• २०८१ जेठ २ बुधबार

सुनकोशी– मरिन डाइभर्सन आयोजनामा पनि टिबिएम प्रयोग गरिने

kharibot

फाइल तस्विर । 

काठमाडौँ । आर्थिक वर्ष २०६८÷६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको सङ्ज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि ।

संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै पापड पेल्नु परेको थियो । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखियो । कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सो सुरुङमार्ग निर्माण सम्पन्न भएको घोषणा गरेका छन ।

‘ड्रिलिङ एण्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । तोकिएको समयअगावै अर्थात् एक वर्ष पहिल्यै सुरुङ निर्माण सकिएपछि नेपालमा पनि अब मेशिनको युग, प्रविधिको युग शुरु भएको चर्चा गर्न थालिएको छ ।

निर्माण प्रक्रिया शुरु गर्ने चरणमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनामा टिबिएम प्रयोग गरिने भएको छ । आयोजनाका निर्देशक सुशील आचार्यका अनुसार निर्माणमा जाने तयारीमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनामा टिबिएम प्रयोग गरेर १३ दशमलव १०० किलोमिटर सुरुङ निर्माण गरिने भएको छ ।

नदी स्थानान्तरण गरेर सिँचाइ सुविधा तथा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले अगाडि बढाएका आयोजनामा अब क्रमशः टिबिएमको प्रयोग गरिने भएको छ । निजी क्षेत्रले पनि त्यसमा चासो व्यक्त गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले समेत केही आयोजनामा टिबिएम प्रयोग गर्ने तयारी गर्दै प्रवद्र्धकलाई सहजीकरण गरेको छ । लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गर्ने तयारीमा सरकार जुटेको छ ।

यस्तै वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति तथा अन्य प्राविधिक काम अन्तिम चरणमा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए । सुनकोशी र गोलन्जोर गाउँपालिकाकाको सिमाना नजिकै रहेको खुर्कोटबाट बाँध बाधी १३ दशमलव १०० किलोमिटर लामो सुरुङमार्फत् ६७ मिटर क्युसेक पानी मरिन खोलामा खसालिनेछ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा निर्माण हुने विद्युत् गृहबाट ४२ दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने र बारा, पर्सा, रौतहटका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइने भएको छ ।

भौगोलिक रुपमा समेत विष्फोटन गराएर सुरुङ खन्न नसकिने अवस्था भएकाले टिबिएमको नै प्रयोग गर्नु उचित हुने निष्कर्षमा आयोजना पुगेको छ । कूल पाँच दशमलव पाँच मिटर ब्यासको सुरुङ निर्माण हुने भएकाले सोहीअनुसारको टिबिएम डिजाइन गर्नुपर्ने निष्कर्षमा आयोजना पुगेको छ । तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेको छ ।

विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाइने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ । हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकतासमेत निर्माण गर्ने भएकाले आयोजना रणनीतिक महत्वको रहेको सरकारको बुझाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने बताएका छन ।

सुनकोशी मरिन डाइभर्सन आयोजना तयारी अवस्थामा रहेकाले सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री पुनको भनाइ छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । सो आयोजनाको अनुमानित कूल लागत रु ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरक फरक लागत रहनेछ । विद्युत् गृह, सुरुङ निर्माणलगायतमा रु ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ रु ३२ अर्ब लागत रहने अनुमान गरिएको छ । सरकारले चालू आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ ।

आयोजनाका प्रमुख आचार्यले उक्त परियोजनाबाट २ नम्बर प्रदेशलाई खानेपानीको लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको बताए । आयोजनालाई राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउने तयारीमा सरकार रहेको छ ।   वाग्मतीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिंँचाइमा समस्या देखिँदै आएको छ ।

वाग्मती सिँचाइको क्षमता एक लाख २२ हजार क्युसेक रहे पनि हिउँदमा पानीको मात्रा असाध्यै कम हुने रहेको छ । सुनकोशीबाट मरिन उपत्यकामा झारिने पानीमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै