काठमाडौं । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटि भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न सिफारिस गरेको हो ।
दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ । समितिले सो पुलको पुन: डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ ।