• २०८१ बैशाख २० बिहीबार

विपन्न र भूमिहीन परिवारका लागि बनाइएका घर हस्तान्तरण

kharibot

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विपन्न र भूमिहीन परिवारका लागि निर्माण गरिएका घर आज हस्तान्तरण गरिएका छन् । कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपकप्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७५÷७६ मा आवास भवन निर्माणअन्तर्गत निर्माण गरिएका घर हस्तान्तरण गरिएका हुन् ।

सांसद डा भट्टसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विपन्न र भूमिहीन परिवारलाई निर्माण गरिएका घरको प्रमाणपत्र घर पाउने परिवारलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । 

घर हस्तान्तरण कार्यक्रममा सांसद भट्टले कमजोर अवस्था भएका बासिन्दालाई प्राथमिकता दिएर घर आवास निर्माण कार्यक्रम शुरु गरिएको बताए । स्थानीय पूर्वाधार क्षेत्र साझेदारी कार्यक्रमका लागि चालू आर्थिक वर्षमा भीमदत्त नगरपालिका र महाकाली नगरपालिकामा रु ५०-५० लाख बजेट विनियोजन गरिएको थियो । 

यस वर्ष विपन्न र भूमिहीन परिवारका भीनपामा–१५ र महाकाली नगरपालिकामा २० घर निर्माण गरिएका छन् । नगरपालिकाको वडा नं १३ मा सबैभन्दा बढी तीन घर निर्माण गरिएका छन् । यसैगरी वडा नं ११, १६, १७, ६, १० र १ मा एक-एक र वडा नं १२, ५ र ९ मा दुई-दुई घर बनेका छन् । नगरपालिकाको वडा नं ९ मा राउटे समुदायका लागि घर निर्माण गरिएको छ ।

महाकाली नगरपालिकाका सबै १० वडामा दुई-दुई घर निर्माण गरिएका सांसद डा भट्टका स्वकीय सचिव नितिशप्रसाद भट्टले जानकारी दिए । निर्वाचन प्रचारका क्रममा जनतालाई जग्गाको मालिक बनाउने र विपन्न गरीबका लागि घर आवास योजना ल्याउने प्रतिबद्धताअनुसार कार्यक्रम शुरु गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । 

भीमदत्तमा छुटेका वडामा आगामी वर्ष कार्यक्रम शुरु गरिने तयारी छ । घर हस्तान्तरण गरिएपछि स्थानीय खुशी व्यक्त गरेका छन् । घर पाएपछि खुशी हुँदै ६० वर्षीय सेते चुनाराले झुपडी बस्दा निकै झण्झट व्यहोर्दै आएकामा पक्की घर पाउँदा निकै सहज भएको बताए । 

बाजुराबाट तराई आएका चुनाराले विसं २०६५ मा ऐलानी जग्गामा काठको झुपडी बनाएका थिए । त्यसअघि भारतमा मजदूरी गरी जीविका चलाउँदै आएका थिए । नगरपालिकाको वडा नं १३ का अर्का नरबहादुर विकले सरकारले गरीबको घर निर्माण गरी राम्रो कार्य गरेको बताए । “खरको झुपडी बस्दै आएको घरबाट पक्की घर पाएको छ, खुशी नहुने कुरै छैन”, उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै