गैंडाको छाला  [रुडयार्ड किपलिंग]

खरीबोट

रुडयार्ड किपलिंग (१८६५-१९३६) एक विश्वप्रसिद्ध ब्रिटिश लेखक एवम् कवि थिए । भारतमा ब्रिटिश शासन हुँदा बम्बईमा जन्मिएका उनलाई विशेषगरी उनका पुस्तकहरू ‘द जंगल बुक’, ‘किम’ र ‘द म्यान हु वुद् बी किंग’ले चिनिन्छ । उनलाई लघुकथाको कलामा एक प्रमुख अन्वेषक मानिन्छ भने बालसाहित्यमा उनको स्थान निकै माथि रहेको छ । १९ औं सताब्दीको अन्त्यतिर र २० औं सताब्दीमा किपलिंग अंग्रेजी गद्य र पद्य साहित्य दुवैमा निकै लोकप्रिय रहेका थिए । उनकोबारेमा विश्वप्रसिद्ध अमेरिकी लेखक हेनरी जेम्सले भनेका छन्, ‘मैले आफ्नो जीवनमा थाहा पाएका व्यतिहरूमा किपलिंगले मलाई व्यक्तिगत रुपमा आफ्नो प्रतिभाले निकै प्रभावित गरेका छन्’ । १९०७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो र उनी यो पुरस्कार पाउने अंग्रेजी भाषाको पहिलो लेखक समेत हुन् । उनी साहित्यतर्फको नोबेल पुरस्कारको इतिहासमा अहिलेसम्मकै कम, ४१ वर्षको उमेरमा पुरस्कार प्राप्त गर्ने लेखक पनि हुन् । ब्रिटिश साम्राज्यवादलाई पक्षपोषण गर्ने उनका राजनीतिक र सामाजिक चित्रणलाई लिएर पछि २० औं सताब्दीका कतिपय लेखकहरूले उनलाई विवादमा समेत ताने । चर्चित लेखक जर्ज ओरवेलले त उनलाई ‘ब्रिटिश साम्राज्यवादको पैगम्बर’को दर्जा दिए । प्रस्तुत छ विश्वप्रशिद्ध लेखक रुडयार्ड किपलिंगको अंग्रेजी बालकथा ‘हाउ द राइनोसरस गट हिज स्किन’ लाई अनुप जोशीले गरेको नेपाली अनुवाद ‘गैंडाको छाला’:


धेरै पहिलेको कुरा हो, लाल सागरको एउटा निर्जन टापुमा एकजना फारसी बस्थ्यो जसको ह्याटबाट सूर्यको चम्किलो प्रकाश चारैतिर प्रतिविम्बित हुन्थ्यो । र त्यो फारसीसँग सम्पतिको नाममा एउटा ह्याट, एउटा चक्कु र आदिम खालको एउटा खाना पकाउने स्टोभबाहेक अरु केही पनि थिएन ।

एकदिन उसले केही पीठो, पानी, किशमिश, चिनी र अरु केही चीजबीजहरू जम्मा गर्यो र आफ्नो लागि एउटा केक बनायो जुन २ फिट गोलो र ३ फिट बाक्लो थियो । त्यो वास्तवमै जादूमय केक थियो र उसले त्यसलाई स्टोभमा पकाउन राख्यो र त्यो पाकेर खैरो-खैरो रङ्गको नभएसम्म र मीठो वास्ना नआएसम्म पकाईराख्यो ।

तर जब उसले केक पाकेर खानै आँटेको थियो, समुद्रको किनारबाट एउटा गैंडा ऊ भएतिर आयो । त्यो गैंडाको नाकमा एउटा सिंग थियो र दुईटा सुँगुरका जस्ता आँखा थिए । त्योबेला गैंडाको शरीरमा छाला निकै कसिलो तरिकाले टाँसिएको हुन्थ्यो । कहींकतै चाउरी परेको हुँदैनथ्यो । र उसको छालामा तीनवटा टाँकहरू हुन्थे जसबाट उसले आफ्नो छाला खोल्न पनि सक्थ्यो । त्यसबेला पनि गैंडालाई सभ्य व्यावहार गर्न आउँदैनथ्यो र अहिले पनि आउँदैन । सायद उनीहरूले कहिले पनि सभ्य बन्न जान्ने छैनन् होला ।

त्यसबेला पनि गैंडालाई सभ्य व्यावहार गर्न आउँदैनथ्यो र अहिले पनि आउँदैन । सायद उनीहरूले कहिले पनि सभ्य बन्न जान्ने छैनन् होला ।

गैडाले एकपल्ट गर्जेर के कराइदिएको थियो, फारसी अत्तालिएर आफूले बनाएको केक त्यहीं छाडेर ह्याट मात्रै लिएर ताडको रुखमा चढ्यो र टुप्पोमा गएर बस्यो । उसको ह्याटबाट सधैंजसो चम्किला सूर्यका प्रकाशहरू परावर्तीत भइरहेका थिए ।

गैंडाले स्टोभलाई आफ्नो नाकले घोचेर भुइँमा लडाइदियो र केक पनि भुइँमा खस्यो । त्यसपछि उसले त्यसलाई आफ्नो सिंगमा बेर्यो र सबै केक खायो । खाएर अघाइसकेपछि ऊ आफ्नो पुच्छर हल्लाउँदै त्यहाँबाट गयो ।

त्यसपछि फारसी रुखबाट तल झर्यो र भुइँमा लडेको स्टोभलाई जमिनमा ठड्यायो । र मनमनै भन्यो, ‘जसले यो फारसीले बनाएको केक चोरेर खायो, उसले ठूलो गल्ति गर्यो’

र आखिर उसले आफ्नो बदला लिएरै छाड्यो ।


ठीक पाँच हप्तापछि लाल सागरमा एकदमै तातो हावा चल्न थाल्यो । र सबैजना गर्मीले गर्दा आफूले लगाएका लुगाहरू खोल्न थाले । फारसीले पनि आफ्नो ह्याट खोल्यो । गैंडाले भने गर्मीले उकुसमुकुस भएर टाँक खोलेर आफ्नो सबै छाला निकाल्यो र काँधमा बोकेर पानीमा डुबुल्की मार्नका लागि किनारतर्फ अघि बढ्यो । बाटोमा भेट्दा उसले फारसीलाई केही पनि भनेन किनभने उसले फारसीको सबै केक खाइसकेको थियो र आखिर उसँग केही सभ्यता पनि त थिएन । ऊ सिधै पानीमा गएर डुबुल्की मार्यो र नाकबाट पानीका फोहोरा निकाल्न थाल्यो । उसले आफ्नो छाला भने किनारमै छाडेर गएको थियो ।

फारसी पनि किनारमा आयो र उसले त्यहाँ गैंडाको छाला देख्यो । त्यसपछि ऊ मुसुक्क हाँस्यो र उसको अनुहारमा प्रशन्नता छायो । खुसीले ऊ त्यो छालामाथि तीन फन्को लाएर नाच्यो र आफ्नो हात दल्यो ।

त्यसपछि ऊ आफ्नो शिविरमा गयो र केकबाहेक अरु केही नखाने फारसीले आफ्नो ह्याटभरि केकका टुक्राटाक्री भरेर ल्यायो । उसले गैंडाको त्यो छाला लियो र त्यसभित्र बासी, र पुराना केकका टुक्राहरू र चिलाउने किशमिशहरू कोच्यो । र ऊ ताडको रुखको टुप्पोमा चढेर बस्यो र गैंडा कहिले पानीबाट बाहिर आउला र आफ्नो छाला लगाउला भनेर पर्खेर बस्यो ।

उसले गैंडाको त्यो छाला लियो र त्यसभित्र बासी, र पुराना केकका टुक्राहरू र चिलाउने किशमिशहरू कोच्यो ।

केहीबेरमा गैंडा पानीबाहिर निस्क्यो र आफ्नो छाला लगायो । उसले तीनवटा टाँक लगाएर त्यसलाई कस्यो । तर उसलाई बेस्मारी चिलाउन थाल्यो । र उसले आफ्नो शरीर कन्याउन थाल्यो । असह्य भएपछि ऊ भुइँमा लडिबुडी खेल्न थाल्यो तर उसलाई झन्झन् धेरै चिलाउन थाल्यो । र ऊ ताडको रुखमा गएर आफ्नो शरीरलाई जताततै घर्षण गर्न थाल्यो । उसको छाला पनि निकै बाक्लो बाक्लो हुन थाल्यो । छटपटीएको गैंडाले यतिविघ्न आफ्नो शरीरलाई रुखमा दल्यो कि उसको छालाको टाँक नै खस्यो । उसलाई निकै रिस उठिसकेको थियो तर अझै पनि उसलाई चिलाउन कम भएन । उसको छालाभित्रको केकका टुक्राहरू अझै पनि भित्र नै थिए र उसलाई बेस्सरी चिलाइरहेको थियो ।

त्यसपछि रिसले चुर भएको गैंडा जीउ कन्याउँदै आफ्नो घरतिर लाग्यो । र त्यही दिनदेखि केकका टुक्रा भित्र भएकाले सबै गैंडाहरूको छाला बाक्ला चाउरी परेकाजस्ता हुन थाले र गैंडाहरू निकै रिसाहा हुन थाले ।

 

सम्बन्धित समाचार

मैले प्रतिस्पर्धा वा व्यापारका लागि कथा लेख्ने होइन : एल. बी. क्षेत्री

चितवनमा बसेर साहित्य लेखन तथा साहित्यिक गतिविधिमा सक्रिय रहेका लेखक एल.बी. क्षेत्रीको कथासंग्रह ‘व्रतभङ्ग’को विमोचन वैशाख २१ गते एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदैछ । पुस्तकलाई बीएन प्रकाशनले बजारमा ल्याउन

कथानक लेखन शैली प्रयोग गरेर कसरी कथा लेख्ने ? (नमुना कथा सहित)

संयोजित घटनाहरूको विवरण प्रस्तुत गर्न लामो लेखाइको हिस्साको लागि प्रयोग गरिने कथानक शैली नै कथानक लेखन शैली अर्थात् न्यारेटिभ राइटिंग हो । जब लेखकले कथानक शैलीमा लेख्छ, तब त्यहाँ तिनीहरूले

अनुप जोशीको कविता : फेरि एक्लै

यो सहरको विशाल अनन्तता बीचमा कतै हराएको छ यी अग्ला अग्ला घरहरूबाट आईरहेको छ नीर्जीव गन्ध अब म तिमीलाई सम्झदैछु कि लेख्दैछु फेरि अर्को कविता किन सुनसान लाग्दैछन् भीडहरु ? किन कोही जीव भेटिदैनन् वसन्तपुर, असन, रत्नपार्कहरूमा ? किन पार

दिवंगत महिलाको रहस्यमयी कथा (गाई दी मोपासां)

सन् १८५० मा जन्मेका सुप्रसिद्ध फान्सेली लेखक गाई दी मोपासांलाई विश्व साहित्यमा १९औं शताब्दीको एक महान् कथाकारको रुपमा लिने गरिन्छ । कम उमेरमै 'सिफलिस' रोगबाट संक्रमित बनेका उनी यही रोगका


z