जीवनको उत्तरार्धमा पहिलो उपन्यास लेख्ने दुस्साहस गरेकी छु: उषा शेरचन 

खरीबोट

विगत चालिस वर्षदेखि साहित्यमा कलम चलाइरहेकी साहित्यकार उषा शेरचनको पहिलो उपन्यास 'आधि' बुकहिल पब्लिकेशनले यही वर्ष सार्वजनिक गर्दै छ । यसअघि उनका ४ पुस्तकहरू 'नजन्मेका आस्थाहरु'(कविता-सङ्ग्रह), 'अक्षरहरुका शिविरबाट'(मुक्तक–सङ्ग्रह),'सर्वकालीन पीडा र जागृतिका शङ्खघोष'(कविता–सङ्ग्रह) र तेस्रो रङ्ग (कथा-सङ्ग्रह) प्रकाशित छन् । साथै उनका ५ एल्बल पनि बजारमा आएका छन् । नातिकाजी सङ्गीत पुरस्कार(२०७२),पारिजात राष्ट्रिय प्रतिभा पुरस्कारः(२०५७)लगायतका झन्डै दुई दर्जन जति पुरस्कार र सम्मान प्राप्त गरेकी उनी हाल अमेरिकामा छिन् । प्रस्तुत छ साहित्यकार उषा शेरचनसँग खरीबोटका लागि अनुप जोशीले गरेको अनलाइन कुराकानीको सम्पादित अंश:

अहिले अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा हुनुहुन्छ । के-मा व्यस्त हुनुहुन्छ? त्यहाँ नेपाली साहित्यको सक्रियता कतिको हुनेगर्छ?

हजुर, अहिले म यतै छु । नेपालमा पढ्न नभ्याएका केही पुस्तकहरू लिएर त आएकी छु । त्यही त हो नि नेपालमा पनि, घरमूलीले घर छाडेर हिँड्नु अघि अनेकौँ टन्टा-पन्टा मिलाउँदा, सकेसम्म घरका सबैलाई सहज हुने वातावरण बनाउँदा, सहयोगीहरूलाई अराइ-पराइ गर्दा, सामाजिक भूमिका निभाउँदा र साहित्यिक कार्यक्रमहरूमा उपस्थित हुँदैमा  समय सकिहाल्यो । अनि सामानहरू आफैँले सम्झी-सम्झी प्याक गर्दागर्दै पनि केही पुस्तक किन्छु भन्दाभन्दै पनि बिर्सेछु ।

लोग्नेमानिस घरबाट बाहिर जानुपरे श्रीमतीसँग अनुमति लिन आवश्यक पनि पर्दैन जानकारी मात्रै दिए पुग्छ । गृहस्थसम्बन्धित व्यवस्था मिलाउन पनि पर्दैन । लौ त भनौं भने 'प्याकिङ -स्याकिङ पनि गर्न नपर्ला सायद । अनि सहयोगीहरूलाई अराइ-पराइ पनि गर्न पनि आवश्यक परेन । तर गृहिणीले भने सबै कुराको तारतम्य मिलाउनुपर्ने हुँदा घरमा भएको किताबहरू ल्याउँछु भन्दाभन्दै पनि छुटाएछु । सीमित तौल मात्रै बोक्न पाउने विमानसेवाको प्रावधान उस्तै फेरि ! त्यसैले केही थान पुस्तकहरू बोकेर ल्याएकी छु । त्यही पढ्दैछु । अलिअलि मुक्तक, गीत, कविता त लेखिरहेकै हुन्छु ।

अस्तिमात्रै एउटा अलि लामो कथा लेखेँ । आज पनि लेख्दै थिएँ, घरको ढोका खुल्लै राखेर घाम पनि आओस्, शुद्ध हावा पनि छिरोस् भनेर । तर बाहिर मोटर पनि छैन, ढोका भने खुल्लै छ भनेर बुझ्नका लागि अवकाशप्राप्त प्रौढ छिमेकी दम्पती आउनुभएको हुनाले मुड र श्रृङखला दुवै टुट्यो । तर उहाँहरूले विरानो देश र ठाउँमा देखाउनुभएको आत्मीयता र असल छिमेकी हुनुको धर्म निभाउनु भएको देखेर थप शिक्षा र अनुभव भने प्राप्त गरियो । जीवन भन्नु पनि त अनुभव बटुल्नु न हो आखिर !

अन्य अमेरिकी राज्यहरू वासिङ्गटन, कोलोराडो, सिकागो, बोष्टन, न्युयोर्क वा अन्य राज्यमाजस्तै नर्थ क्यारोलाइनामा 'नर्थ क्यारोलाइना नेपाली साहित्य समाज' ले महिनाको एकपटक कुनै एक सदस्यको निवासमा व्यक्तिबिशेष स्रष्टाका जीवनी र कृतिबारे विस्तृत छलफल गर्नुका साथै आ-आफ्ना रचनावाचन गर्ने, गीत गजल सुनाउने गर्नुहुन्छ । यसपटक पनि मलाई निम्तो गर्नुभएको हुनाले सहभागी भएँ । निकै सार्थक एवम् रोचक लाग्यो ! त्यसैले साहित्यिक सक्रियता राम्रो छ यहाँ पनि ।

तपाईंको उपन्यास ‘आधि’ झट्ट सुन्दा महिलाको विषयमा केन्द्रित छ जस्तो लाग्छ । कस्तो शैली र विषयवस्तु बोकेको छ उपन्यासले? कहिले आउँछ बजारमा?

बुक-हिल पब्लिकेसनका प्रकाशक भाइहरूद्वय पवन आचार्य र भूपेन्द्र खड्का भाइहरूले फागुनमा आउँछ है दिदी भन्नुभएको छ । यो उपन्यास सकेर बुक-हिल पब्लिकेसनलाई सुम्पे लगत्तै अमेरिका नआइ नहुने काम पर्यो छोरीको लागि । मैले फाइनल प्रिन्ट पनि राम्रोसँग हेर्न समय पाइनँ छोरीको कारणले । फेरी नेपालमा फर्किंदा प्रिन्टका लागि गइसकेको र फागुनमा निस्कने जानकारी इमेलबाटै पाएकी हुँ । फागुनमा म फेरी नेपालमा नभइ यतै हुन्छु । हेरौँ । हुनत चाहे जीवित होस् वा निर्जीव जन्म र मृत्यु भने नियतिकै हातमा हुन्छ भन्ने विश्वास राख्नेमा पर्छु फेरि म !

हामीले लेख्ने भनेकै जीवन र जगतका यावत् कुराहरू नै हुन् । त्यसैले सामाजिक बिषय र मुद्दाहरूमैँ केन्द्रित छ भन्नुपर्यो अब ।

हरेक सर्जकलाई लाग्छ कि सबैभन्दा उत्कृष्ट सिर्जना गरौँ । विश्वलाई चकित पारौँ । तर सर्जकले सोच्दैमा र चाहदैमा त्यस्ता कृतिहरू जन्मने पनि होइन आखिर । र, जन्मन पनि कठिन हुन्छ उत्तिकै । फेरी पनि यही भन्छु, हरेक कृतिले पनि आ-आफ्नै नियति वा भाग्य लिएर आएका हुन्छन् । पाठकगणका पनि आ-आफ्नै स्वाद र दृष्टिकोण हुन्छन् । हामीले पाठकगणको हातमा सुम्पेपछि हाम्रो कृति हाम्रो मात्रै रहँदैन । पाठकगणले माया गर्नु भएर फूलै-फूल बर्षाउनु भए पनि, काँडैकाँडा दिनुभए पनि खुसीखुसी स्विकार्नु बाहेक अन्य विकल्प रहन्न । त्यसैले अहिले मेरो "आधि" उपन्यास यस्तै छ भनेर भन्न त सक्दिनँ तथापि मेरो "आधि" उपन्यास पढ्नुपूर्व कुनै ठूलो अपेक्षा नराखिकन पढिदिनुहुन सबै पाठकलाई आग्रह भने गर्छु नै । यानेकि अपेक्षा सहित नभएर अपेक्षा रहित पढ्नका लागि प्रेमपूर्वक आग्रह गर्दछु ।

मैले मेरो उपन्यास "आधि" मा सकारात्मक सन्देश सहित अँध्यारोमा रहेकाहरूलाई उज्यालो  बाँड्ने सानो प्रयास भने अवस्य गरेकी छु । यसले समाजको सोचमा थोरै भएपनि परिवर्तन आयो भने मात्रै पनि मलाई धेरै हुनेछ चाहिं भन्नसक्छु । 

जीवनको उत्तरार्ध अर्थात् त्रिसट्ठी चौसट्ठी बर्ष पुगेपछि पहिलो उपन्यास लेख्ने दुस्साहस भने अवस्य गरेकै हुँ !

तपाईंको उपन्यास लेखन प्रक्रिया र लेखन अनुभव कस्तो रह्यो? पहिले नै ‘प्लट’ तयार गरेर लेख्न बस्नुभयो कि लेख्दै जाँदा कथा बुनिंदै गयो? 

कविता,मुक्तक, गीत लेखिरहेकी मैले, साहित्यमा लागेको तीन दसकपछि मात्रै कथामा हात हालेकी हुँ । मैले कथा लेख्नुभन्दा पनि कथाले नै मलाई लेख्न बाध्य तुल्यायो भन्नुपर्छ ।

नजानेको बाटोमा पहिलोपटक ढलपल गर्दै हिँडिरहेको अवस्थामा पोखराका सञ्चारकर्मी एवम् कार्यक्रम प्रस्तोता सुशील ज्वारचन भाइले मेरो पहिलो कथासङ्ग्रह "तेस्रो रङ्ग" पढेर सामाजिक सञ्जाल फेसबुकमार्फत 'उषा दिदीका लागि अब आख्यान साहित्यले आमन्त्रण गरिरहेछ' भनेर लेख्नुभयो । भाइका पोस्टले केही राहतको महसुस मात्रै गराएन कि "आधि" उपन्यास लेख्न समेत घचघच्याउँदै पहिलोपटक मेरो मनमस्तिष्कमा उपन्यासको बीजारोपण गराउने काम समेत गरिदिनुभयो ।

यस्तैमा एकदिन एकजना यस्तो पात्रसँग भेट भयो कि मलाई लाग्यो यिनै हुनसक्छिन् मेरो उन्यासकी मूल पात्र भन्ने र शुरु पनि गरिहालेँ । र, लेख्दैजाँदा थुप्रै पात्रहरू स्वत: उपस्थित हुँदै जाँदा रहेछन् र उपन्यास स्वत: अगाडि बढ्दै जादो रहेछ । सधैँभरि हातले लेख्ने मान्छे म । पहिलोपटक त्यो पनि प्रिती फन्टमा लेख्न शुरु गरेँ । ल्यापटप भन्दा डेस्कटप सजिलो लाग्यो लेख्नका लागि । फर्ररर टाइप गर्न त सक्दिनँ तैपनि म निरन्तर लेखनमा लागिरहें । अनि कम्प्युटरमैँ हराउन थालेँ । तर मैले उपन्यास लेखिरहेछु भनेर त भनिनँ । जत्तिखेर पनि कम्प्युटरमा मात्रै झुन्डिरहेको देखेर मेरो सहयोगीहरूले मलाई मेरा घरका र माइतीका जसले सोधे पनि ' हाम्रो म्याडम त कम्प्युटरमैँ व्यस्त’ भनिदिंदा रहेछन् ! त्यसपछि त देवरानीहरू, भाउजु र बुहारीहरू र बहिनीहरू जसले जहिले भेटे पनि साइनो बमोजिम सम्बोधन गर्दै कम्प्युटरमा धेरै बस्नुहुन्न भनेर सल्लाह दिन थाले । म कम्प्युटरमा मात्रै बस्ने कुरा भाइरल बनेछ मेरो माइती र घरतिर ।

तर मैले उपन्यास लेखेको कुरा भने बुक-हिल पब्लिकेसनले फागुनमा उपन्यास निस्किन लागेको कुरा थाहा भएपछि मात्रै बल्ल थाहा सार्वजनिक भयो । अब सबैले थाहा पाए कि म किन त्यसरी कम्प्युटरमा मात्रै झुन्डिरहन्थेँ भनेर !

पछिल्लोसमय नेपाली साहित्यमा कृतिहरूका वग्रेल्ती ‘नोटिफिकेशन’ आए तर पठनीय कृतिहरू कमै मात्र आए भन्ने आरोप लाग्छ । तपाईंको प्रकाशोन्मुख कृतिले यो ‘ट्रेन्ड’लाई तोड्ला? तपाईंको उपन्यास पाठकले किन पढ्ने?

यस्ता आरोपहरू अहिले मात्रै होइन हरेक समयमा आइ नै रहने सिलसिला नै हो । मैले यस्तो उस्तो केही सोचेकै छैन । बस् जन्मनु थियो नियतिमा र त जन्म्यो । जन्माउन पो सकिन्छ भाग्य दिन त सकिन्न । यो सबै पाठकगणले पढिसक्नुभएपछि उहाँहरूले नै भन्ने र निर्धारण गर्ने कुरा हो । 

फेरि पनि बौद्धिक हिसाबले पढ्नका लागि एक से एक विश्वका उत्कृष्ट कृतिहरू छदैछन् नि ! हामीले त हामीले देखे-भोगेको समाज र वरिपरि घटिरहेका घटनाहरूलाई टिपेर, मुद्दालाई उठाएर, सुन्दर समाज निर्माणका लागि एउटा लेखक वा सर्जकको हिसाबले आह्वान गर्ने न हो । र, त्यहि सकारात्मक र सुन्दर समाज निर्माणका लागि पढ्नु पर्ने उपन्यास हो भन्छु कमसेकम मैले चाहिं!

तपाईंले आफ्नो पछिल्लो कथासंग्रह ‘तेस्रो रंग’मा विशेष गरी तेस्रो लिंगीहरूको विषयलाई उठाउनुभएको थियो । तपाईंलाई लेखनमा कस्ता कुराहरूले छुन्छन्? आफूलाई वैचारिक धरातलमा कहाँनेर पाउनुहुन्छ?

मैले मेरो कथा सङ्ग्रह "तेस्रो रङ"मा तेस्रो लिङ्गीका बारेमा मात्रै नभइ समाजमा विद्यमान प्रायःजसो मुद्दाहरूका बारेमा लेख्ने प्रयास गरेकी थिएँ । मेरो कथामाथि मन्तव्य राख्दै डा. दयाराम श्रेष्ठ दाजुले कथाहरूमा ‘देहब्यापार गर्न बाध्य नारीको पीडापूर्ण छटपटी, मातृत्वको भोकले ब्याकुल आमाको पुकार, साइबर सँस्कृतिका चोटहरू, वैदेशिक रोजगारीका लागि एकोहोरिएका युवाहरू, बिधवाको विलाप, दुब्र्यसनकिो दुरबस्था, समलिङ्गीहरका मनोभाव, सामन्ती सँस्कारको दुर्गति’ आदि विषयवस्तु आएको उल्लेख गर्नु भएको थियो । 
मैले देख्ने पनि यही जीवन र जगत नै हो । र, मैले भोग्ने पनि जीवन र जगत नै हुन् । यसै कारण मेरो बैचारिक धरातल पनि यिनकै वरिपरि नै घुमिरहेका हुन्छन् !

तपाईं मुक्तक, कविता, गीत, कथा र उपन्यास जस्ता साहित्यका विविध विधामा कलम चलाउनुहुन्छ । यसरी एकपछि अर्को विधामा लेख्दा केही असहज त हुँदैन? कुन परिस्थितिमा कुन विधा रोज्नुहुन्छ? आफूलाई एउटा विधाबाट मात्र चिनाउनु पर्यो भने कुन रोज्नुहुन्छ?

खासमा त्यस्तो केही असहज महसुस भएको छैन आजसम्म ! जुनबेला दिमागमा जे क्लिक हुन्छ त्यही नै लेख्ने हुदा जुनबेला स्वतस्फूर्तरुपमा जे आउँछ त्यही लेख्ने गर्छु! तापनि मुलतः म कवि नै हुँ !

अब तपाईंको साहित्यिक ‘करियर’को कुरा गरौँ । निकै लामो समयदेखि साहित्यलेखनमा सक्रिय हुनुहुन्छ । सुरुवातमा लेखनमा कसरी आकर्षित हुनुभयो अनि त्यसपछि कसरी लेख्ने लत बस्दै गयो? एउटा लेखकले आफ्नो लेखनलाई कसरी तिखार्दै लानुपर्ने रहेछ?

छोरीलाई पढाउनु भनेको बिगार्नु हो भन्ने मान्यता राख्ने युगमा जन्मेँ म । साहित्यिक कृति पढ्नु भनेको लागू औषधि सेवन गर्नु जत्तिकै अपराध मानिन्थ्यो उतिबेला । त्यसमाथि पनि कथा-उपन्यास जस्ता पुस्तक पढेमा त झन् छोरी सोह्रै आना बिग्री भन्ने सोचबाट ग्रसित समाजबीच हुर्केँ, बढेँ म ।

एकातिर घरपरिवारले देख्ने गरी साहित्य पढ्ने सम्भाबना थिँदैथिएन भने अर्कातिर अहिले जस्तो बिजुली बत्ती पनि थिएन । टुकी वा पानसको मधुरो प्रकाशमा त्यो पनि पाठ्य पुस्तकभित्र लुकाएर वा स्कुलका खाली समय सदुपयोग गर्दै चोरीचोरी, लुकीलुकी उपन्यासहरू पढ्नु र पढिसकेपछि अपराधबोधले ग्रस्त हुनु मेरा दिनचर्याभित्र पर्ने गर्थे । 

यसरी लागेको थियो साहित्यको लत । तर पढ्न त सबैले पढ्छन् । जीवन र जगतलाई पनि सबैले भोग्छन् । पढ्दैमा र भोग्दैमा सबैले अक्षरमा पोख्न सक्दैनन् । त्यसका लागि जन्मजात गुण त लिएरै आएको हुनुपर्छ जसलाई अध्ययन गरेर लेख्दै गरेर तिखार्दै लैजाने कुरा भने हो है फेरि ! यसका लागि संवेदनशील त हुनैपर्छ ।

कुनै सिर्जना लेखिसकेपछि कस्तो आनन्द पाउनुहुन्छ? तपाईंलाई सबैभन्दा धेरै खुसी के-मा मिल्छ? 

 प्रसवका अनन्त पीडापछिको बेग्लै आनन्द प्राप्त हुन्छ । जुन शब्दमा बर्णनै गर्न सकिन्न । त्यसलाई भने पैसाले पनि किन्न सकिन्न है फेरी ! मलाई लेखनमा नै सबैभन्दा धेरै खुसी मिल्छ । स्रष्टाहरू सबै एउटै परिवारका सदस्यहरूजस्तै लाग्छ । अनि अग्रज र अनुज बीचको सुन्दर र बलियो पुल भएर बाँच्न पाउँदा झन् धेरै आनन्दको अनुभूति हुन्छ ।

लेखकले राम्रो लेख्नका लागि पढ्न पनि उत्तिकै जरुरी छ भनिन्छ । तपाईंलाई आफूले पढेका पुस्तकले कत्तिको हौसला र प्रभाव पार्ने गर्छन्?

पक्कै पनि जरुरी हुन्छ । तर हाम्रो पालामा पढाइको अनन्त भोक लाग्दा पनि पुस्तक पनि पाइन्नथ्यो पाइएछ भने पनि पढ्नै पाइन्नथ्यो । र, पनि लुकाएर भए पनि अलिअलि पढिन्थ्यो । त्यतिबेला दिमागको ‘मेमोरी’ खाली हुने भएको हुनाले जति पनि भर्न सकिन्थ्यो ।  दुर्भाग्यवश त्यो सुनौलो अवसर भने प्राप्त हुन सकेन मलाई उतिबेला । उमेर पाक्दै गएपछि घरपरिवार गृहस्थी सम्हाल्दै र नानीहरूलाई हुर्काउँदैमा समय सकियो । जिम्मेवारीको भारीले थिचिरह्यो सधैंभरि । अब बिस्तारै अस्ताचल मोडिदै गर्दा इच्छा आवश्यकता र जिम्मेवारी अलि कम त छ । तर आँखाले धोका दियो फेरि । चस्मा नलगाई पढ्नै सक्तिन । र धेरैबेर पढेछु भने आँखाबाट यति आँसु झर्छ कि आँखा छिटै थाकेर पढ्नै सकिन्न ! यस्तो अचम्मै पो छ त पढाइ र मेरो बीचको नियति ! 

तपाईंलाई सबैभन्दा धेरै मन परेका १० कृति मात्र रोज्नुपर्यो भने कुनकुन रोज्नुहुन्छ?

दस भन्दा धेरै छन् । त्यसैले कुनकुन भन्न सकिनँ । माफ गर्नु होला ! एउटाको नाम लिंदा अर्कोलाई छोडेजस्तो हुन्छ !

नेपाल कहिले फर्कनुहुन्छ? अब आगामी दिनलाई लिएर के-कस्ता योजनाहरू रहेका छन्?

अब छोरीको ग्रेजुएशनपछि मात्रै फर्किन्छु होला । छोरीकै कारणले आउनुपरेको हो । बैशाख जेठतिर मात्रै फर्किन्छु होला सायद  ! मैले त योजना बनाएर कहिल्यै हिँडिनँ । समय र नियतिले जे-जे निर्देशन दियो त्यही बमोजिम हिँडे र हिँडी पनि रहेकी छु ! अब पनि खास‌ै केही योजना बुनेकै छैन !

उपन्यास प्रकाशनको पूर्वसन्ध्यामा हुनुहुन्छ । अन्त्यमा, के भन्न चाहनुहुन्छ आफ्ना पाठकहरूलाई?

पाठकको हातमा किताब पुगेपछि अन्तिम निर्णायक भनेको त पाठक नै हुन्छन् आखिर । सर्जकका लागि पाठक भगवान सरह हुने भएको हुँदा मैले आफ्नो उपन्यास उहाँहरूमा सप्रेम अर्पण गरेकी छु । प्रसादमा जे दिनु भए पनि सहर्ष स्विकार्य छ भन्न चाहन्छु !

सम्बन्धित समाचार

मलाई समान्य, तर नसोचिएका र नभनिएका विषय टिप्न मन लाग्छ: महेश पौड्याल

कथाकार, उपन्यासकार, समालोचक र अनुवादकका रुपमा नेपाली साहित्यमा आफ्नो विशेष पहिचान बनाएका साहित्यकार महेश पौड्याल आफ्नो पहिलो कवितासंग्रह “शून्य समयको साक्षी”सँगै कवितामा पनि आउँदै छन् । शिखा बुक्सले चैतको सुरुवाततिर

जनयुद्धले पितृसत्तावादी सोचविरुद्ध धावा बोलेको हो : सांसद यशोदा सुवेदी

काठमाडौँ । दाङ तुलसीपुर उपमहानगरपालिका मानपुर वनकट्टीमा २०२५ साल साउन २० गते  जन्मेकी यशोदा सुवेदी प्रतिनिधि सभाको समानुपातिकतर्फकी सदस्य हुन् । पार्टी केन्द्रीय संरचनामा उनी सचिवालय सदस्यसम्म भइन् भने स्थानीय

इच्छाशक्तिसहित इमानदारी भए देश बन्छ – सांसद पार्वती रावल 

काठमाडौँ । चितवनको खैरेनी नगरपालिका ४ चैनपुरमा जन्मेकी दिलकुमारी रावल पार्वती राष्ट्रिय सभा सदस्य हुन् । उनी अहिले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति छिन् ।  प्रारम्भिक शिक्षा गाउँबाटै

अप्ठ्याराहरु छन्, जिम्मेवार भएर अगाडि बढ्दै छौं – पवित्रा निरौला खरेल 

काठमाडौँ । पवित्रा निरौला खरेल झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिभिसभा सदस्य हुन् । अहिले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति समेत रहेकी निरौला ०३५-३६ सालदेखि नै राजनीतिमा सक्रिय छिन् । अनेरास्वयुबाट


z