• २०८१ बैशाख १८ मंगलबार

काठमाडौं २०१९ मा यात्रा गर्नका लागि विश्वकै पाँचौं उत्कृष्ट गन्तव्य

kharibot

काठमाडौँ । विश्व प्रसिद्ध ट्राभल म्यागजिन लन्ली प्लानेटले घुम्नका लागि संसारका ५ उत्कृष्ट शहरहरूमा काठमाडौंलाई पाँचौं स्थानमा राखेको छ । 

लन्ली प्लानेटकाअनुसार सन् २०१५ मा गएको महाभूकम्पको बेला संचारमाध्यमहरूमा काठमाडौं भत्किएको र शोकमा डुबेको देखिए पनि अहिले काठमाडौंमा पुनर्निर्माणको अभियानले गति लिईरहेको छ । लन्ली प्लानेटले भूकम्पमा भत्किएका सम्पदाहरूको पुनर्निर्माणमा अझै काम बाँकी रहे पनि विस्तारै ऐतिहासिक सम्पदाहरू आफ्नो पुरानो वैभवमा फर्कन थालेको बताएको छ । 

त्यसैगरी उक्त म्यागेजीनकाअनुसार काठमाडौंको ट्राफिक र धुँवा-धुलोको समस्यामा केही सुधार भइरहेकोले यस सहर पछिल्ला केही दशकहरूभन्दा अहिले धेरै नै बस्न योग्य भएको छ । यसका साथै अहिले बत्ती पनि त्यति नजाने र वाईफाईको सुविधा पनि बढेकाले काठमाडौंको बसाइँ थप सहज हुने छ । लन्ली प्लानेटका अनुसार काठमाडौंका भुलभूलैया जस्ता गल्लिहरू यस सहरका अर्को प्रमुख आकर्षण हुन् ।

लन्ली प्लानेटले आफ्नो उत्कृष्ट सहरहरूको सूचीमा डेनमार्कको राजधानी कोपेनहागनलाई पहिलो स्थानमा राखेको छ । म्यागेजीनकाअनुसार कोपेनहागनको मुख्य आकर्षणहरूमा त्यहाँको विश्व प्रसिद्ध नोमा रेस्टुरेन्ट, सहरको स्ट्रीट फुड, मनोरन्जन पार्क आदि रहेका छन् ।

त्यसैगरी सूचीको दोस्रो स्थानमा चीनको सिलिकन भ्यालीको रुपमा चिनिने शेन्जेन सहर रहेको छ । लन्ली प्लानेटकाअनुसार शेन्जेनका प्रमुख आकर्षणहरूमा त्यहाँको सांगेतिक वातावरण, क्याफे, म्युजियम रहेका छन् ।

यसका साथै सूचीको तेस्रो स्थानमा सर्बियाको नोभी साड र चौथो स्थानमा अमेरिकाको मायामी सहर रहेको छ । नोभी साडलाई २०१९ को लागि यूरोपिएन युथ क्यापिटल पनि  घोषणा गरिएको छ भने त्यहाँ आयोजना हुने एक्जिट सांगेतिक महोत्सव संसारभरि नै प्रसिद्ध रहेको छ । त्यसैगरी अमेरिकी सहर मायामी समुन्द्री किनार र त्यहाँको रात्रीजीवनका लागि लोकप्रिय रहेको छ ।

यसका साथै लन्ली प्लानेटको सूचीमा पाँचौ स्थानमा रहेको काठमाडौं पछि मेक्सिकोको राजधानी मेक्सिको सिटि छैठौ स्थानमा छ । त्यसैगरी सातौ स्थानमा सेनेगलको राजधानी डकार, आठौ स्थानमा अमेरिकाको सियटल, नवौ स्थानमा क्रोएसियाको जादार र दशौ स्थानमा मोरक्कोको मेक्नेस सहर रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै