• २०८१ बैशाख २४ सोमबार

‘जात्रै जात्रा’ लाई दोस्रो सातामा पनि दर्शकको राम्रो साथ

kharibot

काठमाडौँ ।  जेठ ३ गतेबाट प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले प्रदर्शनको दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाएको छ । 

फिल्मले आफ्नो पहिलो साताको आक्रामक व्यापारको क्रमलाई दोस्रो साता पनि निरन्तरता दिएको छ । 

पहिलो साता फिल्मले घरेलु बजारमा लगभग ४ करोड कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जानकारी दिएका छन् । बलियो 'वर्ड अफ माउथ' का कारण फिल्मको व्यापारमा कमी नआएको देखिएको छ । 

खासगरी मल्टीप्लेक्सहरुले दोस्रो सातामा पनि पहिलो साताकै हाराहारीमा शोज उपलब्ध गराउनुले फिल्मको व्यापार आक्रामक रहेको  देखाएको छ । 

२ करोडको लागतमा निर्माण भएको यस फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गर्न ५ देखि ६ करोडको आसपासमा व्यापार गर्नुपर्छ, जुन दोस्रो साताको केहि दिनमा नै कमाउने आँकलन गरिएको छ ।

यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । नेपालमा दर्शकले रुचाएका फिल्म समीक्षकलाई मन परेका उदाहरण भेट्न गाह्रै पर्छ । ‘जात्रै जात्रा’ ले भने दुबैलाई रिझाएको छ । फिल्म विश्लेषकहरुले पनि यस फिल्मलाई सार्थक सिक्वेलको रुपमा टिप्पणी गरेका छन् । 

पहिलो साताको आक्रामक व्यापारलाई फिल्मले दोस्रो साता पनि निरन्तरता दिएपछि निकै हौसिएको निर्माण टिम अहिले दर्शक भेट्न मौफसल दौडाहामा छ । केही दिन अगाडि पूर्वका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका अभिनेता विपिन कार्की, अभिनेत्री वर्षा राउत, निर्देशक प्रदीप भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बनियाँले शनिवार पोखरा र चितवन पुगेर दर्शकको प्रतिक्रिया बुझेका छन् । 

निर्देशक भट्टराईले सफल निर्देशकको रुपमा ह्याट्रिक पनि गरेका छन् । ‘जात्रै जात्रा’ को पहिलो भाग ‘जात्रा’ बाट निर्देशक भट्टराईले फिल्म निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले फिल्म ‘शत्रु गते’ निर्देशन गरेका थिए । 

‘जात्रै जात्रा’ मा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै