• २०८१ बैशाख २६ बुधबार

पप्पुको बदमासीविरुद्ध अख्तियारमा उजुरी

kharibot

बारा । रतनपुरी सडक निर्माण अनुगमन समितिले निर्माण कम्पनी पप्पु रञ्जन जेभीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडामा उजुरी दिएका छन् । 

सो निर्माण कम्पनीले सडक निर्माण गर्ने नाउमा वन, बस्तीमा जथाभावी खाडल खन्ने, रुख ढाल्ने, विरुवा नष्ट गर्ने, सामुदायिक वन उपभोक्ता समुहका तारवार भाँच्ने, जथाभावी नदी जन्य बस्तु उत्खनन गरि अवैध रुपमा सडकमा बिच्छाउँने गरे पछि स्थानीय समाजसेवी विष्णु प्रसाद ढुंगाना संयोजक रहेको पाँच सदसीय समितिका सदस्यहरु टंक बहादुर गोले, नेत्र प्रसाद घिमिरे, ईन्द्रलाल श्रेष्ठ,  सुमन भोलन सहितको अनुगमन समितिले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।  

स्थानीयको उपस्थिती सहित निजगढ नगरपालिका वडा नं.११ का वडा अध्यक्ष प्रेम बहादुर रुम्वा, निनपा १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले , जनमूखी सामुदायिक वनका अध्यक्ष जगजीवन कुमर , पशुपति सामुदायिक वनका अध्यक्ष धन बहादुर खुलाल , तपोवन सामुदायिक वनका अध्यक्ष दिल बहादुर थापा , बुद्धज्योती सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर दोङ्ग , सब डिभिजन वन कार्यालय रतनपुरीका प्रमुख शशीकान्त तिवारी , अस्थायी प्रहरी चौंकी रतनपुरीका ईन्चार्ज पशुपति यादव , निर्माण कम्पनी पप्पु रन्जनका प्रतिनिधी एवंम् ईन्जिनियर अभिषेक अधिकारीले अनुगमन समितिले गरेका प्रस्तावलाई कार्यवन्यन गर्ने लिखित सहमती गरे पनि सहमती अनुरुपको कार्य निर्माण कम्पनीले नगरे पछि अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडामा उजुरी हालेका हुन् । 

करिब आठ महिना अघि निजगढ नगरपालिका वडा नं.१२ स्थित चुरे फेदको भक्तलाल खोला , पसाह खोलाबाट दिन दाहाडै चोरी गर्दै उत्खनन गरेको ग्रेभल निजगढ स्थित तामागढी—अमलेखगंज सडक खण्डका रतनपुरी देखि डमरपुर हालेको हो । 

यस भेगको चुरेको सम्वेदनशील क्षेत्र मानिएको भक्तलाल खोलाबाट २०७५ साउन ३ गतेबाट ग्रेभल चोरी गर्दै उत्खनन गरेको थियो । एक थरि गाउँले स्थानीय प्रहरी प्रशासनको मिलोमत्तोमा पटक÷पटक चुरे फेद आसपासका भक्तलाल खोला , पसाह खोला , बुङ्गजोर खोलाबाट अबैध रुपमा खोला उत्खनन गर्दै सडकमा ग्रेभल हालेका हुन् ।

निजगढ स्थित तामागढी—अमलेखगंज सडक खण्डको रतनपुरी देखि डमरपुरमा सडक निर्माण गर्न ठेक्का सकार गरे अनुसार सडक बनाउँने नाउँमा चोरी गरि ग्रभेल सडकमा हाल्ने , स्थानीय सामुदायिक वन उपभोक्ता समुह , डिभिजन वन कार्यालय बारा , मातहतका निकायसँग कुनै सहकार्य नैं नगरी वन क्षेत्र भित्र जथाभावी रुख , विरुवा मास्दै खाडल खनी सडकमा माटो भर्दै आई रहेको थियो । 

ठेकेदारले माटो उत्खनन गर्दा सामुदायिक वन संरक्षणका लागि लगाईएको तारवार समेत भत्काई हानी नोक्सानी गरि दिएको पशुपति सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष कृष्ण प्रसाद ढुंगेल बताउँ छन् । 

बस्तीमा रहेका घर आँगनमा नैं खाडल खनि सडकमा भरे पछि बालवालिका खाडलमा पर्ने , गोठाला , वन्य जन्तु समेत खाडलमा परि ज्यानंै जान सक्ने सम्भावना छ । 

यसरी विकासको नाउँ दिदै जथाभावी खाडल खनी सडकमा पुर्न थालेसँगै र चुरे आसपासका खोलाबाट जथाभावी प्राकृतिक स्रोत साधन ग्रेभल उत्खनन , चोरी गरि सडकमा हाल्न थाले पछि एक थरि सचेत नागरिकहरुले त्यसको विरोध गर्दै आई रहेका छन् ।  

उक्त सहमतीमा निर्माणधिन सडकको दुबै छेउमा गहिरो खाडल खनेकाले कसैलाई असर नपर्ने गरि खाडल पुर्ने , बस्ती र आवाधि क्षेत्रमा खनिएका खाडललाई बाहिरबाट माटो ल्याई खाडल पुर्ने , सामुदायिक वन क्षेत्रको क्षती भएको तारवार बनाउँने , सडक निर्माण गर्दा कुँनै बोट विरुवालाई हानी नोक्सानी नगर्ने यदी भए गरेमा नियमानुसार व्यवस्थाप गर्ने लगायतको बुंदामा सहमती भएको थियो । 

तर, निर्माण कम्पनी पक्षले सहमतीको वास्ता नगरी चरम लाहपर्वाही गर्दै सडक निर्माण गरि रहेकोको उक्त अनुगमन समितिका सदस्य टंक गोले बताउछन् ।

चुरेको सम्वेदनशील क्षेत्र मानिएको भक्तलाल खोलाबाट २०७५ साउन ३ गतेबाट ग्रेभल चोरी गर्दै गर्दा उत्खननमा स्थलमा पुगेका थियौं । त्यसै बेला एक्साभेटरका सहायक अपरेटर कृष्ण रेग्मीसंग बुझ्दा उनी यसो भन्छन् । 

सो निर्माण कम्पनीको गरेका हानी नोक्सानीका बारे निजगढ नगरपालिकालाई लिखित उजुरी दिए पनि अहिले सम्म कुँनै सुनुवाई नभएको अनुगमन समितिको भनाई छ  । 

यसरी अबैध रुपमा उत्खनन गरिएको नदी जन्य बस्तु ग्रेभल उक्त सडकमा दश किलोमिटर लम्बाई , ६ मिटर चौडाई , ०.३० मिटर उचाईमा ग्रेभल भरेको छ । जसबाट १८ हजार घन मिटर ग्रेभलको परिमाण हुँन आउँछ । यो परिमाण वन क्षेत्रलाई हानी नोक्सानी गरि उत्खनन गरेको माटो बाहेकको हो । 

निजगढ नगरपालिकाले खोला उत्खनन गर्न ठेक्का लगाएको ठेक्केदारको दर रेट अनुसार पनि करिब २७ लाख ६२ हजार ४ सय २४ रुपैयाँ बरावरको ग्रेभल निर्माण कम्पनी पप्पु रञ्जन जेभीले अबैध रुपमा सडकमा प्रयोग गरेको देखिन्छ । 

यसरी जथाभावी उत्खनन गर्ने निर्माण ठेकेदारबाट दोहोरो फाईदा उठाउँने भन्दै निजगढ नगरपालिका कार्यपालिकाको बैठकले खोला उत्खनन गर्न दिने निर्णय २०७५÷११÷११ गते गर्यो । 

उक्त निर्णयमा निनपा वडा नं.१२ स्थित लाल बुङ्गजोर खोलाको तल्लो भागबाट २ सय ५० मिटर लामो च्यानलाईज गर्ने गरि सो ग्रेभल सडकमा हाल्ने र ठेकेदारलाई ग्रेभल उपलब्ध गराए बापत दुई सय देखि तीन सय मिटर ड्याम बनाउँनु पर्ने शर्त राख्यो । सोही निर्णयको आधारमा ठेक्केदारले उत्खनन गर्दै सडकमा ग्रेभल निर्धक्क साथ हाल्यो ।

यसरी बिना वातावरयिण परिक्षण प्रतिवेदन विना नैं नगरपालिकाले हँचुवाको भरमा खोला उत्खनन गर्ने निर्णय गरि प्राकृतिक स्रोत साधनको समेत चरम दुरुपयोग गरेको देखिन्छ ।

चुरे क्षेत्रको सम्वेदनशील क्षेत्रको खोलाबाट २७ लाख रुपैंयाँ बरावरको प्राकृतिक स्रोत साधन ग्रेभल चोरी गरि उत्खनन गर्दै सडकमा हालेको ९ महिना बिती सक्दा पनि निर्माण कम्पनी पप्पु रञ्जन जेभीलाई दण्ड जरिवाना गरि कानुनी दायरामा ल्याउँन निजगढ नगरपालिका , जिल्ला प्रशासन कार्यालय बाराले अहिले सम्म पनि कुँनै चाँसो नदेखाए पछि अनुगमन समिति अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको ढोका ढकढक्याउँन बिवश भएको हो । 

निजगढ स्थित तामागढी—अमलेखगंज ग्रेभेल सडक खण्डको रतनपुरीदेखि डमरपुरको दश किलोमिटर लम्बाई ६ मिटर चौडाई सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु रञ्जन जेभी काठमाण्डौं नयाँ वानेश्वर—३४ ले सात करोड ८४ लाख ५ सय ६७ रकममा ०७६ पौष मसान्त भित्र काम सम्पन्न गर्ने गरि सडक डिभिजन कार्यालय हेटौंडाबाट ०७४ असार ३० गते ठेक्का साकार सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै