• २०८१ बैशाख १८ मंगलबार

किबी खेतीतर्फ कृषक आकर्षित

kharibot

फिदिम /  पाँचथरको याङवरक गाउँपालिका–५ नागीका कृषक खड्गबहादुर लक्सम वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बिक्री गर्छन  । उनको घर छेउमै सडक पुगेको छ । झापाको विर्तामोडका व्यापारी गाडी लिएर किबी खरीद गर्न उनको घरमै आइपुग्छन् ।

जम्मा एक पाटो बारीमा किबीको खेती गरेका लक्समले भने , “वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बेच्दै आएको छु ।” राम्रो मूल्य प्राप्त हुने किबीको खेती गर्न साह्रै सहज छ । “एक पाटो बारीमा खेती लगाएको छु । शुरुमा चाँङ बनाउन अलि गाह्रो हुने हो । त्यसपछि कुनै समस्या छैन” लक्समले भने ।

वरीपरी अलैँचीको खेती गरेका लक्समले एक पाटो बारीबाटै झन्डै एक लाख रुपैयाँ आम्दानी गर्नु ठूलो कुरा भएको बताए  । “मूल्य राम्रो नहुँदा अलैँचीमा धेरै फाइदा छैन” लक्समले भने , “किबीमा राम्रो फाइदा छ । यसको खेती अझै बढाउने सोचेको छु ।” मौसमी फलफूल भए पनि किबी लटरम्मै फल्ने गर्दछ । त्यसैले यहाँका कृषकहरुको आकर्षण यसप्रति दिनानुदिन बढ्दो छ । अलैँची र किबीको एकै ठाँउ खेती लगाएका पाँचथरको फिदिम नगरपालिका–१२ जरिङ्गेका सन्तोष गुरुङ किबी खेती गर्न सहज रहेको र प्रशस्तै आम्दानी मिल्ने गरेको बताउछन् ।

“सिमित खेती गरेपनि राम्रो आम्दानी लिइरहेको छु । विस्तारै किबीको खेती विस्तार गर्नुपर्ला” गुरुङले भने , “धेरै मेहिनत गर्नु नपर्ने, राम्रो आम्दानी मिल्ने भएकाले हाम्रो क्षेत्रका धेरै कृषक किबीतर्फ आकर्षित छन् ।” कृषकहरुका अनुसार व्यापारीले किबीको दानाको आकारका आधारमा मूल्य दिने गरेका छन् । याङवरकका कृषक लक्समका अनुसार प्रतिकिलो रु १०० देखि ३०० सम्ममा किबी घरैबाट बिक्री हुने गरेको छ ।

“मैले यस वर्ष सरदरमा प्रतिकिलो रु १७५ ले किबी बिक्री गरेँ” उनले भन्नुभया,े “मूल्यसँग सन्तुष्ट नै हुनु परेको छ ।” मूल्य कम भए पनि खेती सहज हुँदा कृषकहरु किबी खेतीतर्फ निरन्तर आकर्षित छन् । पाँचथरमा किबीको व्यावसायिक खेती शुरुआत भएको लामो समय भएको छैन । कृषकहरुले परीक्षणका रुपमा किबी खेती थालेका थिए । तर सन्तोषजनक मूल्य पाएपछि उनीहरु हर्षित छन् । किबीको मूल्य विगतमा प्रतिकिलो रु ४०० सम्म समेत पुगेको थियो । तर उत्पादन बढेसँगै मूल्य घट्दै गयो । यद्यपि हालको मूल्यमा समेत कृषकहरु सन्तुष्ट देखिएका छन् । राँके बजारका व्यापारी चन्द्रवीर तामाङ प्रतिकिलो रु २०० हाराहारीमा आफूले किबीको बिक्री गर्ने गरेको बताउछन् ।

कृषि प्राविधिकका अनुसार समुद्र सतहदेखि एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किबी खेती गर्न उपयुक्त मानिन्छ । पाँचथरको किबी खेती इलामबाट बढी प्रभावित छ । इलामका कृषकले किबी खेतीलाई व्यावसायिक बनाएसँगै सीमावर्ती पाँचथरमा समेत यसको खेती ह्वात्तै बढेको हो । पाँचथरको फिदिम नगरपालिकासहित याङवरक, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ गाँउपालिकाका अधिकांश वडामा किबी खेती हुने गरेको छ । किबी खेती हुने क्षेत्रफलबारे यकिन सरकारी तथ्याङ्क भने छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै