• २०८१ बैशाख २२ शनिबार

वीरविक्रम-२ को गीत ‘पिरतीको मिठो तिर्सना...’ सार्वजनिक   

kharibot

काठमाडौँ । अभिनेता राजेश हमाल स्टारर दशक अगाडिको सुपरहिट फिल्म ‘देउता’ मा समावेश सदावहार गीत ‘पिरतीको मिठो तिर्सना...’ को रिमेक भर्सन सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नभएको फिल्म ‘वीरविक्रम २’ मा समावेश गरिएको उक्त गीत बिहीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । 

मनाङ र मुस्ताङमा खिचिएको गीतमा फिल्मका लिड कलाकारहरु पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड रहेका छन् । गीतमा केही फरक गर्न खोजेको कोरियोग्राफर कविराज गहतराजले बताए । भिडियोमा वर्षासँग दुई नायकको केमेस्ट्री सुहाएको देखिन्छ । 

‘देउता’ का लागि इन्द्रजित मिजार र भारती घिमिरेले गाएको गीत ‘वीरविक्रम २’ मा ताराप्रकाश लिम्बु र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ । उक्त गीतलाई रिमेक गर्नुको पछाडि फिल्मको लोकप्रियताका लागि रहेको निर्देशक मिलन चाम्सले बताए । 

अर्को वर्ष प्रदर्शनमा ल्याउने बताइएको फिल्मलाई सुदीप बरालले खिचेका हुन् । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । 

फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यो फिल्मको पहिलो भागमा नाजिसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै