• २०८१ बैशाख १५ शनिबार

प्रवासमा रहेका लाखौ सिर्जनशीलहरुको उपेक्षा गरेर समृद्धि आउन सक्दैन - कमल थापा 

kharibot

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकको आर्थिक विकासमा प्रवासी नेपालीहरुको ठुलो भूमिका रहेको बताएका छन्। राप्रपा प्रवास बिभागको आयोजनामा 'मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीको भूमिका' विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले ४० -५० लाख सिर्जनशील नेपालीलाई बाहिर राखेर मुलुकको समृद्धिको कल्पना गर्न नसकिने बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालको कुल राष्ट्रिय आयको ३० प्रतिशत रेमिट्यान्सको रुपमा देशमा भित्रिरहेको र नेपाली जनसंख्याको ठुलो हिस्सा विदेश पलायन हुनु र आएको रेमिटेन्सको देशमा सहि सदुपयोग नहुनु चिन्ताको विषय बनेको बताए। उनले अहिले हाम्रा उत्पादन बेचेर देश धनि हुने भन्दा पनि श्रम बेचेर राष्ट्रिय आय बढाउदै आएको अवस्था रहेको भन्दै ४० देखि ५० लाख सिर्जनसील नेपालीहरु विदेशमा रहेको अवस्था रहेको बताए । 
 
राप्रपा वैचारिक दृष्टिकोणबाट मात्र फरक छैन भन्दै अध्यक्ष थापाले घोषित रुपमा नै खुला बजारमुखी अर्थतन्त्रलाई राष्ट्रको आर्थिक समृद्धिको रुपमा आत्मसाथ गरेको बताए। समाजवाद र राष्ट्रवादको आकर्षक नारा भन्दा राष्ट्रको उन्नतिको लागि उदार अर्थतन्त्र नै ठिक हुने मान्यतामा राप्रपा रहेको बताए। राजनीतिक, सामाजिक र आर्थिकदृष्टिकोणबाट राप्रपालाई फरक पार्टी बनाउन लागेको बताउदै अहिले आफुहरुले त्यो कुरा बुझाउन नसकेको बताए। 

नेपालको आर्थिक समृद्धिमा प्रवासमा रहेका नेपालीको ठुलो भूमिका रहेको राप्रपाको विश्वास रहेको बताउदै अध्यक्ष थापाले ४०-५० लाख प्रवासमा रहेका सिर्जनशीलहरुलाई उपेक्षा गरेर राष्ट्रको समृद्धि हुन नसक्ने बताए। विदेशबाट प्राप्त हुने आर्थिक सहायता या एफडिआई भन्दा रेमिट्यान्सको भूमिका ठुलो रहेको उनको भनाइ थियो । 

राप्रपाले आप्रवासलाई निश्चित सिमा बनाउन राष्ट्रिय नीति बनाउनु पर्ने बताउदै दिर्घकालिन आर्थिक नीतिको योजना बनाउदा २०-३० बर्षको समयमा विदेश जाने नेपालीको संख्या आधा घटाउनु पर्ने राप्रपाको नीति रहेको बताए। 

वैदेशिक रोजगारमा जादा नै उनीहरुको योग्यता र क्षमताको आधारमा नीति नै बनाएर उनीहरुको योग्यता र क्षमताको सदुपयोग हुनुपर्ने बताए। रेमिट्यान्सको सम्पूर्ण नियन्त्रण राज्यले गर्न नसकेपनि यसका सामाजिक र आर्थिक रुपमा यसका असरका बारेमा आवश्यक नीति बनाउनु पर्ने बताए। रेमिट्यान्सको ७५ प्रतिशत उपभोगमा प्रयोग भएको भन्दै अध्यक्ष थापाले नीति बनाएर ५० प्रतिशत उत्पादनशील क्षेत्रमा प्रयोग हुने वातावारण बनाउनु पर्ने बताए। 

कार्यक्रममा नेपालको समृद्धिमा प्रवासमा रहेको भूमिकाका विषयमा अर्थविद सुजीव शाक्य र अर्का अर्थविद श्याम खड्काले चर्चा गरेका थिए। कार्यक्रम राप्रपा प्रवास बिभाग प्रमुख विजय खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै