• २०८१ बैशाख १४ शुक्रबार

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

kharibot

सुर्खेत । कर्णाली प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८२ (२) बमोजिम हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । 

हिउँदे अधिवेशनका १३ बैठकले विभिन्न पाँच विधेयक पारित गरेको छ । सभामुख राजबहादुर शाहीले हिउँदे अधिवेशनले गरेको काम कारवाही सभालाई सङ्क्षिप्त जानकारी गराएका थिए । 

यस अवधिमा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुशासन प्रत्याभूति गर्न बनेको विधेयक, प्रदेश प्रसारण विधेयक, सहकारी विधेयक र प्रदेश लोक सेवा आयोग विधेयक प्रदेशसभाले पारित गरिसकेको छ । 

सभामुखले अधिवेशन अन्त्यसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नुअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक गुलाबजङ्ग शाह र प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले हिउँदे अधिवेशनको समीक्षा गरेका थिए । प्रदेशसभाको बाह्रौँ र तेह्रौँ गरी आज दुई पटक बैठक बसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै