• २०८१ बैशाख १५ शनिबार

गूगल डाक्टरबाट ज्यानको जोखिम  

kharibot

काठमाडौं । हाल विश्वभर कुनै पनि रोग लागेमा सबैभन्दा पहिला गूगल अथवा इन्टरनेटमा त्यसको कारण, लक्षण, उपचार विधिको खोजी गर्ने चलन बढिरहेको छ । कसैलाई टाउको दुखेमा, पेट दुखेमा अथवा कुनै सामान्यभन्दा सामान्य समस्या देखिएमा पनि मानिसहरु गूगलमा त्यसबारे सर्च गरिहाल्छन् । 

यस्तैमा भारतको राम मनोहर लोहिया अस्पतालमा एक व्यक्ति उपचारको लागि गए । उनले आफूलाई टाउको दुखेको बताए । डाक्टरले सामान्य परीक्षण गर्दा उनले चित्त बुझाएनन् । उनले यसबारे इन्टरनेटमा सर्च गर्दा माइग्रेन अथवा ब्रेन ट्युमरको लक्षण आफूमा मिलेको महसूस गरे । त्यसैले उनले जिद्दी गरेर सिटी स्क्यान गर्न लगाए । तर, परीक्षण गर्दा उनी साधारण अवस्थामा रहेको पाइयो । 

यसरी इन्टरनेटमा रोगको लक्षण, कारण, तथा उपचार विधि खोज्ने मानिसको संख्या हाल तीव्र गतिमा बढिरहेको छ । यसरी सर्च गर्ने मानिसहरु विभिन्न भ्रम पालेर डाक्टरलाई आफूले सुझाएको तरिकाले उपचार गर्न जिद्दी गर्छन् । यस्ता बिरामी अचेल धेरै भेटिने गरेको डाक्टरहरु बताउँछन् । यो प्रवृत्ति डाक्टरहरुको लागि एक ठूलो चुनौती नै बनेको छ । 

कतिपय रोगीहरु इन्टरनेटमा सर्च गरेकै भरमा डाक्टरको सल्लाह नलिई औषधिको प्रयोग गर्छन् । यसले उनीहरुको स्वास्थ्यमा निकै ठूलो असर पार्न सक्छ । यसले रोगीको ज्यान नै जान पनि सक्छ । त्यसैले अचेल डाक्टरहरु यदि स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सक अथवा विशेषज्ञको सल्लाह लिन सुझाव दिन्छन् । इन्टरनेटमा सर्च गरेर धेरै कुराको ज्ञान त हासिल गर्न सकिन्छ । तर, कतिपय रोगका लक्षण उस्तै भए पनि तिनको उपचार विधि, रोग लागेमा दिइने औषधि र त्यसको मात्रा भने फरक पनि हुन सक्छ । 

यदि इन्टरनेटमा सिम्प्टम्स अफ ब्रेन ट्युमर भनेर सर्च गर्ने हो भने त्यहाँ टाउका दुख्नु, उल्टी हुनु, बेहोस हुनु, निद्रामा समस्या आउनु आदि लक्षण उल्लेख गरिएका हुन्छन् । तर, यी लक्षण अन्य विभिन्न रोगका पनि हुन् । त्यसैले बिरामीले असमञ्जसमा परेर गलत औषधि र गलत उपचार विधि अपनाउन पनि सक्छन् । 

त्यस्तै चिकित्सकहरुले हाल अर्को एक समस्या झेलिरहेका छन् । बिरामीलाई कुनै पनि औषधि दिएमा उसले सर्वप्रथम त्यसको फाइदा, बेफाइदा र साइड इफेक्टबारे इन्टरनेटमा सर्च गर्न थाल्छन् । यो प्रवृत्तिले गर्दा कतिपयले चिकित्सकले तोकेको औषधि नै खाँदैनन् भने खानेले पनि पर्याप्त मात्रामा औषधिको सेवन गर्दैनन् । उनीहरु जति सम्झाए पनि आफूले इन्टरनेटबाट जानेको कुरा नै सर्वथा सत्य हो भन्ने सोचेर सोहीअनुरुप क्रियाकलाप गर्छन् । 

एक जोडीले जुलाईमा भिडियो हेर्दै घरमा नै बच्चा जन्माउने निर्णय गरेछन् । यसरी घरमा नै डेलिभरी गर्दा शिशुलाई त केही भएन, तर आमाले भने ज्यान नै गुमाउनुपर्यो । उक्त महिलाका पतिलाई प्रहरीले पक्राउ गर्यो । 

डेलिभरीको लागि आउने अधिकांश जोडीले साधारण अवस्थामा पनि शल्यक्रिया गर्न चाहन्छन् । उनीहरु सामान्य डेलिभरीको भिडियो हेर्छन् र डेलिभरीको समयमा हुने पीडाबाट डराउँछन् । त्यस्तै, उनीहरु सामान्य डेलिभरीबाट उत्पन्न हुन सक्ने समस्याबारे इन्टरनेटबाट जानकारी लिई त्यसबाट निकै डराउने फोर्टिस ला फेममा एब्सटेट्रिक्स एन्ड गाइनेकोलोजिस्ट डा. मधु गोयल बताउँछिन् । 

कतिपयले भिडियोमा हेरेर यो एक सामान्य प्रक्रिया हो भन्ने सोची डाक्टरको सल्लाह नलिई घरमै डेलिभरी गर्ने सोच राख्छन् । यसले आमा र बच्चा दुवैको ज्यान नै जोखिममा पर्न सक्छ । 

भिडियो हेरेर शल्यक्रिया गर्नु निकै घातक हुन सक्छ । भिडियो हेरेको भरमा पहिलोपटक चिया त सही ढंगले पकाउन सकिँदैन भने शल्यक्रिया कसरी सम्भव हुन्छ भन्छन् म्याक्स अस्पतालका स्वास्थ्य सल्लाहकार तथा निर्देशक डा. राजीव डेंग । 

त्यस्तै, कतिपय नेटमा राखिएका जानकारी भ्रामक र गलत पनि हुन सक्छन् जसको प्रयोगले रोगको निदान नभई अर्को रोग थपिने र स्वास्थ्यमा झन् समस्या थपिने सम्भावना पनि रहन्छ । 

इन्टरनेटमा रोगको बारेमा सर्च गर्नु पूर्ण गलत भने होइन । त्यसबाट धेरै जानकारी प्राप्त गर्न त सकिन्छ । तर, त्यसको प्रयोग गर्नुभन्दा पहिला चिकित्सक अथवा विशेषज्ञको सल्लाह लिने काम चाहिँ पक्कै गर्नुपर्छ । 

त्यसैगरी, स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी इन्टरनेटमा राख्दा चेतावनी चिकित्सकको सल्लाह लिन पाठकलाई चेतावनी दिनु पनि आवश्यक रहेको डा. राजीवले बताए । 

बीबीसी हिन्दीबाट भावानुवाद 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै