मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ ।
जी २० सम्मेलनका क्रममा जापानमा उहाँहरूबीच यही हप्ता भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले बुधबार जनाएको छ ।
उनीहरूबीच इरानसँग अमेरिकाको चर्किदो विवाद र सिरिया सङ्कटका बारेमा कुराकानी हुने अधिकारीहरूले बताएका छन् ।
इरानसँगको विवाद चर्किदै गएकाले विभिन्न देशका शीर्ष नेताहरूसँग छलफल गरिरहेको अमेरिकी पक्षले रुसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो ।
पुटिनले जापान भ्रमणका क्रममा बेलायती कामचलाउ प्रधानमन्त्री थेरेशा मे, टर्कीका राष्ट्रपति रेसेप तयप एड्रोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
पुटिनले ट्रम्पसँग यही आउँदो शुक्रबार जापानको पश्चिमी शहर ओसाकामा भेट्ने अधिकारीहरूले जनाएका छन् ।