काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीप कुमार यादवले नक्कली प्रमाणपत्रले जागिर खाएको भन्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले यादवको पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको इलेट्रीकल एण्ड इलेक्ट्रोनिक्स इनिजिनियरीङ तहको शैक्षिक प्रमाणपत्र तथा नेपाल इन्जिनियरिङ परिषद्, नक्साल, काठमाडौंबाट जारी भएको साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता प्रमाणपत्र समेत नक्कली एवं झुट्टा बनाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, काठमाडौंमा इलेक्ट्रसिटी सहायक पदमा करार नियुक्ति भई सोही केन्द्रको इन्जिनियर पदमा बढुवा भएको आरोप लगाएको छ ।
अख्तियारले प्रदीप कुमार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।