• २०८१ बैशाख १४ शुक्रबार

बार्जुकोट दरबार र कालाजग्रामा ‘भ्यूटावर’ निर्माण हुँदै

kharibot

बाजुरा / बाजुराको बूढीगङ्गा नगरपालिका–४ स्थित ऐतिहासिक तथा भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारमा ‘भ्यूटावर’ निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको वन, पर्यटन तथा उद्योग मन्त्रालयको रु ३५ लाख आर्थिक सहयोगमा उक्त टावर निर्माण हुन लागेको दरबारका हकवाला राजेन्द्रबहादुर शाहले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको वन, पर्यटन तथा उद्योग मन्त्रालयको लगानीमा बन्ने सो ‘भ्यूटावर’ चार तले हुनेछ । शाहका अनुसार, बाइसे चौबीसे राज्य भएका बेला यो दरबारबाट राज्य सञ्चालन हुँदै आएको थियो । तत्कालीन माओवादीको द्वन्द्वकालीन समयमा दरबारलाई जलाइएपछि प्रदेश सरकारले त्यहाँ ‘भ्यूटावर’ निर्माण गर्न सहयोग गरेको हो ।

पर्यटन प्रवद्र्धन गर्नका लागि बार्जुकोट दरबारबाट अछाम बझाङलगायतका जिल्लाको अध्ययन अवलोकन गर्न सकिने गरी टावर निर्माण हुन लागेको बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बताए । उनले भने , “भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबार प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।” नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन गरी तिनीहरुको संरक्षण, सम्वद्र्धन गर्दै प्रचारप्रसार गर्न लाग्ने प्रमुख शाहको भनाई छ ।

साँफे–मार्तडी सडक राजमार्ग नजिकै रहेको उक्त दरबारमा जान बाम्का बजार हँुदै दरबारसम्म सडक जोडिएको उनले बताए । बार्जुकोट दरबारको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले जिल्लाको अवस्था र अन्य छिमेकी जिल्लासमेत हेर्न पाउने गरी टावर निर्माण हुन लागेको प्रमुख शाहले बताए । दरबार संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण गर्न सङ्घ र प्रदेश सरकारसँग पहल गर्ने पनि प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यसैगरी बडिमालिका नगरपालिका–७ ढम्कनेस्थित कालाजग्रामा पनि ‘भ्यूटावर’ निर्माण हुन लागेको छ । सुदूरपश्चिम प्रदेशको वन, पर्यटन तथा उद्योग मन्त्रलायको  ८० लाखको आर्थिक सहयोगमा ‘भ्यूटावर’ निर्माण हुन लागेको हो । जिल्लाको सबैभन्दा सरल बाटो र सदरमुकाम नजिकै रहेको पर्यटनको उच्च सम्भावना बोकेकोे कालाजग्रा तथा टाइगर हिलमा ‘भ्यूटावर’ निर्माण हुन थालिएको हो ।

पर्यटनको सम्भावना बोकेको कालाजग्रा क्षेत्रमा आउने पर्यटकलाई सहजरुपमा अवलोकन गर्नका लागि ‘भ्यूटावर’ निर्माण भइरहेको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले जानकारी दिए । कालाजग्राको फेदीमा परापूर्वकालदेखि रहिआएको गुफातालमाथि देवीको मन्दिरमा गएर रमाउनका लागि हराभरा फाँट प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । प्राकृतिक सुन्दरताले भरिएको, आसपासमा हरियो जङ्गल रहेको जिल्लाकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेक अर्थात् टाइगर हिलको नामले चिनिन्छ ।

ऐतिहासिक गढीका रूपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रामा सन्तोषीमाताको मन्दिरका साथै गुफाताल पनि छ । यही बाटो भएर बूढीनन्दा क्षेत्र तथा गौमूल आसपास र बडिमालिकाबाट बूढीनन्दातिर बाघ हिँड्ने प्रमुख बाटो रहेको बूढापाकाको भनाइ छ । सोही नगरपालिकाको ढम्कने गाउँबाट पर्यटकीय पदमार्ग निर्माण कार्य पनि भइरहेको छ । कालाजग्रा चुचुरोमा पुगेका पर्यटकलाई सहजरुपमा अवलोकनका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोमा ‘भ्यूटावर’ निर्माण हुन लागेको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए ।

सुदूर पश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा हाल रु नौ लाखमा केही तयारी भइरहेको र आगामी वर्षमा बजेट आएमा सो ठाउँमा ठूलै ‘भ्यूटावर’ निर्माण गरिने संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले जानकारी दिए । ढम्कनेबाट करीब डेढ घण्टापछि विभिन्न दृश्य कालाजग्रा चुचुरोमा पुगेर अवलोकन गर्न सकिन्छ । कालाजग्रा क्षेत्रमा रहेको वनमा चिरकालीजसमेत पाइने गरेको वडाध्यक्ष धर्मराज पाध्यायले बताए । भौगोलिक कठिनाइका कारण यहाँ अपेक्षित पर्यटक पुग्न सकेका छैनन् । बडिमालिकापछि उचाइका दृष्टिले बाजुराको दोस्रो उच्च ठाउँ हो । कालाजग्रा र सोही ठाउँमा रहेको चट्टानभित्रको अनौठो गुफाताल आकर्षक दृश्यावलोकनका लागि पर्याप्त सम्भावना बोकेको भए पनि यहाँ पर्यटक पुग्न सकेका छैनन् ।

पछिल्लो समय भने पोरखेमा सडक यातायातको पहुँच विस्तार भइसकेको हुनाले दुई वर्ष अघिदेखि केही आन्तरिक पर्यटक कालाजग्रा पुग्ने गरेको कालाजग्रा पर्यटन तथा संरक्षण समितिका अध्यक्ष रोकायाले बताएका छन् । यो घना जङ्गल भएको ठाउँ हो । यहाँ कालाजग्रा देवीको मन्दिरसमेत रहेको छ । धार्मिक महत्व बोकेको यो ठाउँबाट बाजुरा जिल्लाका सबै ठाउँको अवलोकन गर्न मिल्ने भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन पहल भइरहेको स्थानीयवासी रामबहादुर धामीले बताए ।

यहाँबाट बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता तथा गुफातालको दर्शन÷अवलोकन गर्न सकिन्छ । कालाजग्रा मन्दिरमा धार्मिक पर्यटक पुग्ने गरेका छन् । धार्मिक तथा प्राकृतिक गन्तव्यका रूपमा यो ठाउँ उच्च सम्भावना बोकेको अर्का स्थानीयवासी बलबहादुर रोकायाले बताए । देउडा, भोटेसेलो, घोडचढीजस्ता गतिविधिका कारण यहाँ पर्यटक आकर्षित हुने सम्भावना छ ।

स्थानीयस्तरमा उत्पादन हुने डोका, नाम्ला, सुपा, करुवालाई उपहारका रूपमा यहाँबाट किनमेल गर्न सकिन्छ । आलुका विभिन्न परिकार, कोदो तथा फापरका मिष्ठान्न भोजनले पनि यहाँ पर्यटक आकर्षित हुने गरेको छ । कालाजग्रा, गुफाताल तथा पोरखे लेक प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम शुरु भएका छन् । बडिमालिका नगरपालिकाले यस क्षेत्रको प्रवद्र्धनात्मक पहल थालेको हो । “स्थानीय पर्यटकीय उत्पादनको प्रवद्र्धनका लागि ‘गन्तव्य पोरखे’ नामक अभियान नै शुरु गरेका छौँ”, बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले भने ।

धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध तर प्रचारप्रसार हुन नसकेको कालाजग्रामा आन्तरिक तथा बाह्य पर्यटक बढाउन बडिमालिका नगरपालिकाले गन्तव्य यात्रा शुरु गरेको हो । यो क्षेत्रमा हरेक वर्ष घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम थालिएको उनले बताउए । सदरमुकाम मार्तडी हुँदै बाजुराको प्रमुख व्यापारी केन्द्र कोल्टी र कर्णालीको कालीकोट, मुगुको रारा, हुम्ला, जुम्लाको व्यापारिक बाटोका रूपमा पनि यसलाई चिनिने गरेको अध्यक्ष पाध्यायको भनाइ छ ।

पुसदेखि फागुनसम्म हिउँले ढाकिने फाँट र फाँटको छेउमा मिलाएर रोपिएकोजस्तो बुट्टा देखिने हिउँको दृश्य पोरखेगडी आसपासका क्षेत्रलाई बूढीगङ्गा नदीको उद्यगमस्थलले चिनिन्छ । कालाजग्रा क्षेत्रमा पर्ने पोरखे लेकमा बाइसे र चौबीसे राज्य भएको बेला राजाले बनाएको दरबार पोरखेगढी दरबारको भग्नावशेष पनि यहाँ देख्न पाइन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको यस क्षेत्रका कतिपय भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा ओझलमा परेको स्थानीयवासीको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै