काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुले तीन तीन जनालाई प्रधानमन्त्री बनाएको भएपनि आफुलाई अस्थिर भन्ने आरोप लगाएको गुनासो गरेका छन् ।
तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९औ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा आफुले जहिले पनि देशको आवश्यकता हेरेर निर्णय लिने गरेको भन्दै माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाएको बताए । प्रचण्डले भने, मैले झलनाथजीलाई छापामार शैलीमा प्रधानमन्त्री बनाए ।'
त्यस्तै आफुले केपी ओलीलाई आफुले पहिलो पटक प्रधानमन्त्री बन्न प्रस्ताव गरेको र यस अघिको चुनाव अघि ओलीलाई आफुले नै प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको बताए । प्रचण्डले आफुले तीन तीन जना प्रधानमन्त्री बनाएको र मलाई अहिले अस्थिर भनेर आलोचना गर्ने गरेको बताए ।
प्रचण्डले नेताहरुले आफ्नो अडान नछोडेको भए अहिले कम्युनिष्टको सरकार बन्न सम्भव थिएन भन्दै आम जनताले पार्टी एकतालाई व्यापक रुपमा अनुमोदन गरेको बताए ।
आफुले लिएको विचार नै सहि हो भनेको भए सबै खत्तम हुने थियौ भन्दै प्रचण्डले आत्मकेन्द्रित विचारले कम्युनिष्ट आन्दोलनलाई धेरै ठुलो क्षति पुर्याएको आफुहरुले भोगेको स्मरण गरेका थिए ।
कार्यक्रममा प्रचण्डले युवाहरुलाई समृद्धिका लागि लाग्न जोड दिदै देश विकासमा युवाको ठुलो भूमिका रहेको बताए ।
चिनियाँ राजदूतका कारण प्रचण्ड तनावमा :
प्रचण्डले कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीका कारण आफु तनावमा परेका बताएका छन् ।
युवा संघको कार्यक्रममा दिउँसो १ बजेतिर पुगेका प्रचण्डले चिनियाँ राजदूत यान्छीले ४ बजे भेटवार्ताका लागि प्रचण्डसँग समय लिएकोमा कार्यक्रम लम्बिएर ४ बजे आफ्नो सम्बोधनको पालो आएपछि प्रचण्डले सार्वजनिक रुपमै आफू तनावमा परेका बताएका थिए ।
समय अभाव भएको भन्दै उनले पूर्ववक्ताको भनाईमा समर्थन जनाउँदै आफ्नो सम्बोधनसमेत छोट्याएका थिए । चिनियाँ राजदूत घरमा पुगिसकेको र निर्धारित समयमा भेट्न नसकेको भन्दै आफ्नो तर्फबाट परिवारका सदस्यलाई माफी माग्न लगाएको कुरा प्रचण्डले कार्यक्रममा जानकारी गराएका थिए ।
प्रचण्डले भने, 'यस समारोहमा हाम्रा नेता साथीहरुले गम्भीर कुराहरु राख्नुभयो। तपाईहरुले देख्नुभयो होला यहाँ अन्तिम अन्तिमतिर आउँदा म टेन्सनमा छु थोरै । मैले घडी हेरेनछु, तपाईहरुको कुरा सुन्दा, तपाईहरुसँग बस्दै गर्दा। मजाले बसेछु म त। तर, ४ बजे मैले चिनियाँ राजदूतसँग मिटिङ्ग थियो अहिले। ४ यहाँ बजिसक्यो, उहाँ खुमलटार पुगिसक्नुभएछ । अब मलाई टेन्स नहुने त कुरै भएन। मैले खबर त गरे, एकछिन चिया खुवाएर राख्नु, माफ माग्नु भनेर भनेको छु। तर, यहाँ तपाईहरुमाँझ प्रस्तुत गर्ने सबै विषय गोलमाल भयो। त्यसकारण अगाडिकै साथीहरुको धेरै कुरामा समर्थन गरेकै छु मैले। म एक दुइटा कुरा मात्रै भन्न चाहन्छु ।'