• २०८१ बैशाख १६ आइतबार

अलैँची रोप्ने चटारोमा किसान

kharibot

फाइल तस्विर । 

बेंसीशहर / मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो ।

बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थालेका  हुन् । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उनले गरेका छन । अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र अझै १० हजार बिरुवा रोप्न बाँकी रहेको तामाङले बताए । खाँचेकै धर्मराज गुरुङ पनि बिरुवा रोप्न व्यस्त छन्  ।

उनले २५ रोपनी क्षेत्रफलमा ३५ हजार अलैँचीको बिरुवा लगाइसकेको बताए । अझै ३०÷३५ रोपनीमा ५० हजार बिरुवा रोप्नुपर्ने छ । साउनसम्म अलैँची लगाइसक्ने किसान गुरुङले बताए । उनीहरु जस्ता अलैँची किसान यतिबेला सबै अलैँचीका बिरुवा रोप्नमा व्यस्त छन्  । लुदी, छिनखोला, नयाँगाउँ, घाम्राङ, पसगाउँलगायत जिल्लाका अधिकांश क्षेत्रमा अलैँची लगाउँदै आएका किसान बिरुवा रोप्नमा व्यस्त भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक एवं लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताए ।

उनले भने , “प्रत्येक वर्ष जेठ महीनाबाट साउन महीनासम्म बिरुवा लगाउने गरिन्छ । बिरुवा लगाउने मौसम भएकाले जिल्ला र जिल्ला बाहिरबाट बिरुवाको उच्च माग भइरहेको छ ।” यसवर्ष प्रति नर्सरी बिरुवाको मूल्य पाँच रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा प्रति बिरुवा दुई रुपैयाँले कम भएको छ । जिल्लामा साउन्ने, जिर्मले, डम्बरशाही गोलशाही, रामशाही र भलाङे जातका बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने । किसान ले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । एक हजार ५६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले रु पाँच करोड २५ लाख आम्दानी गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै