म अस्तित्व किन्न निक्लेको छु
आफैं अस्तित्वहीन भएको यो मुर्दा शहरमा,
भन्छन् एक्काइसौं शताब्दीको आधुनिक बजारमा
सबैथोक किनबेच हुन्छन्
केवल मूल्य सही हुनुपर्यो
यहाँ सपनाहरू खरिद-बिक्री गर्छन्
मलहरू,
सटरहरू,
फुटपाथहरू
कागजी बाघ र हात्तिहरूको चिडियाखाना खोल्ने सपना,
विदेशी भूमिमा स्वदेशी पहिचान बेच्ने सपना,
यस चिहानघारीमा आफ्नो लागि एउटा चिहान किन्ने सपना,
पल पल आफू बेचिएर अरु कोही हुने सपना,
मैले बुझें - सपनाको खेती लगाउन
आफ्नै अस्तित्वको घाँटी निमोठ्नु जरुरी रहेछ
मैले बुझिनँ - बूढी वेश्याको सौन्दर्यमोह,
विद्वानको (अ)ज्ञानको घमण्ड,
नयाँ पुस्ताको म्याद नाघिसकेको विचार,
मेरो अस्तित्वको रहस्य
कुनैदिन कहींकतै देखें भने
म जरुर किन्ने छु
आफ्नो लागि १०० ग्राम अस्तित्व