• २०८१ बैशाख १४ शुक्रबार

फेसबुकबाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने पक्राउ

kharibot

काठमाडौँ । चिट्ठा पर्यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन् । उनीहरुको साथबाट प्रहरीले रु ५० हजार बरामद गरेको छ । उनीहरुले आइएमइबाट रु छ लाख निकालेको अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।

काठमाडौँको गोङ्गबुबाट रु २३ हजार डलरजस्तो देखिने कागजको बिटासहित सिन्धुलीका कुमसिंह घिसिङ र सोही ठाउँका प्रेमबहादुर तामाङलाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले रु दुई लाखभन्दा बढी ठगेको खुल्न आएको र काठमाडौँका विभिन्न स्थानमा डलर साटिदिन्छु भनी एकान्तमा लगि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

विभिन्न घटनामा संलग्न २४ पक्राउ

प्रहरी परिसर काठमाडौँले पछिल्लो चार दिनमा विभिन्न घटनामा संलग्न २४ लाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले लागुऔषध कारोवारीमा संलग्न रहेको आरोपमा १०, ठगी प्रकरणका १० र अन्य विभिन्न घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पुस २३ गते काठमाडाँैको नागढुङ्गामा गाडी जाँचका क्रममा बर्दियाका सुरेश लामिछानेलाई र काठमाडौँ सुकेधाराबाट अन्य तीन गरी चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

नागढुङ्गाबाटै एककिलो चरेशसहित धादिङ किराञ्चोकका सुरेश तामाङ, नाइट्राभेट र स्पास्मो ६३ ट्याबलेटसहित दुई र काठमाडौँको तीनकुनेबाट नाइट्राभेट १९५ ट्याबलेटसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँको कपनबाट सुनजस्तो देखिने एक किलो पहेँलो धातु र नगद रु तीन लाख ७० हजारसहित लाक्पा शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शेर्पा यसअघि पनि नक्कली सुनसहित तीन पटक पक्राउ परी धरौटीमा रिहा भएका र विसं २०५५ मा कर्तव्य ज्यान मुद्दामा ११ वर्ष सजाय भुक्तान गरेका व्यक्ति रहेको खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए ।

तीन वटा नागरिकता बनाई गठी गर्ने पक्राउ

यस्तै तीन वटा नागरिकता बनाई सामान गठी गर्ने धनगढीका वासुदेव मैनाली पक्राउ परेका छन् । उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी रु ४० लाखभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।

उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । यता वैदेशिक रोजगार विभागमा विचौलिया गर्दै आएका सात जनालाई समेत आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै