एकल विन्दु सेवा केन्द्र सञ्चालनमा, ‘डिजिटलाइजेसन’मा विशेष जोड
प्रविण राउत
२०७६ जेठ १ बुधबार
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले बुधबारदेखि एकल विन्दु सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
उद्योग विभाग परिसरमा कार्यालय रहने सेवा केन्द्रको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले गरे । केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले केन्द्रको सञ्चालनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्धि नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई टेवा दिएको बताए ।
उनले केन्द्र स्थापनासँगै स्वदेशी तथा विदेशी उद्योगीहरुले पहिले जस्तो विभिन्न निकाय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
केन्द्रमा नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, वातावरण विभाग लगायत उद्योग दर्ताका लागि आवश्यक १२ वटा निकायका उच्च प्रतिनिधि रही सेवा दिनेछन् । केन्द्रमा विभिन्न निकायका कर्मचारीहरु समेत उपस्थित भइसकेका छन् ।
केन्द्रको एकै स्थानबाट १२ वटा फरक–फरक निकायले सेवा दिने मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बताइन् । केन्द्रमा एकजना सूचना अधिकारी समेत राखिने सचिव खतिवडाले बताइन् । कुनै कारणवश केन्द्रबाट काम नभएमा सूचना अधिकारीले सहकार्य गरिदिने उनको भनाइ छ । ‘कुनै समयमा सेवाग्राहीले सम्बन्धित निकायको प्रमुखलाई भेट्नुपर्ने हुन्छ, त्यो समयमा उक्त अधिकारीले नै त्यसको व्यवस्थापन गरिदिन्छन्,’ उनले भनिन् ।
बुधबारदेखि भौतिक रूपमा सुरुवात भए पनि केन्द्र बिस्तारै प्रविधिमैत्री हुने सचिव खतिवडाको भनाइ छ । ‘उद्योग दर्ताका कामहरु बिस्तारै डिजिटल फारममार्फत पनि गरिनेछन्,’ खतिवडाले भनिन् ।
विगत लामो समयदेखि स्वदेशी तथा विदेशी लगानीकर्ताले केन्द्र स्थापनाका लागि माग राख्दै आएका थिए ।
यस्ता छन् एकल विन्दु सेवा केन्द्रबाट उपलब्ध हुने सेवाहरू :
उद्योगलाई प्रदान गरिएको कर तथा राजस्व छुट लगायत अन्य प्रोत्साहन, सुविधा र सहुलियत उपलब्ध गराउने,
उद्योगलाई आवश्यक पर्ने हदबन्दीभन्दा बढी जग्गा छुट सिफारिस, जग्गा प्राप्ति र वनक्षेत्रको जग्गा लगायतका विषय तथा सरकारी जग्गा लिजमा उपलब्ध गराउने समेतका विषयमा सहजीकरण गर्ने
दर्ता प्रक्रिया लगायतका सेवाहरू विद्युतीय प्रणालीबाट प्रवाह गर्ने र अन्तर निकायले प्रयोग गर्ने गरी प्रणालीको विकास गरी कार्यान्वयन गर्ने,
निश्चित रकमसम्मको विदेशी लगानीको स्वीकृति र विदेश फिर्ता लैजाने (रिपिटेशन) कार्यका लागि सहमति दिने र प्राधिकारभन्दा बढीको निर्णय गर्नुपर्ने विषयमा सहजीकरण गर्ने,
उद्योगलाई आवश्यक पर्ने विद्युत्, अन्य ऊर्जा, सञ्चार, पानी तथा खानेपानी सुविधा तथा पहुँच सडक निर्माण लगायतका औद्योगिक पूर्वाधार निर्माणका लागि समन्वय र सहजीकरण गर्ने,
विदेशी लगानीकर्ता तथा कामदारलाई श्रम स्वीकृति तथा भिसा उपलब्ध गराउने,
उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, मेशिनरी, पार्टपूर्जा आयातमा सहजीकरण गर्ने तथा आयात अनुमति लिनुपर्ने मालवस्तु भएमा अनुमति दिने एवं सोका लागि सिफारिस गर्ने,
उद्योग स्थापना गर्न प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत गर्ने र वातावरणीय प्रभाव मूल्याङ्कनको र कार्यक्षेत्रगत शर्त स्वीकृत गर्ने तथा स्वीकृतिको लागि आवश्यक सहजीकरण गर्ने,
एक पटकमा एक लाख अमेरिकी डलरसम्मको विदेशी विनिमय स्वीकृत गर्ने र सोभन्दा माथिको स्वीकृतिको लागि सहजीकरण गर्ने,
लगानी पोर्टलको स्थापना र सञ्चालन गरी लगानी सम्बन्धी सूचना तथा जानकारी उपलब्ध गराउने,
स्थायी लेखा नम्बर प्रदान गर्ने,
आयात निर्यात सङ्केत नम्बर (एक्जिम कोड) प्रदान गर्ने,
निकासी अनुदान उपलब्ध गराउने,
पुँजी वृद्धि, क्षमता वृद्धि, उद्देश्य थप, उद्देश्य परिवर्तन, नामसारी, ठाउँसारी वा स्थानान्तरणको स्वीकृति दिने,
उद्योग व्यवसायलाई आवश्यक पर्ने सबै प्रकारका सिफारिस तथा सहजीकरणको कार्य गर्ने ।