• २०८१ बैशाख १८ मंगलबार

नासाले चन्द्रमाको सतह वरीपरि पानीका अणुहरू फेला पार्यो

kharibot

नासाका वैज्ञानिकहरूले चन्द्रमाको सतह वरिपरि पानीका अणुहरू रहेको पत्ता लगाएका छन् । नासाको लुनार रिकनेसेन्स अर्बिटर (एलआरओ)ले सूर्यतर्फ फर्किएको चन्द्रमाको भागमा पानीका अणुहरू फेला पारेको हो ।

एलआरओमा जडान गरिएको लिमान अल्फा म्यापिंग प्रोजेक्ट उपकरणले चन्द्रमाको सतहमा अस्थायी रुपमा टाँसिएका पानीका अणुका पातला तहहरूको मापन गर्दै पानीका अणुहरूले चन्द्रमाको सतह र त्यहाँ रहेका अन्य पदार्थहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने अध्ययन गरेको थियो ।

केही वर्ष अघिसम्म चन्द्रमा सुख्खा अवस्थामा नै रहेको र त्यहाँ पानी केवल बरफका साना ढिक्काका रुपमा चन्द्रमाका ध्रुव नजिकैका क्रेटरहरूमा रहने गरेको विश्वास गरिन्थ्यो । तर पछिल्लोसमयमा वैज्ञानिकहरूले सानो संख्यामा पानीका अणु चन्द्रमाको माटोमा रहेको पहिचान गरेका छन् । वैज्ञानिकहरूका अनुसार चन्द्रमाको उच्च भागमा पानीका अणुहरूको संख्या बढ्दै जाने गरेको पाइएको छ ।

चन्द्रमामा पानीको स्रोत सौर्यवायुमा रहेका हाइड्रोजन आयन भएको वैज्ञानिकहरूको बुझाइ रहेको छ । त्यसैले पृथ्वीले चन्द्रमालाई सौर्य वायुबाट छेक्दा पानीको स्रोत बन्द हुने र पानीको मात्रा घट्ने विश्वास गरिदै आइएको थियो ।

तर नासाको उपकरणले पत्ता लगाएअनुसार चन्द्रमामा समयसँगै पानी जम्मा हुँदै जाने गर्दछ र पृथ्वीले चन्द्रमालाई सूर्यबाट छेक्दा पनि पानीको मात्रा घट्दैन ।

त्यसैगरी चन्द्रमामा पानीको अस्तित्वबारे नयाँ कुरा पत्ता लाग्दै जाँदा वैज्ञानिकहरूले त्यहाँको जल चक्रबारे अझ बढी जान्ने छन् । वैज्ञानिकहरूका अनुसार चन्द्रमामा उपलब्ध हुने पानीलाई भविष्यमा चन्द्रमाका लागि गरिने मिसनहरूमा उपयोग गर्न सकिनेछ ।

चन्द्रमाको पानीलाई अन्तरिक्ष यानको इन्धन र विकिरणबाट जोगिनका लागि प्रयोग गर्न सकिनेछ । जसले गर्दा यी वस्तुहरूलाई पृथ्वीबाट लानु नपर्दा चन्द्रमाका मिसनहरू कम खर्चिलो बन्दै जानेछन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै