काठमाडौँ । भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी भएर नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइतबार नेपाल फर्केका छन् ।
दिल्ली क्यापिटल्सबाट दोस्रो सिजन खेलेका सन्दीपले यस सिजनमा ६ खेल खेल्दै कुल ८ विकेट लिएका थिए ।
सन्दीपको टिम दिल्ली सन् २०१२ पछि पहिलो पटक दोस्रो क्वालिफायरसम्म पुगेर चेन्नई सुपरकिंग्ससँग पराजित भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने जानकारी दिएका छन् ।
यही जेठ १ गतेबाट सुरु हुने पीएम कप क्रिकेटमा राष्ट्रिय टिमका खेलाडीलाई खेलाउन राष्ट्रिय खेलकुद परिषदले पहल गरिरहेका बेला सन्दीपले भने आफुले यस समय,मा परिवारसँग समय बिताउने बताएका छन् । एक दिवसीय प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाउँदैछन् ।
लगातारको क्रिकेट खेलिरहेका सन्दीपले आफुलाई आराम चाहिएको भन्दै अहिलेको प्रतियोगिता नखेल्ने योजनामा रहेको बताए ।
यस आइपिएलमा सन्दीपको प्रदर्शन :
१. कोलकोता नाइटराइडर्स : ४-०-२९-१
२. किंग्स इलेभेन पंजाव : ४-०-२७-२
३. किंग्स इलेभेन पंजाव : ४-०-४०-३
४. सनराइजर्स हैदरावाद : ४-०-३२-१
५. रोयल च्यालेन्जर्स बैंगलोर : ४-०-४६-१
६. रोयल च्यालेन्जर्स बैंगलोर : ३-०-३६-०