• २०८१ बैशाख १४ शुक्रबार

मेक्सिकोको पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो

kharibot

मेक्सिको सिटी । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ७१ पुगेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । 

घटनास्थलबाट उक्त राज्यका प्रशासन प्रमुख ओमार फायदले भने, “पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ७१ पुगेको छ भने ७६ जना गम्भीर रूपमा घाइते भएका छन् ।” 

यस अघि प्राप्त जानकारीमा मेक्सिकोको हिडाल्गो राज्यमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २१ रहेको र ७१ जना घाइते भएको बताइएको थियो । 
स्थानीय जनताको सहयोगमा स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको उनले बताए । 

स्थानीय समय अनुसार बिहीबार बेलुका ७ : ०० बजेतिर ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा भएको विस्फोटमा परी उनीहरूको मृत्यु भएको बताइएको छ । 

श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेका समय आगलागी हुँदा पाइपलाई विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । 

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडरले घटनाप्रति दुःख व्यक्त गरेका छन् । “सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन ।” उनले आगो नियन्त्रणका लागि तत्काल उद्धार टोली पठाउन पनि निर्देशन दिएका थिए । 

सरकारले घटनामा घाइते भएका सबैलाई सम्भावित उपचार उपलब्ध गराइरहेको बताइएको छ । गत बर्ष पाइपलाइन बाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो । घटनामा गम्भीर घाइते भएका नागरिकहरूको उपचार भइरहेको तर मृतक सङ्ख्या थप बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै