• २०८१ बैशाख १४ शुक्रबार

टुटल-पठाओ बहस : कानुन बनाऊ, प्रतिबन्ध नलगाऊ !

kharibot

काठमाडौँ । अहिले टुटल र पठाओबाट सेवा दिने मोटरसाइकल धनीलाई ट्राफिक प्रहरीले कारवाही गरेपछि एकाएक प्रविधिको प्रयोग गरेर संचालन गरिएको सार्वजनिक यातायातको यो पछिल्लो अवधारणा बारे नयाँ बहस सुरु भएको छ । 

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनको प्रयोग कठिन मात्र होइन भद्रगोलको अवस्था नै रहेको छ । धेरैजसो हुने विरोध कार्यक्रम र विशिष्ट व्यक्तिहरुको सवारीका बेला काठमाडौँको सार्वजनिक यातायात दिनहुँजसो अस्तव्यस्त हुने गर्दछ । यस्तोमा समयमा आफ्नो गन्तब्यमा पुग्ने वैकल्पिक यातायातको रुपमा अहिले मोबाइल एपमार्फत मोटरसाइकलमा सशुल्क यात्रु ओसार्ने टुटल र पठाओ लोकप्रिय हुदै छ । पछिल्लोपटक ट्राफिक प्रहरीले टुटल र पठाओको माध्यमबाट सेवा दिने मोटरसाइकल धनिलाई कारवाही गरेपछि अहिले एक किसिमको नयाँ बहस सुरु भएको हो ।

निजी सवारीसाधनले भाडामा यात्रु ओसारपसार गर्न थालेको गुनासो हेलो सरकारमा आएपछि ट्राफिक प्रहरीले यो प्रविधिलाई अवैधानिक ठहर गर्दै अनुसन्धान सुरु गरेको हो । कुनै पनि सवारीसाधनले यात्रु बोक्नका लागि यातायात व्यवस्था विभागमा दर्ता गराउनुपर्छ । नियमअनुसार निजी सवारीसाधनले भाडा लिएर यात्रु ओसारपसार गर्न पाइदैन । यातायात व्यवस्थासम्बन्धी ऐनले एउटा प्रयोजनमा दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन नपाउने व्यवस्था गरेको छ । 

अहिले सञ्चालनमा रहेका टुटल, पठाओ जस्ता एपहरु यो ब्यवस्थाको विरुद्ध रहेको सरकारको ठहर छ । टुटल र पठाओमार्फत यात्रु ओसारपसार गर्ने कुनै पनि मोटरसाइकलले यातायात व्यवस्था विभागमा दर्ता नगराएकाले उनीहरुलाई यातायात व्यवस्था ऐनमा भएको प्रावधानअनुसार कारबाही थालिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यातायात कम्पनीका रुपमा दर्ता भएर आए पंजीकरण गरेर अनुमति दिन सकिने ट्राफिक प्रहरीको तर्क छ । तर, सवारीसाधन भने कालो नम्बर प्लेट हुनुपर्छ । त्यसैगरी ट्राफिक प्रहरीअनुसार निजी मोटरसाइकल सार्वजनिक सवारीका रुपमा प्रयोग गर्दा सुरक्षाको प्रश्न उठ्नेतर्फ पनि सरकारले तर्क गरिरहेको छ । तर टुटल, पठाओ जस्ता कम्पनीहरुले भने आफूसँग दर्ता भएका मोटरसाइकल र चालकको विस्तृत विवरणको रेकर्ड हुने र तेस्रो पक्ष बीमा पनि हुने दाबि गरेका छन् । त्यसैगरी उनीहरुले यो प्रविधिले आममानिसहरुलाई भद्रगोल र अव्यव्यस्थित रहेका राजधानीका सार्वजनिक सवारीसाधनबाट राहत दिएको तर्क दिएका छन ।

सार्वजनिक यातायातमा यात्रुहरुको अत्यधिक चाप रहेको र ट्याक्सीहरुले पनि मिटरअनुसार भाडा नलिई मनपरी पैसा असुल्ने भएकाले ससुल्क राइड शेयरिंगको अभ्यासले यात्रुहरुलाई राम्रो विकल्प दिएको उनीहरुको भनाइ छ । उनीहरुले सरकारले प्रविधिको विकासअनुसार कानुन नबनाएर नयाँ प्रविधिलाई पनि रोकेर हतोत्साहित गरेको आरोप लगाएका छन् । साथै सरकारले यातायात पूर्वाधारमा आवश्यक लगानी र व्यवस्थापन नगर्ने र अरुले नया प्रविधिद्वारा सुविधा दिन खोज्दा उल्टै कानुनी व्यवधान खडा गरेको गुनासो गरेका छन । उनीहरुको धारणामा सामाजिक संजालमा ठुलो जमातले टुटल र पठाओको पक्षमा आफ्नो विचार व्यक्त गरेका छन् । सरकारले समयअनुसार आफ्ना कानुनलाई परिवर्तन गरेर नयाँ सोच र विचारलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टो हतोत्साही बनाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

कसरी आयो यो अवधारणा ?

यसरी निजी सवारीसाधनले यात्रु ओसारपसार गर्ने सेवा नाकाबन्दीको भेला भएको इन्धन अभाव चर्किएपछि लोकप्रिय बनेको हो । त्यति बेला निजी सवारीसाधनहरुले स्वफूर्त रुपमा 'लिफ्ट कल्चर' र 'कार पुलिंग'को सेवा चलाएका थिए । यसैबाट प्रभावित भएर टुटल एप सुरु भएको थियो । अहिले टुटल एपका १० हजारभन्दा बढी प्रयोगकर्ता रहेको देखिन्छ ।  त्यसैगरी टुटलजस्तै सेवा दिने 'पठाओ' एप भने बंगलादेशबाट आएको हो । बंगलादेशमा पनि सुरुमा त्यहाको सडक तथा यातायात प्राधिकरणले निजि सवारी साधनले यात्रु ओसार्ने कार्यलाई अवैधानिक ठहर गरेको थियो । त्यसपछि पठाओ, उबर लगायतका कम्पनीले सरकारलाई नयाँ कानुन बनाउन दबाब दिएपछि त्यहाको सरकारले नयाँ मापदण्ड तोकेर उनीहरुलाई २०१८ फेब्रुअरीमा लाइसेन्स प्रदान गरेको थियो । त्यसै गरि २०१८ सेप्टेम्बरमा पठाओले नेपालमा पनि सेवा सुचारु गर्ने घोषणा गरेको थियो ।

कसरी लिन सकिन्छ सेवा ?

टुटल र पठाओबाट सेवा लिन मोबाइलमा उनीहरुको एप्लिकेसन डाउनलोड गर्नुपर्छ । एप्लिकेसनमा एउटा फारम भरेपछि यात्रुले उक्त एपमार्फत आफूदेखि सबैभन्दा नजिक रहेको मोटरसाइकल चालकलाई सम्पर्क गर्न सक्छन् । एपमा आफू रहेको ठाउँ, गन्तब्य र सेवा चाहिने समय उल्लेख गरेर बुक गरेपछि पुग्ने स्थानसम्मको दूरी र लाग्ने रकम उल्लेख हुन्छ । यो सेवा लिएबापत सेवाग्राहीले तिरेको रकमबाट ९७ प्रतिशत मोटरसाइकलवालालाई र ३ प्रतिशत प्रबिधि संचालकले लिने गरेका छन् ।

त्यसैगरी राइड शेयारिंगका लागि अमेरिकाको उबर पनि संसार भर लोकप्रिय रहेको छ । उबेरले आफ्ना मोबाइल एप र वेबसाइट मार्फत राइड शेयर गर्ने, ट्याक्सी बुक गर्ने जस्ता सुबिधा दिने गर्दछ । उबरले पछिल्लो समय स्वचालित कार र ट्रकहरुमा पनि लगानी गरेको छ ।

सरकारलाई चुनौती 

वर्तमान सरकारले गठन भएको अर्को महिनामा नै सार्वजनिक यातायातलाई व्यवस्थित गर्न यस क्षेत्रमा भएको सिन्डिकेटको अन्त्य गर्ने भन्दै देशका सम्पूर्ण व्यवसायी समितिलाई भंग गर्ने निर्णय गर्यो । अब करिब एक बर्ष हुन लाग्दा पनि सरकार यातायात व्यवसायीसँग झुकेर आफ्नो निर्णयमा अडिक हुन नसक्दा अझै टुंगोमा पुर्याउन सकेको छैन । खासगरी सरकारको प्रचारमुखी रवैयाका कारण आफुले घोषणा गरेका कार्यक्रममा अडिक हुन् सकेको देखिदैन । यस्तो अवस्थामा काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको क्षेत्रमा टुटल र पठाओले एक नयाँ विकल्प दिन सक्ने देखिएको छ ।

सरकारले अहिले नै कुनै नियमनको विधि बनाएर यसलाई मान्यता दिन ढिला नगर्नु नै उपयुक्त हुने देखिन्छ । यसले सार्वजनिक यातायातको विकल्प मात्र दिदैन यँहा रहेका युवाहरुलाई वैकल्पिक कमाई गर्ने माध्यम पनि बन्ने देखिन्छ । तसर्थ सरकारले यसलाई चुनौती भन्दा पनि अवसरको रुपमा लिएर यथाशिघ्र नियम बनाएर कानुनी मान्यता दिनु नै बुद्धिमानी हेन देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै