• २०८१ बैशाख १५ शनिबार

पार्टी एकताको फलामे ढोका फोडियो -प्रचण्ड 

kharibot

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको फलामे ढोका फोडेको बताएका छन् ।

नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा सोमबार भएको कार्यक्रममा प्रचण्डले एकताको मुख्य गाँठो जिल्लाको नेतृत्व चयन भएको बताएका हुन् ।

प्रचण्डले भने, ‘हामीले फलामे ढोका फोडेका छौँ। गाँठो त्यहीँ परेको थियो । मुख्य गाँठो फुक्यो। अब अरु सजिलै फुक्छ।‘

प्रचण्डले एकता प्रक्रिया सोचेजस्तो तीब्र गतिमा हुन नसकेकोमा पार्टी कार्यकर्ताहरूसँग क्षमा पनि मागे। ‘यो कुरा सजिलो थिएन। अब नेतृत्वले गौरवका साथ तपाईँहरूलाई बधाई पनि दिन्छ र ढिला भएकोमा क्षमा पनि माग्छ।‘     कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भाँड्न आन्तरिक र बाह्य कसरतहरू भएको दाबी गरेका छन् । 

‘एकता सम्भवै हुँदैन र भैहाले पनि टिक्दैन भनेर भ्रम छरियो’, प्रचण्डले भने, ‘कम्युनिस्टहरू मिले भने देश अधिनायकवाद र निरंकुशतातर्फ जाने खतरा हुन्छ भनेर पनि आशंका सिर्जना गरियो। एकतामा जान दुबै पार्टीका नेतृत्वलाई रोक्न आन्तरिक र बाह्य कसरतहरू भए।‘

एकता नचाहनेहरूले फैलाएका आशंकालाई चिर्न आफूहरूले संकल्प गरेको उनको भनाई छ। ‘एकतालाई सुदृढ गर्न सकेनौँ भने सहिदको रगतबाट प्राप्त उपलब्धि धरापमा पर्न सक्छन् भनेर एकताको संकल्प गर्‍यौँ’, प्रचण्डले भने, ‘सानो मिहिनेत, विवेक र संकल्पले एकता सम्भव भएको होइन।‘

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएर निर्वाचन सम्पन्न भइसकेपछि पनि एकता हुन नदिन षड्यन्त्रहरू भएको उनले बताए।

‘निर्वाचन सकेपछि पनि धेरै किसिमका कसरत नेपाल भित्र र बाहिर भए। तर नेपाली जनताको अगाडि हामीले जे संकल्प र प्रतिबद्धता व्यक्त गरेका थियौँ, त्यो मिसनमा अघि बढ्यौँ’, उनले भने।

कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए । जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए ।

'अब हामी एक छिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालय (समितिको बैठक) मा पनि भनेका छौं । ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न्न गरिसक्नुपर्नेछ’ प्रचण्डले भने ।

पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने उनले बताए ।

केपी ओली नेतृत्वको तत्कालिन नेकपा एमाले र प्रचण्ड नेतृत्वको तत्कालिन एकीकृत नेकपा माओवादी केन्द्रबीच गत वर्ष जेठ ३ गते एकता भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै