• २०८१ बैशाख १५ शनिबार

राप्रपाको धर्मनिरपेक्षता लेखेको ब्यानर जलाउने कार्यक्रममा प्रहरी हस्तक्षेप

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत आज विभिन्न जिल्लामा सो दलका नेता तथा कार्यकर्ताले धर्मनिरपेक्षता लेखेका ब्यानर तथा पोस्टर जलाएका छन् ।

काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको राप्रपाले जनाएको छ ।

प्रहरीले राप्रपा केन्द्रीय सदस्य युवती कार्की,नानु नगरकोटी  भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने,  विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, कोषाध्यक्ष महासचिव गुणराज राजभण्डारीलगायतलाई १४ जना पक्राउ गरेको पार्टी प्रभार विभाग प्रमुख मोहन श्रेष्ठले खरीबोटलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार प्रहरी हस्तक्षेपका बाबजुद अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाएका छन् ।

विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो । 

राप्रपाका अनुअसार काठमाडौँसहित झापा, कञ्चनपुर, संखुवासभा, मकवानपुर, म्याग्दी, रुपन्देहीलगायतका जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम सम्पन्न भइसकेको छ । 

घोषित कार्यक्रमअनुसार आज सबै जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम छ । 

रुपन्देहीमा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने क्रममा आफ्ना कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको राप्रपाले जनाएको छ । प्रहरी हस्तक्षेपका कारण जिल्ला अध्यक्ष सागरप्रताप राणासहित केही घाइते भएको जनाइएको छ ।

मकवानपुरको हेटौंडामा कार्यक्रमका क्रममा प्रहरीले धरपकड गरेको छ । यस क्रममा आफ्ना कार्यकर्ता कृष्ण बिडारी, अर्जुन खुलाल सामान्य घाइते भएको राप्रपाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै