• २०८१ बैशाख १५ शनिबार

वैदेशिक रोजगारीमा जानेले मोबाइलबाटै बीमा गर्न सकिने व्यवस्था गरिदै  

kharibot

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरुले अबको केहि महिना भित्र मै मोबाइलबाटै बीमा गर्न सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभाग वैदेशिक रोजगारीमा जाने कामदारहरुको मोबाइलबाट बिमा गर्न प्रणालीको विकासमा लागेको छ । 

विभागले सो प्रणालीको असारमा परिक्षण र साउनदेखि सञ्चालनमा ल्याउने तयारी अनुरुप काम अघि बढाएको विभागका महानिर्देशक भीष्म कुमार भूसालले खरीबोटलाई बताए । ‘यस प्रणालीको विकाससँगै वैदेशिक रोजगारीमा जाने कामदारले घरमै बसी बीमा गर्न सक्ने छन् ,’ महानिर्देशक भूसालले भने ।

विभागका अनुसार कामदारहरुले मोबाइलबाट बीमा गर्दा पासपोर्ट नम्बर र बीमा कम्पनीको नाम उल्लेख गरे पुग्नेछ । ‘मोबाइलमा पासपोर्ट नम्बर र बीमा कम्पनीको नाम उल्लेख गरी बीमा शुल्क बापत् लाग्ने रकम बैंक अर्थात् अन्य विधुतिय माध्यमबाट पठाउन सक्नेछन्,’ उनले खरीबोटलाई भने । 

यो सँगै हाल कामदारहरुले बीमा शुल्कबापत् लाग्ने प्रिमियर रकम बापत १५ सय देखि २५ सय रुपैयाँ बढी तिर्नु परेको अवस्थाको अन्त्य हुने विभागको भनाई छ । ‘हाल बीमा शुल्कबापत् कामदारहरुले १५ सय देखि २५ सय रुपैयाँ बढी तिदै आएको गुनासो आएकोमा त्यसको अन्त्य भई कामदारलाई राहत मिल्ने छ ,’ उनले भने ।  

विगत लामो समय देखि वैदेशिक रोजगारमा जाने कामदारहरुले दलाल मार्फत् बिमा गर्दा बीमा शुल्क बापत् लाग्ने प्रिमियर रकम भन्दा बढी रकम तिदै आएका छन् अर्थात् कामदारहरु ठगीमा परेका छन् । 

यस्तै कामदारहरुले मोबाइलबाट बिमा गर्दा कागजात लिएर बीमा कार्यालय धाउनुु पर्ने, लाइनबस्नु पर्ने तथा दलालहरु मार्फत् ठगिने लगायतका समस्याबाट मुक्ति पाउने निर्देशक भूसालले बताए । ‘प्रणालीको विकाससँगै आफू जुन स्थानमा बसेको हो त्यहीबाट फारम भर्न सक्छन् जसले गर्दा कागजात छुट्यो भन्ने समस्या , कार्यालयमा लाइन बस्नुपर्ने समस्याबाट कामदार मुक्त हुनेछन् ,’ उनले भने । 

कामदारहरुले मोबाइललबाट बीमा गर्न सक्ने विषयमा विभागले बीमा समितिलगायत चारवटा निजी बीमा कम्पनीहरुसँग छलफल अघि बढाएको जनाएको छ । बुधबार विभाग र बीमा कम्पनीका सदस्यहरुबीच सर्वपक्षीय छलफल भएको विभागका एक अधिकारीले बताए । बुधबार भएको छलफलमा बीमा सम्वन्धि १५ वटा एजेन्डामा छलफल भएको जनाइएको छ । 

विभागका अनुसार मोबाइलबाट गरिने बीमाको लागि आइतबार दुवैतर्फको प्राविधिक पक्षको बैठक बस्दैछ । आइतबार बस्ने बैठकले मोबाइल बीमा सम्वन्धि नीति निर्माण बनाई कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने छ ।

यस्तै विभागले आगामी दिनमा सूचना प्रणालीको अत्यधिक प्रयोग गरी वैदेशिक रोजगारको क्रममा हुने ठगी तथा समस्या नियन्त्रण गर्ने जनाएको छ ।  मोबाइल प्रणाली मार्फत् गर्ने बीमा सम्वन्धको जानकारी विभागले आफनो वेबसाइटमा समेत राख्ने जनाएको छ ।

मोबाइलबाट बीमा गर्दा म्यानपावरको नाम तथा सिरियल नम्बर समेत उल्लेख गर्नुपर्ने छ । यसो गर्दा बीमा कम्पनीले म्यानपावरको बारेमा समेत जानकारी लिने हुदाँ कामदार ठगिनबाट बच्न सक्ने विभागको भनाई छ ।  

सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई बीमा अनिवार्य गरेको छ । बीमा अनिर्वाय गरे पनि बीमा गराउने सम्वन्धमा भने सरकारले कुनै चासो दिएको पाइदैन जसले गर्दा दलालहरु बाट ठगिने क्रमले हालसम्म निरन्तरता पाइनै रहेको छ । हाल श्रम कार्यालय ताहचाल वरपरको क्षेत्रमा  कामदारहरुको बीमा गराउने भन्दै दलालहरुले आवश्यक भन्दा बढी रकम लिएको सहजै भेट्न सक्छौं । 

नेपालमा २०६४ भदौं १९ देखि वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नुपर्ने व्यवस्था सुरु गरेको हो । वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा अनुसार वैदेशिक रोजागारीमा जानेहरुले बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पछिल्लो समय उनीहरुको बीमांक रकम पाँच लाख तोकिएको थियो भने विदेशमा कामदारहरुको मृत्यु भएमा कामदारका आफन्तले १७ लाखसम्म पाउने व्यवस्था गरेको थियो । जसमा १४ लाखको क्षतिपूर्ति तथा बोर्डले कल्यणकारी कोषबाट ३ लाख दिने व्यवस्था गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै