिअनुरूप पोसाक लगाएर आउन कुनै निजी विद्यालयले स्वीकृति दिएको छ ? या अभिप्रेरित गर्न सकेको छ ? एकातर्फ पुस्तकमा नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो भन्ने रटाइरहनु र अर्कातिर आफ्नो बहुसांस्कृतिकतालार्इ वास्ता नगरी एक सांस्कृतिकता त्यो पनि मौलिक नभएर आयातित संस्कृतितर्फ अभिमुख बनाउनुपर्छ भन्ने जरुरी छ ? अरु कसैले भनिदिएकै भरमा हामीले आफ्ना संस्कृतिलाई अन्धविश्वास भन्न सिक्यौँ । सानालाई माया गर्नुपर्छ र ठूलालाई सम्मान गर्नुपर्छ भन्ने कुरालाई पनि अर्काकै लहैलहैमा लागेर अन्धविश्वास भन्न सक्ने हामीहरू कसैले हातमा ल्याएर यो किताब आँखा चिम्लेर पढ् भनेर थमाउँदा आँखा चिम्लेर पढिदिन्छौँ र आफ्ना बालबच्चाहरूलाई पढाउँदा रोक्न सक्दैनौँ । हामीले यसरी आफ्नो विवेक गुमाउँदै गयौँ । निजी तथा सरकारी सबै स्तरका विद्यालयहरूमा पनि यो धमिरो पसिसकेको छ ।

अर्काको संस्कृतिलाई नकार्नुपर्छ पटक्कै भनिएको होइन, निन्दा गर्नुपर्छ पनि पटक्कै भनिएको होइन, तर अर्काको संस्कृतिलाई स्वीकार्ने निहुँमा आफूले आफ्नो नैसर्गिक संस्कारलाई बिर्सिनु, वा अर्काको संस्कृतिलाई नबुझी लहैलहैमा अङ्गीकार गर्नु मूर्खता हो । हामी सांस्कृतिक सम्पदा र गौरवका बारेमा पढाउँछौँ तर विद्यालयहरूमा राष्ट्रियताको पाठमात्र पढाएर अबको युवाशक्ति त्यसमा केन्द्रित हुँदैन ।

अब उत्पादित हुने जनशक्तिमा राष्ट्रिय चेतना जगाउन सकेनौँ भने आगामी दुई दशकभित्र देशलाई देशको रूपमा चिन्ने जनशक्ति औँलामा गन्नेजति पनि उत्पादित नहुने खतरा छ । यसरी कसैको सांस्कृतिक स्वतन्त्रतामाथि हनन गरिएको स्पष्ट छ भने एउटा सांस्कृतिक चेतना जागृत नभएको निम्न प्राथमिक तहमा पढ्दै गरेको विद्यार्थीलाई जबर्जस्ती कुनै पोसाक लगाउन अनिवार्यता गरिनु कतिसम्म जायज हो ? यसबारे अभिभावकहरू बेलैमा सचेत बन्नुपर्ने देखिन्छ ।

अर्कातिर आर्थिक अवस्था न्यून भएको व्यक्तिले पनि आफ्नो सन्तानलाई स्तरीय शिक्षा दिने मनसायले स्तरीय विद्यालयमा भर्ना गर्न पाउँछ । ठिक छ शिक्षाको स्तरीयताका लागि विद्यालयले लिने शुल्कसम्मका लागि त उसले बोक्न सक्नेभन्दा बढी भार बोक्न पनि राजी होला, तर यस किसिमका अनावश्यक शुल्कहरूको भारी त्यस्ता व्यक्तिमाथि थोपरिनुले के उसको शिक्षामोहलाई र उसको आर्थिक अवस्थालाई सम्बोधन गरेको देखिन्छ ?

यसप्रकार शिक्षा दिने भन्दा पनि शिक्षाको नाममा आफ्नो व्यापार-व्यवसाय राम्ररी चलाउने लक्ष्यका साथ लागिपरेका निजी विद्यालयहरूबाट अभिभावक, निजी विद्यालयमा पढाउने शिक्षक, अध्यापक, स्वयं विद्यार्थी, राष्ट्र, राष्ट्रिय संस्कृति जस्ता सबै पक्षहरूलाई नकारात्मक असर परिरहेछ भने राज्यको ठूलो लगानीमा सञ्चालित विद्यालयहरूमा चाहिँ स्तरीय शिक्षा लिन चाहने विद्यार्थी नजानुले त्यहाँको प्रशासन अधिकांश कामचलाउ बनिरहेको देखिन्छ । समाज र राष्ट्रलाई पर्ने यस किसिमको दुष्प्रभाव घटाउनका लागि बेलैमा सचेत बन्ने हो कि ?

सम्बन्धित समाचार

अति भो ! मदन—आश्रितको हत्यास्थलमा पूर्वएमालेको भट्टी पसल ! 

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको चोला उडाएको ठाउँ हो दासढुङ्गा।  हत्याअघि न त्यो ठाउँको चर्चा थियो, न कसैले नामै सुनेका थिए , थिए भने पनि केही सय

धर्म के हो ?

धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु

साहित्य : कति जिम्मेवारी, कति मनोरञ्जन ?

काठमाडौं । नेपाली साहित्य अहिलेसम्म आउँदा निकै समृद्ध बनिसकेको छ । अनुवाद र स्तुतिबाट सुरु भएको नेपाली साहित्यले नैतिक चेतना हुँदै उत्तर आधुनिकतासम्मको यात्रा गरिसकेको छ । यसले आख्यान र

गण्डकी प्रदेशको रहर : पर्यटकीय राजधानी पोखरा सहर !

गोरखा । प्रकृतिले दिएका अथाह सम्भावना, विभिन्न जातजातिको संस्कार,  भाषा, धर्म र संस्कृतिहरुले धनी छ गण्डकी प्रदेश । त्यसको जगेर्ना गर्नुपर्ने सरकारको दायित्व हो । आस्थाको धरोहरहरुको सम्मान, संरक्षण गर्नु


z