• २०८१ बैशाख १५ शनिबार

सरकार सफल हुन्छ, गलत बाटो समाए सचेत गराउँछौँ : सांसद खड्का

kharibot

काठमाडौं । प्रतिनिधिसभाकी एक सदस्य कल्याणी खड्का संसदको विकास तथा प्रविधि समितिकी सभापति हुन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य समेत रहेकी खड्का अघिल्लो वर्षसम्म रौतहटको एमाले जिल्ला इन्चार्ज थिइन् । पार्टी एकीकरणपछि जिल्ला पार्टी एकता कार्यदलमा छिन् । 

खड्काको राजनीतिमा प्रवेश विद्यार्थी कालबाटै भयो । ०३६ सालदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल महिला संघ हुँदै विभिन्न पदमा रहेर काम गरिन् । उनी प्रारम्भिक कमिटिको सदस्य हुँदै जिल्ला सचिवसम्म बनेकी थिइन् । अखिल नेपाल महिला संघको अञ्चलको केन्द्रीय समितिको सदस्य हुँदै उनी केन्द्रीय सचिवालयको सदस्यसम्म भइन् । त्यो जिम्मेवारी लिँदालिँदै २०४८ को जिल्ला कमिटीको सदस्य बनेकी खड्का त्यसपछि अनेम संघको अध्यक्ष भइन् । ०५१ मा सुकुम्बासी आयोगको रौतहटको जिल्ला अध्यक्ष समेत बनेकी उनी ०५५ मा कार्यालय सचिव हुँदै पाटी अञ्चल सचिव सदस्य, कृषि मजदुर संघको केन्द्रीय अध्यक्ष थिइन् । 

खड्काको श्रीमान् पनि तत्कालीन समयमा पार्टीकै पूर्णकालीन कार्यकर्ता थिए । राजनीतिकै कारण श्रीमान् भूमिगत हुनुपर्ने अवस्था आयो । खड्का भने पढाउनतिर लागिन् । तर पछि शिक्षक सेवा आयोग पास गरे पनि मण्डले परिषद्को सदस्यता लिनैपर्ने भनेपछि उनले जागिर छोडेर बोर्डिङ पढाउन थालिन् । उनी ०४६ सालको पहिलो जनआन्दोलन र  ०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि सक्रियतापर्वक लागिन् । पार्टी केन्द्रीय कमिटीमा भने उनी बुटवलको आठौं महाधिवेशनबाट सदस्य बनेर प्रवेश गरिन् । खड्का माधव नेपाल प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार समेत रहेकी थिइन् । 

राजनीतिमा प्रेरित

०२१ सालमा सिन्धुली फिक्कल गाउँपालिकाको सोल्पामा जन्मिएकी खड्काको बुवा प्रधानपञ्च थिए । ८ कक्षासम्म सिन्धुलीमा नै पढेकी थिइन् ।

बुबा जनपक्षीय काम गर्ने भएकोले मान्छेहरुलाई माया गर्नुपर्छ भन्ने भयो । बीचमा दाइ मनोज खड्का र काका प्रेम खड्काको प्रेरणाले उनलाई राजनीतिमा सहभागी हुने इच्छा जगायो । उनीहरुले खड्कालाई महिला अधिकार, शोषित पीडितका मानव अधिकारबारे पढ्न दिन्थे । उनको परिवारमा छोरीहरुलाई चिठी लेख्न सक्ने भएपछि पढाउन छोडिदिने मान्यता थियो भने छोराहरुलाई कहाँ–कहाँ पठाउनुपर्छ पढाएर पठाउने चलन थियो । उनको परिवार जिविस सभापति माननीयसम्मको पहँुचवाला थियो । राजनीतिक पृष्ठभूमिको परिवार थियो ।  खड्काकै बुबा स्वयं पुष्पलालबाट प्रभावित हुँदा राजनीतिक प्रभाव नपर्ने कुरै भएन । 

नीतिनिर्माण तहमा महिला सहभागिता 

सांसद खड्का वर्तमान समयमा महिलाहरु पनि नीतिनिर्माणको तहमा पुगेकामा गौरव भएको बताउँछिन् । महिलाहरुलाई अधिकार प्राप्त गर्ने, अधिकार कार्यान्वयन र उपयोग गर्ने सवालमा थुप्रै संघर्ष गर्न बाँकी भए पनि अहिले देखिएको महिला प्रतिनिधित्वप्रति खुसी व्यक्त गर्छिन् उनी । वर्तमान राष्ट्रपति विद्या भण्डारी महिला संघको अध्यक्ष हुँदा उनले सदस्यता लिएकी थिइन् । त्यतिबेलै उनी केन्द्रीय कमिटीमा पनि थिइन् ।

सबै पक्षमा महिलाको प्रतिनिधित्व गराउन, यसको व्यावहारिक कार्यान्वयन गराउन, धेरै संघर्ष, लडाइँ गर्न बाँकी नै छ

भण्डारी राष्ट्रपतिमा रहनपुग्दा थुप्रै महिला नेतृहरु विभिन्न नीतिगत निर्णायक भूमिका निर्वाह गर्ने ठाउँमा पुगेको उनी बताउँछिन् । यसलाई उनी गर्व गर्ने विषयका रुपमा लिन्छिन् । विकास तथा प्रविधि समितिकी सभापति समेत रहेकी खड्का आफैँ पनि नीतिनिर्माण तहमा महिला नेतृत्वको एउटा उदाहरण बनेकी छिन् । उनको समितिमा महिला प्रतिनिधित्व ६० प्रतिशतभन्दा बढी रहेको उनको भनाइ छ । तर सरकारका थुप्रै कतिपय संरचना र निकायहरुमा भने महिलाको न्यून उपस्थिति कायमै छ ।  

सोही कारण महिला उपस्थिति बढ्दै गर्दा समेत यसप्रति खड्का त्यति सन्तोषजनक देखिन्नन् । उनी भन्छिन्, ‘त्यो सबै पक्षमा महिलाको प्रतिनिधित्व गराउन, यसको व्यावहारिक कार्यान्वयन गराउन, धेरै संघर्ष, लडाइँ गर्न बाँकी नै छ ।’  

यो सरकार दिगो 

पञ्चायतको गमनपछि बनेका कुनै पनि सरकार स्थायी नबनेका र ६÷१० महिनामात्रै टिके पनि अहिलेको सरकारलाई भने उनी दिगो सरकार भन्न रुचाउँछिन् । उनी भन्छिन्, ‘यो दिगो सरकार हो । यो ५ वर्ष चलाउने सरकार हो ।’ यो सरकारले पहिलेका सरकारभन्दा जनअपेक्षामूलक कार्यतिर ध्यान दिनुपर्ने उनको भनाइ छ । अवसारवादलाई छोडे मात्रै पनि सरकारले धेरै राम्रो चारित्रिक सुधार गर्नेमा उनी आशावादी छिन् । पहिलेका सरकारका विसंगति हटाएर सुशासनतर्फ लाग्न सरकारले प्रयास गरिरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘कुनै पनि लामो समयदेखि भत्केको चिजलाई बनाउन समय लाग्छ । भत्केको घरलाई टाल्न छिटो हुन्छ । दिगो बनाउन त भत्काएर फेरि बनाउनपर्ने हुन्छ । भत्काउँदा अझै भद्रगोल देखिनु स्वाभाविकै हो । त्यही प्रक्रियामा सरकार भएकोले अहिले यो सरकारलाई चुनौती छ ।’ सयौँ वर्षदेखिको एकात्मक सरकार तोडिएको र लोकतान्त्रिक गणतन्त्रात्मक सरकारको स्थापना भएकाले सिष्टम बन्न केही समय लाग्ने उनको भनाइ छ । 

नयाँ संविधान बनेको र यसको कार्यान्वयन समेत भइरहेको अवस्थामा संघीयतामा गएको राज्यलाई व्यवस्थापन गर्नुपर्ने भएकाले विस्तारै यसले गति लिने खड्का बताउँछिन् । तीनवटा तहमा बनेका सरकार र तिनको नयाँ संरचना व्यवस्थापनले केही समय लिए पनि आत्तिन नहुने उनको सुझाव छ । उनी भन्छिन्, ‘यो एउटा नयाँ घरलाई व्यवस्थित गर्नको लागि लागेको समय हो । त्यो गर्दागर्दै सरकारले थुप्रै राम्रो काम पनि गरेको छ । नजर अन्दाज गर्न सकिँदैन ।’

सरकारको कामलाई नजर अन्दाज गर्न मिल्दैन  

सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री स्वरोजगारका कार्यक्रम, तराई मधेशको विभेद तोड्नको लागि तराई मधेश समृद्धि कार्यक्रम, कर्णालीका लागि बेग्लै विशिष्ट कार्यक्रमहरु सरकारले ल्याउको भन्दै खड्का यसलाई ओली सरकारको राम्रो काम भन्छिन् । सरकार राम्रै बाटोमा अघि बढ्दै  गरेको र बढ्ने क्रममा हिजोकै संरचना हिजोकै सिस्टममा चल्दा कहिलेकाहीँ त्रुटिहरु पनि देखिएको हुनसक्ने उनको स्वीकारोक्ति पनि छ । सरकारलाई संसद, समितिलगायतले पनि नजिकबाट हेरिरहेको भन्दै खड्का भन्छिन्, ‘सरकारले कुनै खालको प्रभावले होस्, दबाबले होस्, गलत बाटो समाउन थाल्यो भने सचेत गराउन निर्देशन दिन  तत्पर छन् । त्यसैले पूर्ण आश्वस्त र विश्वास दिलाउन चाहन्छु । यो सरकार सफल हुन्छ ।’ 

यो एउटा नयाँ घरलाई व्यवस्थित गर्नको लागि लागेको समय हो । त्यो गर्दागर्दै सरकारले थुप्रै राम्रो काम पनि गरेको छ । नजर अन्दाज गर्न सकिँदैन !

समिति सक्रिय छ

पछिल्लो समय समितिका कतिपय निर्णयहरु कार्यान्वयन भएका र कतिपय कार्यान्वयनमा रहेका उनको भनाइ छ । समितिका नीतिनिर्देशन कार्यान्वयन गराउन सतर्कता अपनाएको उनको भनाइ छ । ‘त्यसमा ढिलासुस्ती भयो भने खबरदारी गर्ने काम समितिकै हो’, उनी भन्छिन्, ‘त्यसकारणले गर्दा कार्यान्वयन भएन, केही पनि भएन भन्ने खालका कुराहरु आइरहेको छ, त्यस्तो होइन ।’ समितिले दिएको निर्देशनप्रति सरकार जिम्मेवार हुनुपर्नेमा दुई मत नभएको उनको भनाइ छ । 

रौतहटका महिला 

शिक्षा र स्वास्थ्यका हिसाबले अत्यन्त पछाडि रहेका जिल्लामध्ये रौतहट पनि एक भएको खड्का बताउँछिन् । शिक्षा, स्वास्थ्यमा पछाडि रहेकैले यहाँका महिलाले पनि बोक्सी, दाइजोप्रथाको अन्याय सहनुपरेको, छोरी जन्मिँदा पीडित बन्नुपरेको उनको भनाइ छ । देशभर बलात्कारका घटना घटिरहँदा रौतहट पनि त्यसबाट अछूतो नरहेको उनको भनाइ छ । यद्यपि महिलामैत्री वातावरण भने समयानुसार सुधार हुँदै गइरहेको उनी बताउँछिन् । 

खड्का भन्छिन्, ‘अहिले त मेयर नै महिला हुनुहुन्छ । प्रदेश नं २ मा एक जना महिला । उपमेयर त भइहाल्यो । महिला प्रतिनिधिहरु पनि छन् । विभिन्न सामाजिक संस्था, पार्टीका कार्यकर्ताहरु महिला हिंसाका विरुद्धमा, पछौटेपनको विरुद्धमा लागिरहेको अवस्था पनि छ ।’ तर पनि अझै त्यति धेरै न्यूनीकरण हुन नसकेकोमा भने उनको गुनासो छ । 
पछिल्लो समय देशैभर महिला सांसदले नै सक्रियता देखाई महिला सचेतनाको लागि बजेट नै छुट्याएरु कार्यक्रम सञ्चालन गरिरहेको र स्थानीय तहहरुले पनि महिला सचेतनाका कार्यक्रमहरु चलाइरहेको तथा महिलाहरु न्यायाधीश बनेको जस्ता उदाहरणहरु बढिरहेकाले महिलालाई सहयोग गर्ने उनको भनाइ छ ।

पछिल्लो समय चर्चित निर्मला हत्या प्रकरणमा प्रमाण नै भेट्टाउन गाह्रो परेकाले दोषी उम्किरहे पनि सरकारले प्रयास गरिरहेको उनको भनाइ छ । देशमा थुप्रै निर्मलाहरुको अपराधीमाथि कारबाही भएको खड्का बताउँछिन् । कतिपय हत्याकाण्ड आजसम्म पनि रहस्यमै रहेको भन्दै उनी निर्मला हत्याका दोषी पत्ता लागेरै छोड्ने उनको भनाइ छ । 

महिला हिंसा रोक्न शिक्षा र सचेतनामा जोड 

खासगरी यस्ता घटनाहरु रोक्न विद्यालय तहमा नै सामाजिक बनोट र संरचना, संस्कारका कुरा, नैतिक शिक्षा, यौन शिक्षा खुलस्त रुपमा तलैबाट पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको सुझाव छ । यसरी तल्लो तहबाटै महिला सचेतनाबारे जानकारी दिँदा समाजका सामाजिक विसंगति, कुरीति, विभेद, मानवीय अपराधहरुमा ठूलो मात्रामा कमी आउने खड्का बताउँछिन् । जुलुस गरेर मात्रै महिला अधिकार नपाइने भएकाले घरबाटै छोरालाई पनि छोरीलाई जस्तै निगरानी राख्ने काम परिवारले गर्नुपर्ने उनको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय