• २०८१ बैशाख १७ सोमबार

काँग्रेसमा देउवा भर्सेज कोइराला 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसभित्र फेरी कोइराला परिवार भर्सेस अन्य सुरुहुने संकेत देखा परेको छ । बुधबार बीरगंजमा आयोजित कार्यक्रममा पार्टी सभापति देउवाले पार्टी कोइराला परिवारको नभएको बताएर संगठित हुदै गरेको कोइराला परिवारलाई आक्रमण सुरु गरेका छन् ।

कोइराला परिवारका तीन नेताहरु डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला पछिल्लो समय एक भएर अबको पार्टीको नेतृत्व कोइराला परिवारमै ल्याउन कसरत गरिरहेका बेला सभापति देउवा सार्वजनिक रुपमा आक्रमणमा उत्रिएका हुन् । देउवाले मुखै खोलेर सम्भावित सभापतिका उम्मेदवार शेखर कोइरालालाई कारवाही गर्ने चेतावनी दिए । 

पार्टीमा शेखरको योगदानमा देउवाको प्रश्न :

देउवाले भने, ‘पार्टीका लागि शेखरको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसेका छन् ?  मण्डलेहरुले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ?’, देउवाको प्रश्न थियो, ‘पार्टीका लागि कुनै योगदान नै नगर्ने अनि अहिले कोइरला थर भयो भन्दैमा पार्टी सभापति नै बन्न पाउनु पर्छ भनेर शेखरले जथाभावी बोल्दै हिँडेका छन् ।’   
त्यस्तै देउवाले कोइराला थर हुदैमा सभापति पाइदैन भन्दै भने, ‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो’, उनले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ?’ ‘कांग्रेस पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदान छ, यो हामीले पनि स्वीकार्छौँ’, देउवाले भने, ‘तर यो पार्टीमा बिपी र जिपीका छोरा भतिजाको कुनै योगदान नै छैन । जसले पार्टीमा योगदान नै दिएको छैन, पार्टीमा केही गरेकै छैन, उसैले कार्यकर्तामाझ जथाभावी बोल्दै हिँडदैछन् ।’

सभापति देउवाको यो अभिव्यक्तिलाई अब उनी महाधिवेशन केन्द्रित भएको बुझ्न सकिन्छ । काँग्रेसका धेरै नेताहरु अहिले देश दौडाहामा रहेका छन् । निर्वाचनमा पराजित भएपछि सत्ता बाहिर रहेको काँग्रेसका नेताहरु अब महाधिवेशनमा आफु नेतृत्वमा आउन कैयौं गुट र प्यानलको एक्सरसाइजमा रहेका छन् । देउवाको कोइराला परिवारलाई गरेको आक्रमण पछि अब को महाधिवेशन कोइराला परिवार भर्सेज देउवा हुने देखिएको छ । सुशील कोइरालाको निधन पछि पार्टी नेतृत्वमा पुगेका देउवा कोइराला परिवार बाहिर बाट पार्टी नेतृत्वमा पुग्ने सुवर्ण शमसेर र कृष्णप्रसाद भट्टराई पछि तेस्रो व्यक्ति हुन् । काँग्रेसको करिब ७२ बर्षको इतिहासमा विपी कोइरालाम मात्रिका कोइराला, गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाले कोइराला परिवारबाट काँग्रेसलाई नेतृत्व दिएका छन् । उनीहरुले करिब ५० बर्ष काँग्रेसको नेतृत्व गरेको पाइन्छ । 

काँग्रेसमा कोइरालाको नेतृत्व :

७२ वर्षको समयमा काँग्रेसलाई ५० वर्ष कोइरालाहरूले नै पार्टीको नेतृत्व गरेका छन् । कोइराला परिवारबाट काँग्रेसमा चार सभापति बने । जसमा विपी कोइराला, मात्रिका कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला रहेका छन् । २००३ सालमा काँग्रेस पार्टी स्थापना भएयता बिपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष मातृका कोइरालाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसाद कोइरालाले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष काँग्रेसलाई नेतृत्व गरेको देखिन्छ । 
कोइराला बाहेक काँग्रेसको नेतृत्व : 

२०३४ सालमा बिपीले स्वास्थ्यको कारण देखाएर सभापति छोडेपछि कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति बनेका थिए । २०३९ सालमा बिपीको निधनपछि पनि ०४७ सालसम्म कार्यवाहक सभापति बनेका भट्टराई ०४८ सालमा निर्वाचित सभापति भएर २०५३ सालसम्म गरी काँग्रेसको नेतृत्वमा करिब १९ वर्ष रहे । काँग्रेसको नेतृत्वमा विपी कोइरालापछि लामो समय नेतृत्व गर्ने अवसर भट्टराईले पाएको थिए ।

काँग्रेसमा कोइराला परिवारबाहेक नेतृत्व गर्नेमा सुवर्णशमशेर पनि रहेका छन्, उनले २०१२ देखि २०१४ सम्म गरी दुई वर्ष नेतृत्व गरेका थिए ।

काँग्रेसमा देउवाको उदय :

काँग्रेसमा देउवा सधै कोइराला परिवारका लागि चुनौती बनिरहेको पाइन्छ । गिरिजा प्रसाद कोइरालाले काँग्रेसको नेतृत्व गरिरहदा पनि देउवा आफै पावर सेन्टर बनिरहे । उनको नेतृत्व क्षमता कै कारण २०५२, २०५८, २०६१ र २०७४ गरी चारपटकसम्म प्रधानमन्त्री समेत बन्न सफल भए । २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनकै गृहमन्त्री भएका देउवा भएर आफूलाई उदाउँदो नेताका रूपमा उभ्याउन सफल भए । गिरिजा प्रसाद कोइरलासँगको असन्तुष्टि पछि पार्टी फुटाएर समेत अगाडी बढेका देउवा फेरी पार्टी एकीकरण गरेर पार्टीको नेतृत्वमा पुग्न सफल भएका थिए । २०७२ चैत्रदेखि देउवाले काँग्रेसको सभापतिको रुपमा पार्टीको नेतृत्व गरिरहेका छन् ।  

कोइराला परिवारलाई नेतृत्वमा आउन कति सहज ?

अहिले कोइराला परिवारबाट शशांक, शेखर र सुजाता पार्टीको शिर्ष तहमा छन् । शशांक महाधिवेशनमा निर्वाचित महामन्त्री हुन् भने शेखर र सुजाता निर्वाचित केन्द्रीय सदस्य । विगतमा यी तीन नेता तीन तिर थिए । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला जीवित हुदासम्म यी तीनको मिलोमतो थिएन । काँग्रेसको नेतृत्वमा पुग्ने आकांक्षाले उनीहरु एक आपसका प्रतिष्पर्धी नै थिए । तर अहिले परिस्थिति भिन्न रहेको छ ।

पछिल्लो केहि समय देखि यी तीन कोइरालाहरु एउटै मंचमा देखिने कहिले सँगै डिनर खाने कहिले लन्च खाने गरिरहेका छन् । काँग्रेसजनलाई आफुहरु एक रहेको र काँग्रेसलाई नेतृत्व गर्न तयार रहेको संदेश उनीहरुले दिइरहेका छन् । तीन कोइरालामा आगामी महाधिवेशनमा डा.शेखर कोइराला सभापतिमा उम्मेदवार बन्न सक्ने अनुमान गरिन्छ । तर कोइराला बाहेकका नेताहरु एक ठाउमा भएमा भने शेखरलाई मुश्किल हुने देखिन्छ ।

कोइराला बाहेकका नेताहरु एक ठाउमा भएको खण्डमा भने हाल महामन्त्री रहेका शशांक कोइराला सभापतिमा उठ्न सक्ने अनुमान भैरहेका छन् । शशांकसँग विपी पुत्रको ट्याग भएका कारण काँग्रेसभित्र उनलाई पराजित गर्न अरुलाई मुश्किल हुन सक्ने देखिन्छ । जुन पछिल्लो महाधिवेशनमा पनि देखिएको थियो । तर यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता प्रकाशमान सिंहहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न पनि रहेको छ । उनीहरुको समर्थन बिना कोइराला परिवारमा काँग्रेसको नेतृत्व सहजै आउने वातावारण देखिदैन ।

त्यस्तै काँग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको भूमिका पनि कम आक्न सकिन्न । उनलाई गगन थापालगायतका नेताहरुको साथ रहेकाले उनीहरुको भूमिका निर्णायक नभएपनि ठुलो अर्थ राख्ने किसिमको रहेको छ ।

देउवाको निरन्तरता :

काँग्रेसमा अझै नेतृत्वमा रहने संकेत देउवाले कोइराला परिवारलाई आक्रमण गरेर दिइनै सकेका छन् । उनले अझै एक पटक काँग्रेसको सभापतिमा लड्ने सम्भावना देखिन्छ । आफु बाहेकका शक्ति एक भएर आफु पराजित हुने अवस्था बाहेक अहिलेसम्म देउवा आउदो महाधिवेशनमा सभापतिका उम्मेदवार रहेको उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । यस्तो अवस्थामा गत महाधिवेशनमा उनलाई साथ दिएका कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी जस्ता नेताहरु उनीसँग रुष्ट हुनु साथै अन्य धेरै नेताहरु देउवासँग टाढिनुले उनलाई पार्टीको नेतृत्वमा फेरी आउन त्यति सजिलो भने देखिदैन । तर कोइराला परिवारले सभापति कोइरला परिवारबाटै हुनुपर्छ भन्ने अडान राखेमा नयाँ समीकरण समेत बन्न सक्ने देखिन्छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै