• २०८१ बैशाख १५ शनिबार

कुष्ठरोग लागेका ८० बर्षिय जसवीरको ३० वर्षदेखि जङ्गलमा बास

kharibot

तस्बीर : रासस

रामपुर । पाल्पाको निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका छन् । निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जङ्गलमा बस्ने गर्दछन् ।  

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजीकै पठाएका थिए । उमेरले करीब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गरे । “पहिले पनि मेरो नजीक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए ”, सुनारीले गुनासो गरे ।

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि  गाउँलेले दुर्व्यबहार गर्ने डरले गाउँ फर्कन नसकेको बताए ।  सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आएका थिए ।  बुढेसकालको शरीर जङ्गलको बास, पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारी बताउछन् । 

अहिले भने गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरेको उनले बताए । सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका छन् । माइक्रो ब्याक्ट्रेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइराला बताउछन् ।

कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुव्र्यवहार हुने गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय