सरिता तिवारीलाई प्रश्न : नारी साहित्यमा पुरुष नै स्थायी 'भिलेन' हो त ?

खरीबोट

  • चितवनमा रहेर कविता तथा वैचारिक लेखनमा सक्रिय रहँदै आएकी कवि सरिता तिवारी समकालीन नेपाली साहित्यकै सशक्त नारी आवाजका रुपमा परिचित छिन् । विशेषतः सीमान्तकृत, उत्पीडित वर्ग र महिलाअधिकारका लागि आवाज उठाउँदै आएकी कवि तिवारीका तीन कवितासंग्रहहरु ‘बुद्ध र लाभाहरू’, ‘अस्तित्वको घोषणापत्र’ र ‘प्रश्नहरूको कारखाना’ प्रकाशित छन् । साथै उनका थुप्रै वैचारिक लेखहरू अखबारमा प्रकाशित छन् । पुस ६ गते स्वास्थ्योपचारका लागि भारतको दिल्लीतर्फ लागेकी कवि सरिता तिवारी सवार रहेको नेपालभारत मैत्री बस सेवा भारतको आगराको एत्मादपुर क्षेत्रमा ट्रकसँग ठोक्किन पुग्दा दुर्घटनामा परेको थियो । चालकको घटनास्थलमा नै मृत्यु हुन गएको थियो भने कवि सरिता तिवारी आफ्नो श्रीमानसहित घाइते हुनपुगेकी थिइन् । उनको टाउको, आँखा र ओठमा चोट लागेको थियो भने उनको श्रीमानको नाक फुट्नुका साथै ओठ काटिएको थियो । पाठेघरको समस्याबाट पीडित उनी दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर शुक्रबार नेपाल फर्केकी छिन् । प्रस्तुत छ उनी दिल्लीमा उपचाररत रहेको बेला उनको साहित्य लेखन तथा वैचारिक पाटामा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले राखेका प्रश्नहरूमाथि कवि सरिता तिवारीको जवाफ :

अहिले के पढ्दै - लेख्दै हुनुहुन्छ ?

खासै त्यस्तो विशेष लेखपढ हुन सकेको छैन। स्वास्थ्यका कारण पनि पछिल्ला केही महिनादेखि 'डिस्टर्व' छु । फुटकर पठन मात्रै भइरहेको छ । लेखन पनि फुटकर मात्रै !

‘प्रश्नहरूको कारखाना’ सार्वजनिक भएको पनि तीन वर्ष बितिसक्यो । नयाँ पुस्तकको तयारी गर्दै हुनुहुन्छ कि ?

तयारी त छ तर विभिन्न कारण पुस्तक प्रकाशनमा ढिलाइ भइरहेको छ। त्यसको मुख्य कारण म आफैं हुँ ।

नेपालमा अधिकांश नारी लेखकहरूले महिलाअधिकारकै लागि आवाज उठाउने गरेको देखिन्छ । तपाईं पनि उत्पीडित, सीमान्तकृतहरूका लागि र विशेष गरी महिलाअधिकारको लागि आवाज उठाउनुहुन्छ । तपाईंको लागि लेखन के हो ?

म लेखनलाई दायित्व मान्छु । यो कुण्ठा वमन या मनोविलास मात्रैमा सीमित रहनुहुन्न भन्ने मेरो मान्यता छ । तर प्रायः हरेक लेखक कुण्ठित त हुन्छ नै । आफैँसित, समाज र देश दुनियाँका अनेक विद्रुपतासित । त्यसलाई यथासम्मव सकारात्मक चेतको ऊर्जामा बदल्ने हो । त्यसो गर्न इतिहास र समाज बुझ्नुपर्छ । त्यति बुझिसक्दा तपाईं आफूसँगै अरुलाई पनि समानुभूतिले बुझ्न सक्नुहुन्छ । त्यही कुरो लेखनमा व्यक्त हुन्छ ।

वर्तमानमा नेपाली आम महिलाहरूको अवस्था कस्तो पाउनुहुन्छ?

नेपाली महिलाको राजनीतिक चेतना तुलनात्मक रुपले धेरै बलियो भइसकेको छ तर पितृसत्ताको दाउपेच र राजनीति सँग यिनको भीडन्त अब सतहमा देखिन थालेको छ। यो सहरी क्षेत्रमा मात्रै होईन गाउँ गाउँमा पनि देखिन थालेको छ ।कारण के हो भने महिला पनि अब आत्मनिर्भर हुन थालेका छन् । तिनका हातमा धेरथोर पैसा पर्न थालेको छ । त्यसले महिलाको आत्मसम्मान र हिम्मत बढाएको छ। शहरी क्षेत्र होस् या गाउँ, एकल परिवारका बुझक्की पुरुष वर्ग आफ्नो जीवन साथीप्रति उदार हुन थालेका छन् ।

यो प्रतिशतले धेरै कम होला तर यस्तो पारिवारिक चित्रले ठूलो परिवर्तनको संकेत गर्छ । तर सामाजिक सुरक्षाको दृष्टिले महिला भयावह आतंकमा छन् । त्यो हिजो पनि नभएको होइन तर खासगरी निर्मला हत्याकाण्डमा प्रहरी र सरकारको रवैयाले बहुमत जन अनुमोदित सरकारको निर्लज्जता जसरी सार्वजनिक भयो,यसले असंख्य निर्मलाहरूमाथिको अपराधले कसरी दण्डहीन परिणति लिएको छ भन्ने डरलाग्दो स्थिति देखाएको छ। महिलाको यो हदको अपमान हुने देशको निवासी हुनु साँच्चै बिडम्बनाको कुरा हो । तर हामी निरन्तर यसविरुद्ध लड्नुको विकल्प छैन ।

यस वर्ष मिस नेपाल शृंखला खतिवडाको मिस वर्ल्डको यात्राले संचारमाध्यम र सामाजिक संजालमा निकै चर्चा पायो । कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ताले नै शृंखलालाई जिताउन खुलेर सपोर्ट गरे । अर्कातिर १२ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यालाई लिएर पनि नेपालमा बृहत प्रदर्शन र चर्का आवाजहरू उठिरहेका छन् । यद्यपि राज्यले भने घटनाको सत्यतथ्य बाहिर ल्याउन सकेको छैन । सँगसँगै भएका यी दुई घटनाहरूलाई कसरी हेर्नुहुन्छ ?

यो सरकारमा निकम्मा कापुरुषको बाहुल्य छ । दुई घटनामध्ये तथाकथित कम्युनिस्ट नेता कार्यकर्ताले निर्मला हत्याकाण्डको प्रतिरोधलाई सरकार विरोधी प्रहसन देख्ने र शृङ्खला खतिवडालाई जिताउन उपल्लो सरकारी संरचनादेखि कार्यकर्ता तह नै अपिलमा जुट्ने जे-जस्तो चित्र बाहिर देखियो यसले चिन्तनको नग्नता र अश्लीलताबाहेक अरु केही देखाउँदैन । यो कम्युनिस्ट विचार र सिद्धान्तको विपरीत हो । यी अब नामका मात्रै कम्युनिस्ट हुन् भन्नेमा कुनै शंका रह्यो र !

यो सरकारमा निकम्मा कापुरुषको बाहुल्य छ

सुन्दरी प्रतियोगिता/विज्ञापन/ग्लेमर/चलचित्र आदिमा महिलालाई वस्तुको रुपमा प्रस्तुत गरिने थाहा पाउँदापाउँदै पनि स्वयं शिक्षित महिलाहरू नै ती क्षेत्रमा प्रवेश पाउनका लागि हारालुछ गर्ने गर्दछन् नि ?

फेम भन्छ नि प्रसिद्धि, यो हो मुख्य उत्प्रेरक । मैले त बारम्बार भन्दै आएकी छु, पुँजीवाद पितृसत्ताकै नयाँ चोला भइसक्यो । यो सन १९५० यता तीब्र रुपले फेसन, सौन्दर्य प्रसाधन र ब्युटी पेजेन्ट्का माध्यमबाट झन् बलियो भएर आयो । पुँजीवाद सुरुमा युरोपेली पुनर्जागरणका बेला महिलाका लागि हितकारी नै भएको हो । महिलालाई पब्लिक स्फेयर दिने, घर बाहिरको काम गर्ने,कोट प्यान्ट लगाउने इत्यादि कुरामा निक्कै उदार भएर आएको हो । तर पछि आएर महिलालाई अर्बौं डलरको सौन्दर्य प्रशाधन र यौनजन्य व्यापारको साधन बनाउन सफल भयो । महिलाको शरीरको वस्तुकरणविरुद्ध संसारभर विभिन्न स्तरका आन्दोलन र बहस पनि हुँदै आएका छन् । तर हाम्रो विडम्बना के हो भने पुँजिवादको सकारात्मकभन्दा नकारात्मक आयामको आयात बढी भयो । तपाईंले भनेको कुरो त्यसैको परिणाम हो ।

यस पटकको मदन पुरस्कार नारी विषयमा नै केन्द्रित निलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’ले प्राप्त गर्यो । तपाईंकै कवितासङ्ग्रह ‘प्रश्नहरूको कारखाना’ पनि २०७२ को मदनपुरस्कारको मनोनयनमा परेको थियो । समकालीन नेपाली साहित्यमा महिला लेखकको उपस्थिति र नारी आवाजको अवस्था कस्तो पाउनुहुन्छ?

उपस्थिति त राम्रो छ तर चिन्तनको 'सेफ जोन' मा बसेर लेख्ने प्रवृत्ति छ महिला लेखकमा । जोखिम मोल्न कोही तयार छ जस्तो मलाई त लाग्दैन । सिद्ध भइसकेका तथ्य, अलोकप्रिय हुनु नपर्ने मुद्दामा लेखेर लेखकीय सम्मान त पाइएला तर लेखकीय दायित्व भने पूरा हुँदैन । पाठकले पत्याइरहेका र एउटा कद बनाइसकेका लेखकले यस्तो अवस्थालाई चिर्नुपर्छ ।

नारी साहित्यमा पुरुष नै स्थायी 'भिलेन' हो त ? लैंगिक समानताका लागि प्रमुख बाधकहरू के-के पाउनुहुन्छ ?

पुरुष 'भिलेन' होइन एउटा 'एलिमेन्ट' भने हो । नारीको स्वतन्त्रता र सम्मानको ठूलो सहकारी हुनसक्छ पुरुष । त्यसो गर्न उसले आफ्ना केही विशिष्ट सहुलियत सहजतासाथ फिर्ता गर्नुपर्ने हुन्छ। गफले मात्रै होइन, व्यवहारले । जबसम्म महिलाको हस्तिलाई एउटा सार्वभौम व्यक्तिको दर्जा प्राप्त हुन्न विभिन्न स्तरको हिंसा भइरहन्छ। शारीरिक हिंसा त सामान्य नै भयो, बोल्नासाथ हिंसा हुन्छ हेर्नुस् । झन् तपाईं दायाँबायाँ कुनै अपेक्षा र आशा नराखी खसोखास कुर गर्न रुचाउने स्ट्रेट फर्वार्ड महिला हो भने त पाइला पाइलामा चुनौती तेर्स्याइन्छ । तर चुनौतीसँग नलडी त कसरी मुक्ति होला र ?

समयअनुसार दर्शन र सिद्धान्तहरू पनि परिमार्जित हुँदै जान्छन् । नेपालमा महिलाको अवस्था पनि परिवर्तन हुँदै गइरहेको छ । अबका दिनमा नारीवाद र नारीवादी साहित्यले कुन रुपमा कस्ता मान्यताहरू बोकेर अगाडि बढ्नुपर्छ होला?

'नारीवाद' सतहबाट हिंडेको आभास हुन्छ । यसले सतहलाई छेडेर भित्र पुग्न सकेको छैन। सरकार र दलहरू महिलाको अधिकार र स्पेसको पक्षमा उदासिन छन् । त्यहाँ पुरुष बाहुल्यता र प्रभुत्व छ। महिला अधिकारको प्राधिकार मानौं एनजीओको ठेक्का जस्तो भएको छ । सबै एनजीओ त्यस्ता नहोलान् तर अधिकांश करोडौंको काम देखाएर नगण्य परिणामको स्थितिमा छन् । लेखकहरू विभिन्न खेमामा बाँडिनु अस्वाभाविक भएन तर धेरैजसो लेखक 'इफेक्ट' माथि बहस गर्छन् 'कारण' भित्र प्रवेश नै गर्दैनन् । हामी कारणको ऐतिहासिकता र त्यसको क्रमागत वर्तमानमा आइनपुगेसम्म नेपाली नारीवाद सतहमै दगुरिरहन्छ ।

मैले एकजना यस्ती महिलालाई चिन्दछु जसले पतिको वर्षौसम्मको गैरहाजिरीमा विधुर ससुरालाई यौनसेवा दिनुपर्ने कारण डिपो लगाइरहिन् । त्यो सुन्दा मलाई कति दिन निद्रा आउन सकेन ।

‘मी टू’ अभियानले महिला अधिकारका लागि विश्वमै नयाँ आयाम लिएर आयो । तर नेपालमा त यसले त्यति चर्को रुप लिन सकेन नि ?

अमेरिका, युरोपजस्ता ठाउँमा यौन दुव्र्यवहारमाथि खुलेर बहस गर्ने कुराको थालनी आजदेखि भएको होइन । त्यहाँ यौन राजनीतिमाथि धेरै विमर्श र छलफल भइसकेका छन् । उनीहरूको समाज हाम्रो जस्तो सेमी क्लोज्ड पनि होइन । मतलब, अर्धखुला। यस्तो समाज सबैभन्दा भ्रष्ट, अनैतिक र निर्लज्जताको हदसम्मै द्वैध चरित्रको हुन्छ । यहाँ घरभित्रै हाडनाता करणी क्षम्य हुन्छ तर त्यसको प्रतिकारमा चुइँक्क बोलियो भने महिलालाई नै दोषको भागी बनाइन्छ । मैले एकजना यस्ती महिलालाई चिन्दछु जसले पतिको वर्षौसम्मको गैरहाजिरीमा विधुर ससुरालाई यौनसेवा दिनुपर्ने कारण डिपो लगाइरहिन् । त्यो सुन्दा मलाई कति दिन निद्रा आउन सकेन । अर्की त्यस्ती युवतीलाई भेटेकी छु, जसलाई आफ्नै बाबुले लगातार किशोरावस्थादेखि शिकारी बाजले झैं लुछ्दै आयो तर उसकी आमाले छोरीको पक्षमा केही गरिदिइनन्। यस्ता कुरा समाजमा सर्पको गलामा विष जस्तै बसेका छन् । त्यसैको जवाफमा मैले हे देवी ! र बा ! जस्ता कविता लेखें तर समालोचनाका हस्ती भन्नेहरूले तिनलाई प्रकृतवादी, नारीवादी उत्ताउलोपनको ट्याग लगाइदिएका छन् । सबै बाउलाई बलात्कारीको बिल्ला लगाइदिएको आरोप लगाएका छन् । कारण तिनीहरू आइमाई होइनन्, केवल आलोचक हुन् । तिनीहरू यो सन्दर्भलाई कहिल्यै उदार आँखाले हेर्दैनन् । खैर अहिले यो प्रसंग यहीं छोडौं ।

ज्यादै सानो अनुशासित पंक्तिलाई छोडेर हेर्दा मूलरूपमा हाम्रो समाज हदैसम्मको अनैतिक छ । यस्तो समाजमा यौन दुराचार सामान्य हुन्छ । शासक र ठूलाबडाले रैती र आम जनसाधारण महिलालाई कसरी घिसार्दै उपपत्नी र रखैल बनाउँथे भन्ने किस्सा र इतिहास काफी छ । यो रूपमा फरक भए पनि सारमा अझैसम्म छ । क्या माल !, पटाखा ! वा यस्तै यस्तै बोलीले कुनै छोरी मान्छेमाथिको गिद्दे टिप्पणी गर्ने मान्छे हरेक घरमा छन् । ती हाम्रा बाउ, लोग्ने, छोरा, दाजुभाइ जो पनि हुन सक्छन् । पश्चिमी समाजमा त्यस्तो थिएन वा छैन भन्ने होइन । यौन शोषण पनि तह र तप्कापिच्छे कस्तो हुन्थ्यो वा हुन्छ भन्ने कुरा त्यताका वृत्तान्त र अखबारका रिपोर्ट पढ्दा थाहा हुन्छ । पुँजीकरणको चरममा आइपुग्दा महिलाको शरीर नै वैधानिक रुपले खरिदबिक्रीको माल भएपछि त्यहाँको यौनिक जीवनको मापन गर्ने स्थिति नै भएन । तर पछिल्लो शताब्दीसम्ममा त्यहाँको स्त्रीमुक्ति र नारीवादी आन्दोलनले प्रतिरोधको आन्दोलनलाई नयाँ नयाँ ध्वनि र भाषा दिएको छ । त्यसैले त्यहाँ तराना बुर्केजस्ता महिलाले चलाएको आन्दोलनलाई एउटी हलिउड नायिकाले एडप्ट गर्छिन् । भलै अब यो सोफिस्टिकेटेड कुलीन वर्गीय, लेख्न वा ट्विट गर्नसक्ने महिलाको आन्दोलन नै बनेको किन नहोस्, यसलाई आम जनसाधारण महिलाको समेत साझा आन्दोलन बनाउनु जरुरी छ ।

तपाईं अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? 

अहिले म स्वामी दयानन्द सरस्वतीको जीवनी पढ्दै छु भन्नुपर्ला । यिनी उन्नाइसौं शताब्दीको भारतीय दर्शनका अभूतपूर्व पात्र हुन् । मुर्तिपूजाका कठोर आलोचक, अवतारवाद र जातिवादका विरोधी, वेदान्त र आर्यसमाजका प्रचारक यिनको पुस्तक सत्यार्थ प्रकाशबारे लेखक नारायण ढकालले लेखेको उपन्यासमा पढेपछि खुब जिज्ञासा पलाएको थियो ।

तपाईंलाई सबैभन्दा मन परेका ५ पुस्तक ?

आहुतिको तपस्वीका गीतहरू
कात्यायनीको दुर्गद्वार पर दस्तक
हर्मन हेस्सेको सिद्धार्थ
पारिजातको पर्खाल भित्र र बाहिर
पाशका प्रतिनिधि कविताको संकलन बीच का रास्ता नहीं होता

आगामी दिनहरूलाई लिएर के कस्ता योजना छन् तपाईंको ?

मैले बनाउने प्रायः योजना फेल हुन्छन् । खै किन ! त्यसैले अब विना योजना यत्तिकै लेखपढ गर्ने मन छ।

अन्त्यमा, आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?

आजका पाठक धेरै सचेत हुनुहुन्छ । म उहाँहरूलाई यहाँ थप केही भन्न वा कुनै अपिल गर्न असमर्थ छु । भन्नुपर्ने कुरा कुनै लेख वा कवितामै भन्दा बढी सार्थक होला।

सम्बन्धित समाचार

नारालेखन र नक्कलले मात्रै नेपाली साहित्य उँभो लाग्दैन : राजकुमार बराल

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा अंग्रेजी साहित्य अध्यापन गर्दै आएका उपप्राध्यापक राजकुमार बरालका साहित्यिक समीक्षा तथा लेख-रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने गर्छन् ।  साथै उनी एक कुशल अनुवादकका रुपमा पनि

लेखनबाटै जसोतसो दाल-भात खाइरहेको छु : मीनराज वसन्त

लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका बाग्लुङका लेखक मीनराज वसन्तले वैदेशिक रोजगारीको क्रममा तीन वर्ष कतारमा रहँदा आफूले देखे-भोगेको अनुभवलाई २०७३ मा प्रकाशित 'मुदिर' उपन्यासमा उतारे । पाठकहरूमाझ निकै

जसले सानैमा डाक्टर/पाइलट हैन, नामी कलाकार बन्ने सपना देखे !    

काठमाडौं । सानो उमेरका जो कोहीलाई भोलि के बन्ने ? भनेर सोध्यो भने सहजै उत्तर आइहाल्छ – डाक्टर÷पाइलट या इन्जिनियर बन्नेछु । त्यसैले त भनिन्छ सपनाको कुनै धरातल हुँदैन र हेरिँदैन

'संघीयता र संविधान हाम्रै संघर्षको परिणाम'

कमला रोका नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा संघीय प्रतिनिधिसभाकी सांसद समेत हुन् । माओवादी पृष्ठभूमिको राजनीतिबाट हुर्केकी हुँदा उनलाई पहिलो महिला छापामार पनि भन्ने गरिन्छ । साथै उनले डा.


z