जनयुद्धले पितृसत्तावादी सोचविरुद्ध धावा बोलेको हो : सांसद यशोदा सुवेदी

खरीबोट

काठमाडौँ । दाङ तुलसीपुर उपमहानगरपालिका मानपुर वनकट्टीमा २०२५ साल साउन २० गते  जन्मेकी यशोदा सुवेदी प्रतिनिधि सभाको समानुपातिकतर्फकी सदस्य हुन् । पार्टी केन्द्रीय संरचनामा उनी सचिवालय सदस्यसम्म भइन् भने स्थानीय संरचनामा जिल्ला इन्चार्ज र क्षेत्रीय ब्युरो इन्चार्जसम्म भएर उनले काम गरिन् ।   बाल्यकालमा ३-४ कक्षादेखि नै राजनीतितर्फ आकर्षित भएकी सुवेदी ०३६ सालको आन्दोलनपश्चात् विद्यार्थी राजनीतिमा सक्रिय हुन थालिन् । 

सुवेदीका बुबा शिक्षक, आमा गृहिणी हुनुहुन्थ्यो । बुबाले दोस्रो विवाह गरेपछि छोराछोरीको सम्पूर्ण जिम्मेवारी आमाको भागमा आयो । आमाको सघर्षले नै उनलाई राजनीतिमा प्रभाव पारेको ठान्छिन् । छोरा मान्छेले दोस्रो विवाह गरेर छोराछोरीलाई किन अलपत्र पार्छन् ? विभेदविरुद्ध विद्रोही सोच उनीमा बाल्यकालदेखि नै पलायो । 

स्कुलमा पढ्दै गर्दा विद्यार्थीको स्थिति फरकफरक देखिने कोही धेरै पैसावाला हुने कपडा राम्रो लगाउने, खर्च धेरै गर्ने, कोही सामान्य हुने कोही फाटेको कपडा लगाए, टालेको कपडा लगाएर खुट्टामा जुत्ता पनि नलगाएर हिड्ने देखेपछि उनलाई लाग्थ्यो असमानता किन हुन्छ ? 

कम्युनिष्ट पार्टीको तत्कालीन दाङ जिल्लामा नेतृत्व सम्हालेका पञ्चायत कालीन अवस्थामा भूमिगत नेत्रलाल अभागी, रोमहर्ष धिताल लगायतले उनको घर सेल्टरको रूपमा प्रयोग गर्दै गर्ने क्रममा उनका ती जिज्ञासाहरू दार्शनिक ढंगले बुझाउँथे यशोदालाई । अनि यशोदालाई कम्युनिष्ट पार्टीप्रति आस्था बढ्दै गयो । 

०३६ सालको आन्दोलनमा अखिलले नेतृत्व गरेको देख्दा आफू पनि अखिलमा लाग्नुपर्छ भन्ने धारणा उनीमा बनिसकेको थियो । लगत्तै जनता सांस्कृतिक माध्यमिक विद्यालय विजैरीमा स्कुल इकाइ कमिटीको सदस्य बनिन् । त्यसपछि क्रमिक रूपमा स्कुल एकाइ कमिटी हुँदै जिल्ला कमिटी दाङमा ३ कार्यकाल उपाध्यक्षसम्म भएर काम गरिन् । 

९ कक्षामा पढ्दा दाङबाट प्रतिनिधित्व गरेर गएकी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नवौं राष्ट्रिय सम्मेलनमा सहभागी बनेकी थिइन्  । 

एसएलसी दिइसकेपछिको समयमा अखिल नेपाल महिला संघको राष्ट्रिय भेलामा प्रतिनिधित्व गरेर आएपछि उनी केन्द्रीय समितिमा निर्वाचित भइन् । महिला संगठनको जिम्मेवारी सम्हाल्न थालिन् । ०४४ सालमा उनको देव गुरुङसँग विवाह भयो । त्यसपछि उनी पार्टी संगठनको काममा सक्रिय भइन् ।

०४५ सालमा भदौतिर दाङमा गिरफ्तार पर्नै लाग्दा उनी फुत्केर भाग्न सफल भएकी थिइन् । पार्टीको कामको सिलसिलामा उनी पृथ्वीनारायण क्याम्पसमा भर्ना भएर त्यो वरिपरिका विद्यार्थी संगठन र महिला संगठनका गण्डकी अञ्चलभित्रका जिल्लाहरूमा काम गरिन् । उनलाई लम्जुङ जिल्ला कमिटीमा रहेर पार्टी कमिटी विस्तार गर्ने कामको जिम्मेवारी थपियो । 

०४७ साल पछि पार्टीको निर्णय अनुसार मनाङमा गएर पढाइन् । मनाङ जिल्लामा जिल्ला कमिटीको सेक्रेटरी भएर उनले पार्टीको कामलाई ०५२ सम्म निरन्तरता दिइन् ।

०५२ सालमा जनयुद्ध शुरू भएपछि गण्डक उपव्युरोको कार्यालयमा र ०५३ देखि २०५६ सालसम्म काठमाडौंको जिल्ला पार्टीमा रहेर काम गरिन् । पार्टीमा महिलाको जिम्मेवारी उनले छोडेकी थिइनन् ।  महिला संगठनको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेकी थिइन् । 

उनले खुला खालका जनवर्गीय कार्यक्रममा उपस्थित हुने क्रममा धेरैपटक जेलमा पुग्ने र रिट हालेर छुट्ने गर्नुपरेको थियो । विभिन्न जिल्लामा संगठन बनाउने क्रममा गिरफ्तार भइन् ।
काठमाडौंमा भएका थुप्रै खुला प्रकारका आन्दोलनमा गिराफ्तार हुने हिरासतबाट छुट्ने, कहिलेकाहिँ जेल जाने रिट हालेर छुट्ने गर्नुपर्थ्यो । यस्तै क्रममा ०५६ सालको महिलाहरूको राष्ट्रिय सम्मेलन गर्दै गर्दा ७५ जनाको समूह गिरफ्तार परेको थियो । रिटपछि १ महिनापछि छुट्यो । छुटेपटि फेरि गिराफ्तार गरेर सबैलाई आआफ्नो जिल्लातिर पठाउने भनेर दाङ नलगी उनीहरुलाई नेपालगञ्ज लगेपछि बेपत्ता पारियो भनेर एक हप्ता पत्रपत्रिकामा खबर आयो र सरकार परिवर्तनसँगै नेपालगञ्जबाट दाङ ल्याएको भोलिपल्ट उनीहरु सहज ढंगले छुटे । 

विशेषतः संकटकाल २०५६ सालपछि उनी फेरी गण्डक क्षेत्रमा पार्टीले खटायो । ०५७ सालको पार्टीको राष्ट्रिय सम्मेलनपछि क्षेत्रीय ब्युरो सदस्य भइन् भने पर्वत जिल्लाको इन्चार्जको भूमिकामा रहिन् । ०६० सम्म पर्वतमा रहेर काम गरिन् । ०६० को शुरुवातदेखि केही समय स्याङ्जा र पाल्पामा इन्चार्जको भूमिकामा रहेर काम गरिन् । लगत्तै कास्कीको इन्चार्ज बनेर ०६२।६३ सम्म काम गरिन् । दोस्रो जन आन्दोलनलगत्तै उनको सरुवा काठमाडौंमा भयो । भक्तपुरको इन्चार्ज भएर ०६४ सालको निर्वाचनसम्म भक्तपुरमा काम गरिन् । निर्वाचनपछि उनी संविधानसभाको समानुपातिक सदस्य बनिन् । 

संविधानसभाको अन्तिम चरणतिर पार्टीभित्र अन्तर्संघर्ष चुलिँदै आएको थियो । संविधान सभाको विघटनसँगै पार्टीमा विग्रह भयो । पार्टी विभाजनपश्चात् उनी वैद्य समूहमा जिम्मेवारीका हिसाबले गण्डकको सेक्रेटरी भएर काम गरिन् । केही समय थारुवान प्रदेश इन्चार्ज भएर पनि काम गरिन् । पार्टी एकता भइसकेपछि अहिले नेकपाको केन्द्रीय कमिटीमा रहेर काम गर्दै आएकी छिन् ।  

पार्टीमा महिला

म लामो समयसम्म पार्टीभित्रका विभिन्न जिम्मेवारीमा रहे पनि मुख्यतः महिला  संगठनमा धेरै लामो समय काम गरे । आन्दोलनमा आकर्षणको मूल कारण पनि महिलामाथि भएका विभेदहरू किन धेरै ? जन्मँदा एउटै प्रकारले जन्मन्छ । हुर्कंदा एउटै प्रकारले हुर्कन्छ । फेरि पनि बिस्तारै किन महिलामाथि पारिवारिक बोझ थप्दै जाने र घरपरिवारको चौघेराभित्र सीमित गर्ने ? अनि पुरुषलाई बाहिरको काममा खटाउने किन यस्तो हुन्छ भन्ने जिज्ञासाबाट नै कम्युनिष्ट आन्दोलनतर्फ आकर्षित भएको हो । आफ्नै परिवारमा पनि बुबाले अर्को बिहे  गरिसकेपछि आमाले जुन ढंगले सबै प्रकारका समस्या र चुनौतीको सामना गर्दै छोराछोरी हुर्काउने बढाउने र पढाउने जिम्मेवारी वहन गर्नुपर्यो, त्यसको प्रत्यक्षदर्शी हुँदा यो धेरै ठूलो अन्याय पो भन्ने महसूस गरेकै कारण आन्दोलनमा आकर्षित भएको हो । शुरुवाती चरणदेखि नै महिला र पुरुषको असमानता र विभेदको अन्त्य हुनुपर्छ, महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य हुनुपर्छ, कुराको लक्ष्य उद्देश्य राखेर आन्दोलनमा लागेको र त्यसको जवाफ चाहिँ कम्युनिष्ट पार्टीबाट पाएको हुनाले कम्युनिष्ट पार्टी ठीक हो भन्ने लागेको उनको भनाइ छ । 

महिलाले उठाएका महिला र पुरुषबीचको असमानता किन छ भन्दा हाम्रो समाज सामन्ती पितृसत्तावादी समाज हो । यो सामन्ती पितृसत्तावादी समाजले महिलाललाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्छ । पितृसत्तामा पुरुष समाजको पहिलो प्राथामिक शक्ति हो र महिला चाहिँ पुरुषको सहयोगी र समन्वयकारी शक्ति हो अथवा पुरुषको सहयोगी भाग मात्र हो भन्ने ढंगको पितृसत्तावादी दृष्टिकोणले यो रुपमा महिलालाई हेर्छ ।  

यो दृष्टिकोण केवल पुरुषमा मात्रै नभएर महिलामा पनि छ । महिलाले आफुलाई म पुरुषसमान हूँ भनेर बुझ्दैनन् पितृसत्तावादी सोचबाट ग्रसित भएपछि । म पुरुषको सहयोगी हूँ भनेर बुझ्छन् । कतिपय सन्दर्भ र प्रसंगहरुमा हामी महिला आन्दोलनको अगुवाको रुपमा अगाडि बढेकाहरुमा पनि त्यो अभिव्यक्त भएर आउँछ  ।  

किनभने हाम्रो समाज पितृसत्तावादी समाज छ । त्यसको रिफ्लेक्सन समाजका सबै सदस्यहरुमा कुनै न कुनै रुपमा-समयमा कुनै न कुनै ढंगले अभिव्यक्त हुन्छ । त्यसैले यो पितृसत्तावादी सोचको समाजले पैदा गरेको चेतनाले महिलालाई डोमिनेट गरिरहेको छ । त्यसैले हामीले पितृसत्तावादी समाजलाई भत्काउनुपर्छ ।  

जनयुद्धले पितृसत्तावादी सोचविरुद्ध धावा बोलेको हो ।   यसको भत्काउने क्रम तीव्र गतिमा अगाडि बढेको छ ।

आन्दोलनले यसलाई अगाडि ल्यायो महिलाहरु समाजमा हरेक क्षेत्रमा सहभागी भए । जब हामीले पितृसत्ताको विरुद्धमा धावा वोल्यौं । पछिल्लो समय पितृसत्ताको विरुद्धमा धावा बोलेपछि माओवादी युद्धमा महिलाको सख्या बढ्दै गयो । माओवादी जनयुद्ध यस्तो ठुलो युद्ध थियो । त्यहाँ सेना निर्माण गरिएको थियो । सेनामा महिलाहरु सहभागी भए । सामान्य पार्टमा मात्र नभएर एसल्ट ग्रुपमा, इन्फेन्ट्री ग्रुपमा लडाकु योद्धाहरुमा महिलाको सख्या ठूलो भयो । 

ब्यारेक कब्जा गर्न जाने क्रममा ठूलो सख्यामा महिलाहरु सहभागी भए ।  शुरुमा महिलालाई असाध्यै हेपेर प्रस्तुत हुन्थे । तर, पछि महिलाको साहस र पराक्रमका अगाडि आफू झुक्न परेको अवस्थाहरु देखिसकेपछि महिलाको शक्ति बलियो हुँदो रहेछ भनेर सेनालाई पनि पाठ सिकायो र अहिले सेनाको इन्फेन्ट्री ग्रुपमा महिलाहरु छन् । सुरक्षाकर्मीमा नै महिलाको सख्या बढ्दो क्रमममा छ ।  

पुर्णरुपमा महिलाले भने जस्तै सहभागिता नभए पनि क्रमिक रुपमा भत्काउने  प्रक्रिया सुरु भएको छ । सबैभन्दा असजिलो ठाँउ युद्धको मोर्चामा पनि महिलाहरु सहभागी बने ।  संसद्मा पहिला ५ प्रतिशत मात्र सहभागी भन्ने थियो । जब माओवादी जनयुद्धपछाडि अन्तिरिम संसदमा स्वाट्टै माओवादीले महिलाहरुलाई आधा महिला सख्यालाई नियुक्ती गरिसकेकपछि एउटा ठूलो चुनौती दियो, त्यो हिम्मतले गर्दा सबै पार्टीका महिलाहरुले सयुक्त रुपमा जोड गरे । अन्तिममा महिलाहरुको ३३ प्रतिशत उपस्थिति अनिवार्य चाहिन्छ भनेर आवाज उठाएर अन्तिरिम संविधान लेख्ने बेलामा संविधानमा नै महिलाहरुको ३३ प्रतिशतको ग्यारेन्टि गरियो । 

यो प्रक्रिया हेर्दा समाजका हरेक क्षेत्रमा प्रशासनिक क्षेत्र, व्यावसायिक क्षेत्रमा महिलाहरुको सहभागिता क्रमिक रुपमा बढ्दै गएको देखिन्छ । यो हिजो हामीले चलाएको आन्दोलनले गुणात्मक फड्को मार्दै गएको अवस्था हो । जनयुद्धको क्रममा पनि नेतृत्वमा नै त समान थिएन । केन्द्रीय कमिटीमा १० प्रतिशत जति मात्र थियौं । सेनामा ४० प्रतिशत थियो । जनवर्गीय संगठनहरुमा बढी थियो । 

नेतृत्वमा अहिले पनि १०-११ प्रतिशत जति मात्र छौं ।  माथिल्लो तहमा महिला धेरै देखिएको छैन । वाक् युद्धमा आउँदा नीतिनिमार्णबाट नियन्त्रण गर्नुपर्ने भयो । त्यहाँ बन्दुकले नियन्त्रण गर्नुपर्ने हुन्थ्यो । नीतिले नियन्त्रण गर्ने बेलामा परिवर्तन भएको छ । जस्तो सरकारी तवरबाट हेर्दा ठ्याक्कै मन्त्रीपरिषद्मा पुगेको छैन । 

अन्यत्र ३३ प्रतिशत पुगेको छ । पार्टीमा जनवर्गीय संगठनहरु हेर्दा महिलाको उपस्थिति राम्रै छ । तर केन्द्रीय कमिटी, पोलिट ब्युरो अवस्था  सचिवालय भनेर हेर्दा कम छ । वाक्युद्धको बेला भएको हुनाले बहस चलिरहेको छ । 

हाम्रो नीतिमा एउटा व्यवस्था गर्ने व्यहारमा अर्को काम गर्ने अन्तर्विरोधी देखिएको छ । जस्तो नीतिले दल दर्ता ऐनमा हरेक दलको सबै कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्छ भन्छ । पार्टीको विधानले महिलाहरुको ३३ प्रतिशत सहभागितालाई सैद्धान्तिक रुपमा स्वीकार गरिएको छ ।  सैद्धान्तिक र लिखित गरी सबैजसो पार्टीको सहमति देखिन्छन् ।  

विधान, कानूनी तवरबाट हेर्दा दल दर्ता ऐनले कभर गरेको छ । पार्टीको आन्तरिक विधानबाट हेर्दा पाटी विधानले नियामन गरेको छ । व्यवहारमा हेर्दा केन्द्रीय कमिटीमा पुगेको छैन । नीति र विधिलाई लिएर व्यवहारमा कन्ट्रोल गर्ने कुरा बहसको विषयमा गयो र पार्टीमा केन्द्रीय कमिटी बन्दै गर्दा ठूलो बहसको क्रममा नेताहरुले आश्वासन दिएका छन् ।  

पहिले नै दुवै दलमा ३३ प्रतिशत नहुँदा समस्या भएको हो । चुनावअगाडि महाधिवेशन भइसकेको पार्टीमा दल दर्ता ऐनले नियामन गरेन । चुनाव वरिपरि दल दर्ता ऐन आयो ।  ऐनबाट निर्वाचन आयोगले नशा समाउन सकेन । निर्वाचन आयोगले ऐन संवत् नभए दल दर्ता गर्दिनँ भनेको भए हुन्थ्यो । भनेन ।

पार्टी एकता तीव्र गतिमा भयो । दल दर्ता ऐन बन्नु, निर्वाचन हुनु, पार्टीको एकता हुनु सँगै हुँदा बीचमा धेरै बहस व्यवहारमा सच्याउन सकेनौं । सबैको ध्यानाकर्षण गराएको छ । सबैतिर बहस सृजना गराएको छ र नीति र विधिले पनि च्यापेको हुनाले ३३ प्रतिशत अनिवार्य गर्नुपर्ने स्थिति बनेको छ । 

संविधानको ऐनको फरक कहाँ छ भने सैद्धान्तिक धाराहरुमा जाँदा महिलाको समानुपातिक समावेशी सहभागितालाई स्वीकारिएको छ । संविधानका अनिवार्य कार्यान्वयन गर्नुपर्ने धाराहरुमा जाँदा कहीँ ३३ प्रतिशत भनेको छ, जस्तो संघीय संसद्मा ३३ प्रतिशत भन्यो प्रतिनिसभामा ३३ प्रतिशत भनेको छैन । 

मन्त्रीमण्डलमा समावेसी बनाउने भन्यो । संविधान निमार्णकै क्रममा सबैतिर ३३ प्रतिशत थियो भने बल्ल नियमन हुन्थ्यो । संविधानले रेगुलेसन गर्थ्यो । संविधानले कम्तीमा समावेशी बनाउनुपर्छ भन्दै गर्दा पितृसत्तावादी दृष्टिले छनोट गर्ने छुट पायो । सक्षम महिलाहरुलाई नदेख्ने भए नजर सीधै पुरुषमा जाने भयो । त्यो किन हुन्छ भने पितृसत्तावादी सोचले महिलाहरु सक्दैनन् भनेर हेर्छ । चुनावमा टिकट पाइहाले पनि भोटको समस्या हुन्छ । महिलाले सक्दैन माग सम्बोधन गर्न भनेर सोच्छ । किन भने समाज नै पुरुषवादी समाज छ ।

घरमा छोरालाई बढी विश्वास गरिन्छ, छोरीलाई कम । छोरा सकुशल घर आउँछ भन्नेमा शंका नै गरिँदैन । लुटिन्छे कि भनी छोरीको चिन्ता हुन्छ । 

सरकारको कार्यशैली 

केलाई सन्तोष मान्ने नमान्ने भन्ने हो । परिस्थितिलाई मूल्याङ्कन गर्दा सन्तोष भयो भने विकास रोकिन सक्छ । असन्तोष त मानवीय प्रवृति हो । विकासोन्मुख देशमा हामी सन्तुष्ट भएर बस्ने अवस्था त छैन । समृद्धि हाम्रो गन्तव्य हो । राणाकाल देखिको असन्तुष्टिको जगमा यो सरकार बनेको छ । एकैचोटि सबै सन्तुष्ट पार्न सक्दैनौं । प्रयत्न सकारात्मक छ । जानुपर्ने गतिमा नगएको भन्दै छलफल भइरहेको छ । 


 

सम्बन्धित समाचार

'उद्योगीको दौडाई खरायोको जस्तो छ, सरकार कछुवाको गतिमा छ'

उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा मात्र नेपाली व्यवसायीहरुले सिमेन्ट उद्योगमा १९ अर्ब भन्दा बढी लगानी गरेका छन् । सिमेन्टमा आत्मनिर्भर र उत्पादनमा वृद्धि गर्न सक्ने क्षमता भए सँगै निर्यात

राहतको आशमा असिनापीडित, सरकारले दिएको बजेटभन्दा पाँचौ गुणा क्षति

दूल्लु । गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो । असिनापानीले पाक्नै लागेको गहुँबाली, जौ, फलफूल

कृषि बजारमा सरकारको ठाडो हस्तक्षेप हुनुपर्छ : सांसद डा. विमला राई पौड्याल

रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक गरेकी विमला राई पौड्यालले विकास अर्थशास्त्रमा बेलायतबाट स्नातकोत्तर र नेडरल्यान्ड्सबाट पीएचडी गरेकी छन् । कृषि अनुसन्धान, गैरसरकारी संस्थामा कार्य, सामाजिक विकासको क्षेत्र, राष्ट्रिय योजना आयोग,

'सहकारी नियमावली आँउदैमा जादुको छडी जस्तो समस्या समाधान हुदैन, समय लाग्छ'

काठमाडौँ । विगत लामो समयदेखि सहकारी क्षेत्रमा विविध समस्याहरु देखापरेका छन् । यस क्षेत्र विशेषगरी सहकारी टिक्ने र नटिक्ने तथा बचतकर्ताहरुको रकम सुरक्षित हुन्छ कि हुदैन भन्ने ठूलो चुनौती रहेको


z