• २०८१ बैशाख १५ शनिबार

कपालविनाकी सुन्दर दुलही नवी  

kharibot

मलेसिया । निधारमा कलेजी टीका, ओठमा कलेजी लिपस्टिक, मुहारमा उज्यालो मुस्कान, हात र पाउमा सुन्दर मेहन्दी र कलेजी सारीमा सजिएकी सुन्दर दुलही । यस्तोमा नयाँ के छ त भन्ने तपाईं सोच्नुहोला । हरेक महिला दुलहीको शृंगार तथा वस्त्राभूषणमा सुन्दर देखिन्छन् । तर सबै हुँदाहुँदै पनि यदि दुलहीको शिरमा कपाल नै भएन भने ? 

यी दुलहीको कपालमा सुन्दर फूल सजाइएको छैन, कपाल बाटिएको पनि छैन, खुला कपालमा कुनै हेयरस्टाइल गरिएको छैन । किनकि यी दुलहीको शिरमा कपाल नै छैन । 

यी दुलहीको नाम वैष्णवी पूवेन्द्रन पिल्लाई हो । यिनका नजिकका आफन्त यिनलाई नवी भनेर बोलाउँछन् । इन्स्टाग्राममा पनि यिनको नाम इन्द्रन पिल्लाई छ । मूल वासस्थान तमिलनाडु भए पनि हाल उनको परिवार मलेशियामा रहँदै आएको छ । 

नवी क्यान्सरको बिरामी हुन् । उनले आफ्नो जीवनमा दुई पटक क्यान्सरलाई हराएकी छन् । एकपटक स्तन क्यान्सर र अर्कोपटक लिभर ब्याकबोन क्यान्सर भइसकेको छ उनलाई । उनले हालसालै केमोथेरापीको अन्तिम सेसन पूरा गरेकी छन् । त्यसैले उनको सबै कपाल झरेको छ । 

विश्वका सबै महिला विवाहको दिन सुन्दर देखिन चाहन्छन् । यसको लागि यथाशक्य प्रयास पनि गर्छन् । तर, जो क्यान्सरजस्तो भयानक रोगबाट पीडित छन्, तिनको लागि यो ठूलो समस्या र चुनौती हो । 

नवीको स्तन हटाइएको छ भने किमोथेरापीका कारण कपाल झर्नुका साथै शरीर जीर्ण देखिएको छ । तथापि, नवीले हार भने मानिनन् । उनले यस्तो तरिका अपनाइन् जसका कारण उनी अहिले सामाजिक सञ्जालमा त भाइरल छिन् नै, साथै एक उदाहरण पनि बन्न पुगेकी छन् ।

नवीले दुलहीको पहिरनमा सजिएर फोटोसुट गराइन् । उनले तस्वीर खिच्दा आफ्नो शिर ढाक्ने कोसिस नै गरिनन् । उनको शिर पूरै खुल्ला छ । उनको शिरमा केवल एक हाल देख्न सकिन्छ । उनले आफ्ना यी तस्वीर इन्स्टाग्राममा पोस्ट गरेर लेखेकी छन्, ‘जोकसैलाई पनि संघर्षको आधार थामिराख्न हौसला दिनेछ ।’

कपाललाई महिलाको शिरको ताज नै मानिन्छ । यस्तोमा यदि उनीहरुको शिरमा कपाल नै भएन भने ? नवीको पक्कै पनि तारिफ गर्नुपर्छ जसले आफ्नो जीवनमा यति ठूलो पीडा पाएर पनि त्यसलाई सहज रुपमा पचाउन सफल भइन् । भरतनाट्यम्मा पोख्त नवीका नृत्य, गीत, भ्रमण आदि धेरै रुचि छन् । नवीमा उनी इन्स्टाग्राममा शेयर गरिएका हरेक तस्वीरमा हँसिली देखिन्छिन् । मानौं समस्या भन्ने के हो उनलाई थाहै छैनन् । 

सन् २०१३ मा स्तन क्यान्सरको लक्षण देखिएको थियो भने यसको उपचारपछि सन् २०१८ मा पुनः लिभर तथा ब्याकबोनमा क्यान्सरको लक्षण देखियो । हालसम्म १६ पटक केमोथेरापीको सेसन लिएकी उनी डिप्रेसनमा परेकी थिइन् भने उनका मनमा विभिन्न नकारात्मक धारणा पनि नआएका होइनन् ।

उनलाई आफ्ना परिवार तथा साथीसंगी सबै आफूबाट टाढा भइरहेको जस्तो लाग्थ्यो । त्यसैले बुबाआमाले उनलाई कसैसँग क्यान्सर र डिप्रेसनको बारेमा कसैसँग कुरा गर्न निषेध गरेका थिए । तथापि, उनले इन्स्टाग्राममा क्यान्सरसम्बन्धी पोस्ट गर्न लागिन् । उनलाई फलोअरहरुले सकारात्मक प्रतिक्रिया दिन थाले जसले उनको हौसला अझै बढ्दै गयो । 

यस्तैमा एक दिन आफ्नो जीवनमा विवाह अब सम्भव छ वा छैन, तथापि, दुलहीको पहिरनमा फोटोसुट गराउने इच्छा उनमा जाग्यो । उनले फोटोग्राफर र मेकअप आर्टिस्टसँग सल्लाह लिई फोटोसुट गराइन् । हाल उनको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल छ । 

आफ्नो कथा धेरै महिलासामु पुगोस् भन्ने उनको इच्छा थियो र भयो पनि त्यस्तै । 

फोटोसुटपछि धेरै महिलाको मेसेज आयो जो क्यान्सरबाट ग्रस्त थिए । उनीहरुले यसबाट आफूलाई पनि निकै प्रेरणा मिलेको र जिउने आशा जागेको बताएका थिए । 

उनले आफ्नो लभ रिलेसनको बारेमा उल्लेख गर्दै भनिन्, ‘हाल म सिंगल छु, त्यसो त म कसैलाई प्रेम गर्छु । तर अहिले ब्रेकअप भइसकेको छ । राम्रो कुरा के भने हाम्रो ब्रेकअपको कारण क्यान्सर होइन ।’ उनले भनिन्, ‘म अझै पनि उनलाई माया गर्छु । मलाई अझै पनि प्रेम पाउने अभिलाषा र आशा छ ।’ 

बीबीसीबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै