• २०८१ बैशाख १५ शनिबार

तनहुँका स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा

kharibot

तनहुँ । स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

तनहुँका दश स्थानीय तहका ८५ वडामध्ये ४२ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव अभाव भएपछि कतिपय वडामा कार्यालय सहयोगी र सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

कर्मचारीको अभाव भएपछि भिमाद नगरपालिकाले कार्यालय सहयोगीलाई वडामा सचिव सरहको जिम्मेवारी दिएर खटाएको छ । बन्दीपुर गाउँपालिकाले पनि तत्कालीन गाविसका प्रशासन शाखाका सहायक र सामाजिक परिचालकलाई वडा सचिवका रुपमा खटाएको छ ।

घिरिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाको एउटा वडामा पनि सचिव छैनन् । अन्य स्थानीय तहका अधिकांश वडा सचिवविहीन छ । कर्मचारी अभावका कारण एउटै सचिवले तीन वटासम्म वडाको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता छ ।

दक्षिण भेगमा रहेको घिरिङ गाउँपालिकाका पाँच वटा वडामा एक जना पनि सचिव छैनन् । गाउँपालिका कार्यालयमा नै कार्यरत रहेका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए ।

उनला अनुसार कर्मचारी अभावले प्रशासनिक कामसँगै विकास निर्माणको काममा प्रभाव परेको छ । उनले भने, “कर्मचारी अभावले गाउँपालिकालाई त समस्या छ नै, सेवा लिन आउने सेवाग्राहीलाई झन बढी समस्या भइरहेको छ ।” उनका अनुसार एकजना सचिवले धेरै वडा हेर्नुपर्ने भएपछि गाउँपालिकाको कार्यालयमा बसेर नै सेवा प्रवाह गर्नु परेको छ । उनले भने, “सिहंदरबारको अधिकार गाउँमा आयो भन्ने नारा त भयो, तर वास्तविकतामा त्यस्तो छैन ।”

बन्दीपुर गाउँपालिकामा ६ वटै वडामा सचिव छैनन् । काम प्रभावित नहोस् भनेर तत्कालीन गाविसका प्रशासन सहायक र सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

भानु नगरपालिकाको १३ वडामध्ये चार वडामा मात्रै सचिव छन् । तीमध्ये एक जना समायोजन भएर जाँदैछन् । बाँकी तीन जना सचिवले नै सबै वडाको कार्यसम्पादन गर्नु परेको नगरप्रमुख उदयराज गौलीले बताए । गौलीले भने, “व्यक्तिगत घटना दर्ताका लागि वडामै पुग्नुपर्ने हुन्छ । जुन वडाबाट फोन आउँछ कर्मचारीहरु त्यही पुग्ने गर्नुभएको छ ।” उनले वडामा सम्पन्न भएका योजनामा भुक्तानीका लागि वडाको सिफारिश आवश्यक पर्ने भएकाले एक जनालाई धेरै वडाको कार्यभार सम्हाल्नु परेको बताए ।

रिसिङ गाउँपालिकाको ८ वडामध्ये ३ वडामा मात्रै सचिव छन् । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार जनतालाई सास्ती नहोस् भनेर स्वास्थ्य शाखाको कर्मचारीलाई वडा सचिव बनाएर खटाइएको छ । कर्मचारी समायोजन भएर गएपछि यस्तो समस्या आएको उनको गुनासो छ ।

आँबुखैरेनी गाउँपालिकाको ६ वडामध्ये २ वडामा मात्रै सचिव छन् । बाँकी वडामा स्वास्थ्य, कृषि र गाउँपालिकाका पुराना कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । उनले भने, “कर्मचारी अभावमा जसोतसो व्यवस्थापन त गरेकै छौँ । तर वास्तविक रुपमा काम गर्न भने निकै अप्ठ्यारो भएको महसुस भएको छ ।”

देवघाट गाउँपालिकाको ५ वडामध्ये २ वडामा मात्रै सचिव छन् । ती दुई जना सचिवले नै भागबण्डा लगाएर सबै वडाको काम गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष विमला थापाले बताइन् । उनले भनिन्, “हप्ता÷हप्तामा पालो मिलाएर वडामा सचिव खटाइएको छ । कर्मचारी अभावमा गाउँपालिकाले सम्पादन गर्ने काम प्रभावित भइरहेको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय