• २०८१ बैशाख १८ मंगलबार

विवेकशीलले भन्यो, 'सरकार नेपाली नागरिकको हो, कुनै एक व्यक्तिको होईन '

kharibot

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०७६-७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरे पछि विवेकशील नेपाली दलले राष्ट्रपतिको आलोचना गरेको छ ।  

प्रवक्ता मिलन पाण्डेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २ बमोजिम सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको स्पष्ट रहेको भन्दै सरकार नेपाली जनताको भएको र कुनै व्यक्तिको नभएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक ‘ मेरो सरकार ’ भनेर सम्बोधन गर्दा मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली नागरिकमा नभई आफूमा निहित रहेको सन्देश दिन खोजेको देखिएको उल्लेख गरिएको छ l

विवेकशील नेपली दलले राष्ट्रपतिले यसरी सम्बोधन गर्नु अत्यन्त गैर जिम्मेवार र संवैधानिक मान्यता विपरीत रहेको ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको परिवेशमा समेत राजतन्त्रकालीन झल्को दिने गरी आएको यो सम्बोधनले केपी ओली नेतृत्वको सरकारप्रति गम्भीर आशङ्का उब्जाएको छ । राष्ट्रपति नेपाली जनताबाटै चुनिएर बनेको संस्था हुँदा राजतन्त्रको यतिसम्म भद्दा नक्कल गर्नु आवश्यक थिएन ।'

विवेकशील नेपाली कुनै एक व्यक्तिको नभई नागरिकको सरकारमा विश्वास गर्ने भन्दै यस गम्भीर घटनाको सत्य तथ्य छानबिन गरी राष्ट्रपतिबाट `मेरो सरकार´ भनाउन भूमिका खेल्नेहरूको बारेमा यथार्थ प्रकाशमा ल्याउन हामी नेपाल सरकार समक्ष माग गरेको छ ।

साथै विवेकशीलले नेपालको संविधानको धारा ६१(४) ले स्पष्टसँग राष्ट्रपति संविधानको पालन र संरक्षण गर्नु प्रमुख कर्तव्य हुनेछ भनेको सन्दर्भलाई समेत मनन गर्दै राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याउने कार्य नगर्न सरकारलाई खबरदारी समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपतिको पद तथा संस्थालाई व्यक्ति र दलीय घेरा भन्दा माथि उठ्न, नेपाली माटो सुहाउँदो व्यवहार प्रदर्शन गर्न तथा संविधान मातहत रहन समेत विवेकशील नेपाली दल यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछ l यदि नियतवश नै सार्वभौमसत्ता र राजकीयसत्ता एक व्यक्तिमा निहित गर्न कसैले खोजेको हो भने लोकतन्त्र र स्वतन्त्रताप्रेमी नागरिकहरू एकजुट भएर नेपालमा सही अर्थमा `नागरिकको सरकार´ स्थापना गर्नुपर्ने आवश्यकतातर्फ पनि हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउछौं ।' 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै