• २०८१ बैशाख १५ शनिबार

नक्कली विश्वविद्यालय खडा गरेर अवैध आप्रवासी पक्राउ गर्दै अमेरिका

kharibot

काठमाडौँ । अमेरिकी सुरक्षा तथा आप्रवासी अधिकारीहरूले नक्कली विश्वविद्यालय खडा गरेर अमेरिकामा अवैध रुपमा बसिरहेका करिब १२९ भारतीय नागरिकहरूलाई पक्राउ गरेका छन् । अमेरिकाको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले मिसिगन राज्यमा ‘युनिभर्सिटी अफ फर्मिंगटन’ नामको विश्वविद्यालय खडा गरेर अवैध आप्रवासीहरूलाई कारबाई गर्न अन्डरकभर अपरेसन चलाएको संचारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी सुरक्षा अधिकारिहरूका अनुसार सो विश्वविद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरूलाई उक्त विश्वविध्यालय नक्कली भन्ने कुरा थाहा हुँदाहुँदै उनीहरू आफ्नो विद्यार्थी भिसाको मान्यता कायम राख्न भर्ना भएका थिए । त्यसै गरी विद्यार्थी भर्ना गर्न सहयोग गर्ने ८ जना ‘रिक्रिउटर’लाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले २०१७ देखि ६०० भन्दा बढी विदेशी नागरिकहरूबाट करिब २ लाख ५० हजार अमेरिकी डलर लिएर उनीहरूलाई भर्ना हुन सहायता गरेका थिए । सो ‘रिक्रिउटर’हरूलाई विश्वविद्यालय नक्कली हो भन्ने कुरा थाहा भए पनि उक्त विश्वविद्यालय एक अन्डरकभर अपरेसनको हिस्सा रहेको जानकारी थिएन ।

‘युनिभर्सिटी अफ फर्मिंगटन’ सन्’ २०१५ मा नै विद्यार्थी भिसामा अमेरिका छिर्ने र पछि आफ्नो भिसाको समय लम्ब्याउन नक्कली विश्वविद्यालयमा भर्ना हुने विदेशी नागरिकहरूलाई लक्षित गरेर खडा गरिएको थियो । उक्त विश्वविद्यालयको वेबसाइट पनि बनाइएको थियो जसमा विद्यार्थीहरू विश्वविद्यालयको पुस्तकालय र घाँसेमैदानमा बसिरहेका फोटाहरू राखिएका थिए ।

तर, अहिले भने सो वेबसाइट बन्द गरिएको छ । त्यसै गरी विश्वविद्यालयको विज्ञापनमा स्नातकपूर्वको अध्ययनका लागि वार्षिक ८५०० डलर र स्नातकको लागि वार्षिक ११००० डलर शुल्क तोकिएको थियो । साथै विश्वविद्यालयका कार्यक्रमहरूको क्यालेन्डर सहित फेसबुक पेज पनि बनाइएको थियो । तर, पछि उक्त विश्वविद्यालयका कर्मचारी भनिएकाहरू सबै भूमिगत एजेन्ट भएको खुलासा भएको थियो ।

भारतले भने अमेरिकी अधिकारीहरूको यस कदमको विरोध गर्दै भारतीय विद्यार्थीहरूलाई फसाइएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले पक्राउ गरिएका विद्यार्थीहरूलाई तत्काल रिहा गर्न र उनीहरूलाई डिपोर्ट नगर्न पनि अमेरिकासमक्ष माग गरेको छ ।

अमेरिकी अधिकारीहरूले नक्कली विश्वविद्यालयमा भर्ना हुन आउने सबै विदेशी नागरिकहरूले सो भर्ना कार्यक्रम नक्कली हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि भर्ना लिएको तर्क दिएका छन् भने भारतीय पक्ष तथा कतिपय आप्रवासी अधिवक्ताहरूले भने धेरै विद्यार्थीहरू वैधानिक शैक्षिक कार्यक्रममा भर्ना हुने नियतले आएको र उनीहरूलाई गलत सूचना दिएर फसाइएको आरोप लगाएका छन् ।

यसअघि पनि २०१६ मा आप्रवासी अधिकारीहरूले ‘युनिभर्सिटी अफ न्यु जर्सी’ नामको नक्कली विश्वविद्यालय खडा गरेर करिब २१ जना भारतीय तथा चाइनिज नागरिकहरूलाई पक्राउ गरेका थिए ।

अमेरिकाका आप्रवासी अधिकारीहरूका अनुसार अमेरिकामा अवैध बसोबास गर्ने धेरै विदेशी नागरिकहरू आफ्नो भिसाको म्याद बढाउन यस्ता नक्कली विश्वविद्यालयहरूमा भर्ना हुने गर्दछन् । कतिपयले आधिकारिक मान्यता प्राप्त शैक्षिक संस्थाबाट डिग्री हासिल गरे पनि कामदार भिसाको पर्खाइमा रहेकाले नक्कली विश्वविद्यालयहरूमा भर्ना हुने गर्छन् ।

यस्तो अवैध तरिकालाई ‘पे-टु-स्टे स्किम’ नामकरण गरिएको छ । यस्ता विश्वविद्यालयमा न त अध्ययन-अध्यापन हुने गर्छ न कुनै शैक्षिक डिग्री प्राप्त हुन्छ । तर भर्ना भएपछि विद्यार्थी भिसाको म्याद थप गर्न र काम गर्ने अनुमति पाउन यस्ता विश्वविद्यालय सहयोगी हुने गर्दछन् । अमेरिकी कानुनअनुसार विदेशी विद्यार्थीहरूले आफ्नो अध्ययन सकिएको ६० दिनभित्र काम पाए कामदार भिसा लिएर आफ्नो अमेरिकी बसाइँ लम्ब्याउन सक्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय