• २०८१ बैशाख १८ मंगलबार

प्रधानमन्त्री ओलीद्वारा उजीरसिंह थापाको शालिक अनावरण

kharibot

बुटवल । झण्डै दुई सय वर्षअघि नेपालले अङ्ग्रेजी फौजलाई वीरतापूर्वक हराएको बुटवलको जितगढी किल्लामा आज राष्ट्रिय झण्डा फहराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली वीरताको ऐतिहासिक क्षेत्र जितगढी पुगेर राष्ट्रिय झण्डोत्तलन गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले अङ्ग्रेज फौजसँग वीरता र कुशलतापूर्वक लडेर विजयी हासिल गर्ने नेपाली सेनाका कमाण्डर कर्णेल उजीरसिंह थापाको पूर्णकदको शालिक अनावरण गरे । प्रधानमन्त्री ओलीले देश समृद्धिको दिशातर्फ उन्मुख भएको र सरकार देशमा विकासका गति अघि बढाउन शान्ति, सुव्यवस्था र सुशासन कायम गर्ने कार्यमा केन्द्रित भएको बताए ।

प्रधानमन्त्री ओलीले देशमा सभ्य समाजको नागरिकसँगै विकास र समृद्ध देश सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै भने, “देशको पहिचान स्थापित गर्नु छ त्यसैले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेका हौँ ।”

प्रधानमन्त्री ओलीले केहीकेही नव क्रान्तिकारी भन्दै र जनतालाई राष्ट्रिय एकताको भ्रम सिर्जना गरेर देशलाई बर्बाद बनाउने उद्देश्यमा लागेको भन्दै विकासका लागि अब अलमलिएर समय खेर फाल्ने समय नरहेकाले मुलुकमा सुशासन कायम गरेर देश विकास गरिने बताए । उनले नचाहिने कुरामा लाग्ने संविधानविरोधी बाटोमा नलाग्न र त्यस्ता तत्वका बहकाउमा नलाग्नसमेत सचेत गराए ।

उनले जनताको बलिदानीबाट जनताको शासन व्यवस्था स्थापित भएको र संविधान अनुसारका राज्यमा संरचनासमेत स्थापित भएको बताए । 

प्रधानमन्त्री ओलीले सरकारले यस अवधिमा संविधान कार्यान्वयन र विकासका गतिलाई सँगसँगै अगाडि बढाएर महत्वपूर्ण उपलब्धि भएको बताए ।

संविधानबमोजिम राज्यका तीनै तहका सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको बताउँदै उनले सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले समेत विकासमा महत्वपूर्ण अगुवाई गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “सरकार राष्ट्र विकास र सुशासनमा लागेको छ तर केही भने सरकारले गरेका कामलाई जनतामा भ्रम सिर्जना गरेर उपद्रो गरेर क्रान्तिकारी ठान्दैछन् ।”

उनले केही तत्वहरु ज्योतिष उचालेर जनतामा भ्रम सिर्जना गर्नमा समेत उद्दत रहेको उल्लेख गर्दै ज्योतिषमा भन्दा जनताका माझमा गएर विकासका काममा सघाउन सुझाव दिए ।

प्रधानमन्त्री ओलीले नेपाल बहादुर र विद्वानको उर्वर भूमि भएको उल्लेख गर्दै नेपाली भूमिमा आयुर्वेद, विश्वामित्र, वशिष्ठजस्ता विद्वानले ध्यान गरेर ज्ञानको प्रचारप्रसार गरेको स्मरण गरे । उनले उजीरसिंह एउटा व्यक्ति नभएर देशका लागि लडेका महान योद्धा भएको बताउँदै भने, “देशका लागि लडेका थिए, त्यसैले सम्मान योग्य भएका छन् ।” 

प्रधानमन्त्री ओलीले जितगढीमा उजीरसिंहको युद्ध कौशल र वीरताका योद्धा र देशलाई स्वतन्त्र रक्षाका लागि योगदान गर्नेको सम्मानमा महत्वपूर्ण काम भएकोमा सराहना व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकामा रहेको यो ऐतिहाशिक सम्पदा जितगढी नेपाली सेनाले अङ्ग्रेज सेनालाई कुशलतापूर्वक बहादुरका साथ लडेर पराजित गरेको खुशीयालीमा विजय उत्सव मनाइएको हो । दुई सय चार वर्षअघि फागुन ७ गतेका दिन कर्णेल उजीरसिंहको  नेतृत्वमा रहेको नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको सम्झना गर्दै विजय उत्सव मनाउन थालिएको हो । 

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले कहिलै स्वतन्त्रता दिवश मनाउनु नपरेको महत्वपूर्ण नेपाली इतिहासप्रति गर्व गर्न लायक रहेको भन्दै भने, “नेपाल कहिलै कसैको गुलाम बन्नुपरेन, हरेक लडाइँ जितेको छ यसैले जितगढी पनि हाम्रो गौरवशाली ऐतिहासिक अध्याय हो ।” 

उनले सरकारले अब यस्ता वीरता सम्झाउने ठाँउ, कतिपय भग्नावशेष अवस्थामा रहेकाको गौरवपूर्ण बनाउने र संरक्षण गर्ने काम अघि बढेको जानकारी दिए ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यस्ता ऐतिहासिक क्षेत्रको सम्पदा क्षेत्रको रुपमा घोषणा गरेर संरक्षण र विकास गर्नुपर्नेमा जोड दिए । उनले जितगढी क्षेत्रको बृहत् गुरुयोजना बनाएर विकास अघि बढाउन प्रदेश सरकार लागेको बताउँदै जितगढी क्षेत्रको बस्तीलाई उचित व्यवस्थापनको खाँचो रहेको औँल्याए ।

पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले देशको स्वतन्त्रताको संरक्षण गरेको गौरवपूर्ण इतिहास बोकेको जितगढीको संरक्षण र विकासका लागि नयाँ उचाइका साथ विकास गरिने प्रतिबद्धता व्यक्त गरे । जितगढीको गौरवपूर्ण इतिहासको जगेर्ना र उजागर गर्न जितगढी नुवाकोट सुरुङको उत्खनन जरुरी रहेको औँल्याए ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाणले सरकारले दृढताका साथ जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले जितगढी जस्तो महत्वपूर्ण सम्पदा भएको क्षेत्रमा प्रदेशको राजधानी हुनुपर्नेमा जोड दिँदै प्रदेशसभाले राजधानीको विषय समयमै टुङ्गो नलाग्दा जनतालाई असहज भएकाले राजधानी बुटवल र लुम्बिनी नामकरण तोक्न आग्रह गरे । 

विसं १८७२ मा नेपाल र अङ्ग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज बुटवलको जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई परास्त गरेको इतिहास छ ।     कर्णेल उजीरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी विसं १८७२ वैशाख ७ गते यस किल्लाबाट अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । बुटवलको तिनाउ नदीपारीको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जितगढी किल्ला छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । 

उत्सवका अवसरमा आज बिहान बुटवलमा झाँकीसहितको बृहत् र्याली निकालिएको थियो । बुटवल उपमहानगरपालिको कार्यालय परिसरबाट शुरु भएको र्याली उपमहानगरका विभिन्न स्थानको परिक्रमापश्चात जितगढीमा पुगेर विशेष समारोहमा परिणत भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै