• २०८१ बैशाख १६ आइतबार

एचबीओले 'गेम अफ थ्रोन्स: द लास्ट वाच' डकुमेन्ट्री प्रशारण गर्ने

kharibot

काठमाडौं । अप्रिल १४ बाट एचबीओबाट प्रशारण हुने तय भएको  टिभी सिरिज 'गेम अफ थ्रोन्स'को अन्तिम तथा आठौँ सिजन प्रशारण भएको एक हप्तापछि मे २६ मा एचबीओले 'गेम अफ थ्रोन्स: द लास्ट वाच' नामक डकुमेन्ट्री प्रशारण गर्ने भएको छ ।

फिल्मनिर्माता जियनी फिन्लेले निर्देशन गरेको यस डकुमेन्ट्री २ घण्टा समयावधिको हुने जनाइएको छ । डकुमेन्ट्रीले 'गेम अफ थ्रोन्स' को अन्तिम सिजन निर्माण गर्दाका गतिविधिहरूलाई प्रस्तुत गर्नेछ । झन्डै एक वर्ष लामो समय लगाएर छायांकन हुँदा फिन्लेले आफूले देखे भोगेका अनुभवहरूलाई डकुमेन्ट्रीमा समेटेको बताइएको छ ।

वेस्टेरोसको काल्पनिक संसारलाई टेलिभिजनमा उतार्दाका चुनौती र खुसीलाई गहनरुपमा डकुमेन्ट्रीले चित्रित गर्ने एचबीओले जनाएको छ ।

सिरिजको आधिकारिक भाग नभए पनि 'गेम अफ थ्रोन्स: द लास्ट वाच'ले फ्यानहरूलाई थप दुई घण्टा सिरिजमा रमाउने मौका दिने भएको छ । झन् यसले सिरिज निर्माणका विभिन्न पाटाहरू र रहस्यहरूलाई उजागर गर्ने भएकाले फ्यानहरूका लागि विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । डकुमेन्ट्रीले कलाकारहरू र निर्माण टीमका अनुभव र उनीहरूले सेटमा बिताएका पलहरूलाई कैद गरेको बताइएको छ ।

छ वटा एपिसोड रहने सिरिजको अन्तिम सिजनका एपिसोडहरूको समय अवधि भने ५४ मिनेट देखि १ घण्टा २२ मिनेटसम्म रहेको छ । पहिलो दुई एपिसोडको अवधि १ घण्टा भन्दा कमको हुनेछ भने अन्य एपिसोडहरू १ घण्टा २० मिनेटको हारहारीका हुनेछन् । पूरै सिरिजको अन्तिम एपिसोड भने मे १९ मा प्रसारण हुने छ ।

एचबीओले गेम अफ थ्रोन्सको आठौं सिजनका लागि २०१८ डिसेम्बरदेखि नै टिजरहरू सार्वजनिक भएको थियो भने यही वर्षको मार्च ५ मा आधिकारिक ट्रेलर सार्वजनिक भएको थियो ।

ट्रेलरमा सिरिजमा अहिलेसम्म जीवित रहेका सबै प्रमुख पात्रहरू जोन स्नो, डेनेरिस टार्गरियन, सर्सी ल्यानिस्टर, टाइरन ल्यानिस्टर, आर्या स्टार्क, सान्सा स्टार्क, जेमी ल्यानिस्टर लगायत देखिएका थिए ।

सातौँ सिजनसम्म विभिन्न सबप्लटहरूमा बाँडिएका पात्रहरूको यस अन्तिम सिजनमा एकैपल्ट टक्कर हुने दर्शकहरूले अपेक्षा गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै