• २०८१ बैशाख १४ शुक्रबार

वैज्ञानिकहरूले पत्ता लगाए सौर्यमण्डलको सबैभन्दा टाढाको वस्तु !

kharibot

एक अमेरिकी खगोल वैज्ञानिकले आफूले सौर्यमण्डलको अहिलेसम्मकै सबैभन्दा टाढाको वस्तु पत्ता लगाएको दावी गरेका छन् ।

अमेरिकाको वाशिंगटन डिसीमा रहेको कार्नेगी इन्स्टिच्युट फर साइन्सका वैज्ञानिक डा. स्कट सेफर्डले पत्ता लगाएको उक्त वस्तुकोबारेमा पुष्टि भएमा यो सौर्यमण्डलमा रहेको अहिलेसम्मकै सबैभन्दा टाढाको वस्तु हुने छ । यसलाइ वैज्ञानिकहरूले 'फारफारआउट' नाम दिएका छन् ।

उक्त खगोलीय पिण्ड सूर्यबाट पृथ्वी र सूर्य बीचको दूरीभन्दा १४० गुणा टाढा रहेको बताइएको छ । तर यो दुरी भने अहिले गरिएको सरदर अनुमान मात्र हो । त्यसैगरी वैज्ञानिकहरूकाअनुसार यसको अहिलेसम्म खगोलीयरुपमा वर्गीकरण गरिसकिएको छैन । यसअघि सौर्यमण्डलमा सबैभन्दा टाढाको खगोलीय पिण्ड सूर्य र पृथ्वी बीचको दुरीभन्दा सूर्यबाट १२० गुना टाढा रहेको थियो । फारआउट नाम दिइएको उक्त खगोलीय पिण्ड केही महिनाअघि मात्र २०१८ डिसेम्बरमा पत्ता लागेको थियो ।

शौर्य मण्डलको नयाँ ग्रह बन्ने सम्भावना रहेको भनिएको ‘प्लानेट नाइन’को खगोलीय तथ्यांकहरू अध्यन गर्ने क्रममा ‘फारफारआउट’को अस्तित्व पत्ता लागेको डा. सेफर्डले बताएका छन् । ‘प्लानेट नाइन’ अस्तित्वबारे अहिले पुष्टि भइनसके पनि यसलाई सौर्यमण्डलको नवौँ ग्रह बन्ने सम्भावना रहेको वैज्ञानिकहरू बताउँदै आएका छन् । यसको आकार पृथ्वीभन्दा १० गुणा ठूलो रहेको अनुमान गरिएको छ ।

'प्लानेट नाइन’ सौर्यमण्डलको पुछारतिर रहेको भनिएको ‘अर्ट क्लाउड’मा रहेको अनुमान गरिएको छ । यसबारे अध्ययन-अनुसन्धान गर्ने क्रममा त्यहाँ अवस्थित अरु थुप्रै खगोलीय पिण्डहरूको अस्तित्व पत्ता लगाउने गरेका छन् । सौर्यमण्डलमा सबैभन्दा टाढा रहेको ग्रह वरुणभन्दा पर रहेको खगोलीय पिण्डहरूको थुप्रो अर्थात् 'एक्स्ट्रीम ट्रान्स नेप्ट्युनियन अब्जेक्ट्स' यही ‘प्लानेट नाइन’को गुरुत्वाकर्षणको कारणले भएको खगोल वैज्ञानिकहरूले अनुमान लगाएका छन् ।

डा. सेफर्डकाअनुसार ‘फारफारआउट’ निकै नै टाढा रहेकाले अहिले नै यसबारेमा धेरै बताउने अवस्था छैन । यसकासाथै यसको घुम्ने कक्षबारे पनि वैज्ञानिकहरू अनुसन्धानमै रहेका छन् । त्यसैगरी ‘फारफारआउट’को अहिले अनुमान गरिएको दूरी यसको सूर्यदेखि रहेको अहिलेको दुरी हो, जुन उक्त पिण्डले सौर्यमण्डलको कक्षमा घुम्दा बद्लिरहने छ ।

खगोलीय वैज्ञानिक डा. स्कट सेफर्डले यसअघि सौर्यमण्डलको ‘ड्वार्फ प्लानेट’ 'द गोब्लिन' पत्ता लगाउने टोलीको पनि नेतृत्व गरेका थिए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै