• २०८१ बैशाख १४ शुक्रबार

नेपालमा एशिया कप ह्विलचियर क्रिकेट हुने

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए । 

प्रतियोगिता आगामी अप्रिलको अन्तिम सातामा हुने शेर्पाले बताए । चार दिनसम्म चल्ने सो प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । “खेल मैदानको समस्याका कारण मिति तय गर्न नसकिएको हो”, अध्यक्ष शेर्पाले भने, “खेल मैदानका लागि सम्बन्धित पक्षसँग कुरा गरिरहेका छौँ ।” टि–२० फरम्याटमा हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तान भिड्ने छन् । 

राउन्ड रोविन लिगका आधारमा हुने सो प्रतियोगितामा जम्मा सात खेल हुनेछन् । शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । अध्यक्ष शेर्पाले ह्विलचियर क्रिकेट एशिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको बताए । 

सङ्घकै आयोजनामा गत वर्ष त्रिवि क्रिकेट मैदानमा नेपाल, भारत र बङ्गलादेश सम्मिलित ह्विलचियर क्रिकेटको त्रिकोणात्मक श्रृङ्खला भएको थियो । उपाधि नेपालले जितेको थियो । 

पत्रकार सम्मेलनमा ‘इन्टरनेशनल काउन्सिल फर ह्विलचियर क्रिकेटका अध्यक्ष पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति रहेको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै