म सानै छँदा स्कुलमा शिक्षकले
' सामाजिक शिक्षा ' नामको
पुस्तकमा पढाउनुहुन्थ्यो - भाषा र सँस्कृति...!
- देश र राजनीति ..!
बारम्बार भन्नुहुन्थ्यो सर,
सगरमाथाको देश नेपाल
भगवान बुद्धको जन्मस्थल
वीरगोर्खालीको देश नेपाल
सुन्दर, शान्त, विशाल.......!
त्यहीबेला सिकेको हो उस्ले
देशलाई माया गर्न !
घुम्दै जाँदा घडीको सुई
बढ्दै जाँदा जीम्मेवारीको काँध
यो समयलाई एकैछिन
मुठ्ठीमा बाँध्न नसकेपछि ऊ
एक झोला सपनासँगै
'आइ लभ नेपाल' लेखेको टिसर्ट लगाएर
तरेको हो समुन्द्र – आकाङक्षाको तुइनबाट !
लामो समयपछि
हिजो देश हसाउन आफु रुने उ
आज देश रुवाउन आफु हाँस्दै
पिठ्युँमा एक झोला सौगात बोकेर
आइपुगेको छ ;
'आइ लभ लण्डन' लेखिएको टिसर्ट भिरेर
यो देशमा - एक साँझको अतिथीझैँ
यानिकी उसलाई भोलि बिहानै
दौडनु छ हतार - हतार : उत्तरआधुनिक समयसँग !
बी. एन. ढकाल
अरुण गाउँपालिका-५, भोजपूर।