• २०८१ बैशाख १५ शनिबार

काठमाडौँ महानगरले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै  

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी  वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । 

विभागले आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार अभियान सकेपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ । भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको उनले बताए । अभिमुखीकरण कार्यक्रम सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि आयोजना गरिएको थियो ।

देशको भार थाम्नुपर्ने विद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्ने धारणा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले राखे ।

काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ वटा विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ जना विद्यार्थी अध्ययन छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ विद्यार्थी संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

शिक्षा विभागका अनुसार महानगर क्षेत्रभित्र पाँच वर्षमाथि १० वर्षसम्म उमेर समूहका करीब तीन प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सहरमा छोटो र लामो समयका लागि बसोबास गर्न आउने तथा श्रममा आबद्ध अभिभावकका कारण विद्यालय भर्ना हुन बाँकी बालबालिकाको यकिन तथ्याङ्क प्राप्त हुन कठिन भएको विभागको भनाइ छ । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔँ’ नारासहित भर्ना अभियान शुरु गर्न लागिएको हो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै