• २०८१ बैशाख १२ बुधबार

कोठामा टुकी बालेर संगठन विस्तार गर्न राति बरण्डाबाट भाग्थेँ : सांसद ओझा

kharibot

काठमाडौं । नैनकला ओझा नेकपाबाट राष्ट्रियसभाकी सदस्यमा निर्वाचित सांसद हुन् । ताप्लेजुङमा जन्मिएकी ओझा केही समय ताप्लेजुङमा नै रहेर राजनीतिमा संलग्न भएकी थिइन् । तर पछि मोरङबाट तत्कालीन एमालेमा आबद्ध भई सक्रिय रुपमा काम गरिन् ।

उनी ताप्लेजुङ अखिल नेपाल महिला संघको संस्थापक सदस्य रहेकी ०४० सालदेखि मोरङबाट राजनीतिमा सक्रिय भइन् । एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी , राषटिय प्रतिनिधि परिषाद् हुँदै अहिले उनी नेकपाको प्रदेश कमिटीमा पनि सदस्य छिन् । उनले ०५४ देखि ५९ सम्म मोरङको जिविसमा पाटीबाट मनोनीत महिला सदस्यको रुपमा काम गरिन् । उनी ०४६ सालको आन्दोलनमा नजरबन्दमा परेकी थिइन् । 

अहिलेसम्म अविवाहित रहेर राजनीतिमा सक्रिय उनले पूरै जीवन पार्टी, राष्ट्र र जनतालाई समर्पित गरेकी छिन् । हाल ६३ वर्षको उमेरमा रहेकी ओझा भन्छिन्, “यसरी लाग्ने मान्छे थोरै हुन्छन् । धेरै मान्छे लागे पनि ज्यानै दिएर घरपरिवार नै नभनी जनताको मुक्तिको लागि विवाह नगरी श्रमजीवीका लागि लड्ने मानिस थोरै हुन्छन ।’ 

दाजुको प्रेरणा
ओझा आफूलाई राजनीतिमा आउन दाजु ओम प्रसाद ओझा, देवराज घिमिरेबाट  प्रेरणा मिलेको बताउँछिन् । उनका दाइले काठमाडौंबाट गरिब जनता र राष्ट्रको लागि जनवादी, प्रगतिशील खालका २ भारी  किताब लिएर गाउँ गएका थिए । ती किताबहरु पढ्ने अवसर पनि उनलाई मिल्यो । सुरुमा प्रदिप नेपाल, हरि नेपाल, कुलप्रसाद उप्रेतीलगायतका नेताहरुको संगतले पनि प्रेरित गर्यो । उनको पारिवारिक वातावरण नै त्यस्तै बन्न पुग्यो ।

संस्कारले गर्दा राजनीति नगर, विवाह गर्नुपर्छ भन्ने उनको परिवारले पनि नभनेको होइन । तर उनले त्यसलाई त्यति धेरै वास्तै गरिनन् । उनले समाज अनि परिवारबाट राम्रो कुरा ग्रहण गरिन्, आफूलाई ठीक नलागेका कुरा सुनेजस्तो मात्रै गरिन् । तत्कालीन समाजकै कारण दाजु राजनीतिमै सक्रिय भए पनि उनले परिवारमा पनि भागेर र लुकेर काम गर्नुपर्यो । बुबाले उनको खोजि गर्ने हुदां राति पढ्नलाई टुकी बाल्ने र बराण्डाबाट भागेर संगठन विस्तारको काममा रातभरि गाउँ–गाउँ पुगेर संगठनको काम गरेको, जंगलको बाटो एक्लै हिँड्दै कसैले थाहा नपाउने गरी बिहानीपख घर आइपुगेको सम्झिन्छिन् उनी ।

त्यतिबेला पार्टीको अनुशासन माथिल्लो तहबाटै ढुङ्गा साह्रो, ढुङगाभन्दा फलाम साह्रो र फलामभन्दा पनि कम्युनिष्ट साह्रो भनेर सिकाइएको ओझा बताउँछिन् । सामाजिक रुढीवादीलाई नमान्ने उनलाई भूतप्रेतको डर लाग्दैनथ्यो । बरु उनलाई तत्कालीन परिस्थितिमा प्रहरीको भने डर लाग्थ्यो । 

राजनीतिमा सक्रिय हुने उनको इच्छाशक्तिलाई कसैले रोक्न सकेन । न समाज, न परिवार न कुनै अन्य कारण । उनी भन्छिन्, ‘इच्छाशक्तिलाई कसैले रोक्न नसक्ने रहेछ ।’ हिजोभन्दा आज समय, काल र परिस्थिति फेरिएको अनुभव गरेकी छिन् ओझाले । आज सबैले देशको समृद्धिको आवाज बुलन्द गर्न सक्ने भएका छन् । यसमा उनलाई खुसी लागेको छ । यो परिवर्तनमा पनि आफूजस्तै धेरै महिलाहरुले गरेको त्याग र संघर्षको योगदान जोडिने उनी बताउँछिन् । 

नीतिनिर्माण तहमा महिला उपस्थितिबारे भने ओझाको आफ्नै धारणा छ । उनी भन्छिन्, ‘एकैचोटि अगाडि आउन त सक्दैनन् । क्षमताको विकास भएर काम गरेर आउनेहरु आउनुभएको छ । सक्छन् र क्षमता भएका मानिसहरुलाई दिनु पनि पर्छ । अवसर पायो भने महिलाले गरेको उदाहरण धेरै छन् ।’ 

पितृसत्तात्मक सोचकै कारण महिलाहरु अझै पनि अगाडि बढ्न समस्या भएको उनको बुझाइ छ । उनी भन्छिन्, ‘काम गरेर देखाइसक्दा पनि महिलाले सक्छन् त भन्ने खालको अविश्वास अझै पनि छ ।’

पहिलेदेखि नै एक हुनुपर्छ भन्ने खालको मान्छे भएको कारण ओझा पछिल्लो समय भएको दुई कम्युनिष्ट पार्टीको एकीकरणप्रति उच्च समर्थन रहेको बताउँछिन् । राष्ट्र, महिला र श्रमजीविको लागि एक भएर जुटेर विकास निर्माणदेखि हरेक कुरामा योगदान दिन पार्टी एकीकरण हुनु खुसीको कुरा भएको उनको बुझाइ छ । उनी भन्छिन्, ‘श्रमजीवी महिलाको हकको लागि लड्नको लागि पनि पार्टीअनुसार फरक धारणा जान सक्ने भएका कारण एक हुनुमा धेरै फाइदा जोडिन्छन् ।’ 

नीतिनिर्माणमा महिला प्रतिनिधित्वका हिसाबले उनी पहिलो चरणमा पाँच प्रतिशत, दोस्रो चरणमा ३३ प्रतिशत पास भएकोले अबको लक्ष्य ५० प्रतिशत रहेको उनी बताउँछिन् ।

सरकार हुर्किँदै छ !
आफ्नो पार्टीले सरकार चलाइरहँदा त्यही पार्टीकी सांसद ओझा काम भइरहेको बताउँछिन् । भख्खर १०  महिना भएकोले सरकारले धेरै काम गर्ने उनको भनाइ छ । यद्यपि संघीयता कार्यान्वयनले गर्दा सोचेजति हुन नसकेको तर तीनवटै तहलाई जग बसाउने काम सरकारले गरेको उनी बताउँछिन् । सरकार अहिले संघीयताको जग राम्रो बसाउन लागेकोले यसले भविष्यमा घर बलियो बनाउने उनको तर्क छ । कमजोर जगले घर नअडिने बताउँदै उनी भन्छिन्, ‘बलियो जग बसाउने काम सरकारले गरेको छ । यसलाई कार्यान्वयन गराउने कुरामा सरकार लागिरहेको छ ।’ 

महिलाअधिकारको पूर्णप्राप्ति हुन नसक्नुमा ओझा समाजको रुढीवादी सोच र अन्धविश्वासको परम्परालाई दोष दिन्छिन् । यसलाई हटाउन महिलाले मात्रै बोलेर नहुने उनको बुझाइ छ । अहिलेसम्म नेपाली महिलाहरुले गरेको आन्दोलनले महिलाहरु सशक्त भएर हिँड्न थालेपछि अधिकारप्राप्तिको क्षेत्रमा पनि अगाडि बढेको उनको धारणा छ ।

नीतिनिर्माणमा महिला प्रतिनिधित्वका हिसाबले उनी पहिलो चरणमा पाँच प्रतिशत, दोस्रो चरणमा ३३ प्रतिशत पास भएकोले अबको लक्ष्य ५० प्रतिशत रहेको उनी बताउँछिन् । महिलाअधिकारको मतलब महिला पछि पारियो भनेर पुरुष पछि पार्नुपर्छ भन्ने नरहेको पनि उनी स्पष्ट पार्छिन् । उनी भन्छिन्, ‘हाम्रो लडाइँ समानताको लडाइँ हो । जसले समानतामूलक समाज निर्माणमा सकारात्मक सहयोग गर्दछ ।’  कम्युनिष्टमा लाग्नुको कारण पनि यसलाई नै ठान्छिन् उनी । कम्युनिष्ट भइयो भने महिला पुरुष नभनीकन समान अधिकार हुने उनको बुझाइ छ । 

मोरङका महिलाको अवस्था 
जिल्लामा उनी महिलाअधिकार र सशक्तीकरणका कार्यक्रममा बजेट छुट्याउन जोड दिएको बताउँछिन् । ६५ गाविसका १७ वटै इलाकामा नै प्रशिक्षण कार्यक्रम गरेर पछाडि परेका महिलाहरुलाई अगाडि बढाउन जोड दिने काम गरेको उनको भनाइ छ । जिल्लाको दक्षिणी भागमा मुस्लिम, आदिवासी जनजातिहरुलगायतका समुदायको उत्थानको लागि काम गरेको ओझाको भनाइ छ । जिल्लामा खासगरी दासको पनि जेठाजुहरुसँग ठाडो गरेर बोल्न नहुने, आवश्यक पर्दा अरुलाई माध्यम बनाएर बोल्न लगाउने संस्कार,  मुस्लिम महिला पढ्नुपर्दा पनि छुट्टै कुरानमा मात्र पढाउने संस्कारलगायतले महिलालाई पछाडि पारेको उनको भनाइ छ । 

समाजमा बढिरहेको महिला हिंसा, बलात्कारजस्ता कुराको अन्त्य गर्ने सुरुवाती चरण नै चेतनाको प्रसार, महिला सशक्तीकरण, कानुन कार्यान्वयन रहेको ओझा बताउँछिन् । खासगरी महिलालाई क्षमताको विकास गराउनुपर्ने उनको बुझाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै