• २०८१ बैशाख २१ शुक्रबार

प्रधानमन्त्रीद्वारा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ

kharibot

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गरेका छन् ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्को रुपमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गर्न पुगेका थिए । 

त्यहाँबाट फर्कने क्रममा ताप्लेजुङमा हेलिकोप्टरको दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएको थियो । उहाँको जन्म विसं २०२६ वैशाख २२ गते पोखरामा भएको थियो ।

उनको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माणलगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारका तर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, “रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।”

रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराए ।

विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आफुले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीको रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझदारी, आक्रोश, रिस नदेखिएको र उहाँ सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिको धनी हुनुहुन्थ्यो ।”

स्वच्छ आचरण, कर्मठ क्रियाशील, अनुशासित र इमान्दार पार्टीको कार्यकर्ताका रुपमा रहेको रवीन्द्रको सम्बन्धमा नेकपाका अध्यक्षसमेत रहेका ओलीले उनी देश र जनताप्रति समर्पित, चिन्तक, विश्लेषक र लेखन नेताको रुपमा पनि परिचित थिए ।

सुशासन र विकासको चरणमा मुलुक प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “नकारात्मक सोच्ने, जुनसुकै कुराको विरोध गर्ने, सकारात्मक प्रयासलाई पनि दुषित बनाउने देखिएको तर, सकारात्मक सोचाइ राख्ने रवीन्द्र दृढ, स्पष्ट, गतिशील र कार्यप्रति समर्पित व्यक्तिका धनी हुनुहुन्थ्यो ।”

सरकारी कामको सिलसिलामा तेह्रथुमको चुमानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरी फर्कने क्रममा दुखद् घटनाको स्मरण गर्दा प्रधानमन्त्री भावुक हुँदै भने, “वर्षौसम्म मन्त्री भएर गर्न नसकेको काम एक वर्षमै गरेका रवीन्द्रले आफ्ना पाइलको पद चिह्न छोडेको जो वर्षौसम्म कायम रहनेछ ।”

वाइडबडीको काण्ड रवीन्द्र मन्त्री बन्नुभन्दा पहिलेको घटना रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “क्षुद्रमतिका मानिस र केही संस्थाले पोलेको, आफुले  निर्दोषलाई निर्दोष भन्न नपाउने तर, क्षुद्रमतिले निर्दोषलाई दोषी भन्न पाउने ? प्रतिप्रश्न गर्नुभयो ।”

उनले जिउँदैमा कसैको आँखामा आँशु ल्याएन तर निधनपछि सबैको आँखामा आँशु ल्याएकाले रवीन्द्रप्रति देश र पार्टी गर्व गर्दछ, भने ।

मदन भण्डारीले दिएको बहुदलीय जनवादको विचारले पार्टी अगाडि बढेर सफलता प्राप्त गरेको भन्दै नेकपा पार्टीका अध्यक्षसमेत रहेका उनले भने, “मदन भण्डारीले विपरीत अवस्थामा प्रतिकूलतालाई चिर्दै पार्टीलाई सङ्गठित र सक्षम बनाएकै कारण कारण आज दुईतिहाइको हाराहारीमा पार्टी पुगेको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नारालाई पूरा गर्न रवीन्द्रले देखेका यी लगायतका अधुरो सपनालाई पूरा गर्नका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिए । उनले रवीन्द्रको स्मृतिमा स्थापित प्रतिष्ठानलाई सफल र सक्षम बनाउन हामी सबैको दायित्व रहेको बताए ।

रवीन्द्र अधिकारीका श्रीमती एवं सो प्रतिष्ठानकी तदर्थ समितिका अध्यक्ष विद्या भट्टराईले यस्तो दुखद् घडीको अवस्थाबाट गुज्रनुपर्ने विषयमा कहिले पनि नसोचेको उल्लेख गर्दै प्रतिष्ठानको माध्यमबाट रवीन्द्रको सपनालाई पूरा गर्न सदैव समर्पित भएर कार्य गर्ने प्रतिबद्धता प्रकट गरीन ।

रवीन्द्र अधिकारीको बाल्यकालदेखि राजनीतिक अवस्थाका साथै उनी हेलिकोप्टर दुर्घटनामा निधन भएका फागुन १५ गतेका दिन तेह्रथुम डाँडामा दिएको अन्तिम भाषणबाट प्रधानमन्त्री ओलीदेखि मञ्चमा आसिनका साथै सभागृहमा उपस्थित जनसमुदाय वृत्तचित्र हेरेर भावुक भएका थिए भने कतिपयको आँखा रसाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै