• २०८१ बैशाख ६ बिहीबार

रामप्रसाद खनालका दुई कृतिको अमेरिकामा विमोचन 

kharibot

वाशिङटन डिसी । अमेरिकाको वाशिङटन डिसीस्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयाँ कविता कृति " मुर्दाहरूको बस्ती " र " रामप्रसाद खनालका सदाबहार गीतहरू " एकसाथ विमोचन गरिएको छ ।

राष्ट्रिय सभा सदस्य एवम् वरिष्ठ लोक तथा दोहोरी गायिका कोमल वली, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, म्यारिल्यान्ड र पेन्सल्भिनियाका लागि महाबाणिज्यदूत एवम् वरिष्ठ लोक तथा दोहोरी गायक प्रेमराजा महत, पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, वरिष्ठ लोक गायक नवीन खड्का र खनाल पत्नी तीर्था पौडेलले दुवै कृतिहरू सामूहिक रूपमा विमोचन गरेका छन् ।

अमेरिकामा बसोबास गर्ने कलाकारहरू, समाजसेवीहरू, नेपाल लाई माया गर्ने अमेरिकीहरू, नेपाली सङ्घ संस्थाका प्रमुखहरूको उपस्थितिमा उक्त दुई कृतिहरू विमोचन गरिएको थियो ।

कार्यक्रममा राजदूत कार्की, सांसद ओली, पूर्व अमेरिकी राजदूत डेलिसी, महाबाणिज्यदूत महत, वरिष्ठ लोकगायक खड्का आदिले मन्तव्य पनि व्यक्त गरेका थिए । राजदूतावासले सांसद वलीको स्वागत कार्यक्रम र कार्यक्रमको अन्त्यमा नेपाली मैत्री भोज समेत आयोजना गरेको थियो ।

कार्यक्रममा अतिथि गायिका वली, गायकहरू महत, खड्का, खनाल, तिमील्सेनाले गीतहरू गाएका थिए भने नवीन केसी, लुना श्रेष्ठ, सुस्मा खनाल लगायतका कलाकारहरूको नृत्य प्रस्तुत गरिएको थियो ।

कविता कृति " मुर्दाहरूको बस्ती " खनालको सत्रौँ पुस्तक र दोस्रो कविता सङ्ग्रह हो भने " रामप्रसाद खनालका सदाबहार गीतहरू " खनालको ४७ औँ एलबम हो । यस अघि नै खनालले एक हजार दुई सय भन्दा बढी गीत लेखन एवम् गायन गरिसकेका छन् भने खनालले एक हजार भन्दा बढी कविता, गजल र मुक्तकहरू लेखन एवम् प्रकाशन गरिसकेका छन् ।

खनालको नयाँ कविता कृति " मुर्दाहरूको बस्ती " दुई सय पेजको छ जसमा राष्ट्र, राष्ट्रियता, बर्तमानको नेपाल सँग सम्बन्धित कविताहरू समावेश छन् भने " रामप्रसाद खनालका सदाबहार गीतहरू " जसमा एघार वटा लोक गीत, लोक भजन, पञ्चेबाजा, आधुनिक गीत लगायतका गीत समावेश गरिएको छ ।

खनालले गत वर्ष प्रकाशन गरेको तिन सय पेज रहेको कविता कृति " देश हराएको मान्छे " पाठकहरूले अत्यन्त रुचाएका थिए । उक्त कृतिको दोस्रो संस्करण अहिले बजारमा छ भने खनालका गीत सङ्गीत कर्णप्रिय, लोकप्रिय पनि छन् भन्छन् उनका दर्शक र श्रोताहरू ।

नेपालको लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको लागि त्यसै गरी देश विदेश जहाँ रहँदा पनि खनालले नेपाली भाषा, साहित्य, कलाको क्षेत्रमा पुर्या एको योगदानको सबैले खुलेर प्रशंसा गर्ने गरेको पाइन्छ । खनाल मात्र होइन खनालका शिष्यहरू पनि अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित कलाकार हुनुले खनालको योगदान कति छ भन्ने कुरा पुष्टि हुन्छ भन्छन् उनका दर्शक र श्रोताहरू ।

सो अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष खनालले गीत सङ्गीत र पत्रकारितामा आफ्नी सहयात्री एवम् अतिथि कोमल ओलीलाई मायाको चिनो प्रदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै