• २०८१ बैशाख २१ शुक्रबार

बार्बेडोसमा शुरू भएको वार्ताप्रति मदुरो आशावादी

kharibot

भेनेजुयला । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार बार्बेडोसमा शुरू भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ बनेको बताएका छन् ।

यसै बर्षको जनवरीमा भेनेजुयलाका राष्ट्रिय सभाका अध्यक्ष हुआँ गुएइदोले आफू देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राष्ट्रपति मदुरोमाथि प्रत्यक्ष चुनौति खडा भएको थियो । प्रतिपक्षी दलका नेता गुएइदोको घोषणालाई संयुक्त राज्य अमेरिकाले तत्काल समर्थन गरेको थियो भने यूरोपेली केही मुलुकसहित विभिन्न ५० मुलुकहरूले पनि अमेरिकी निर्णयलाई पछ्याएका थिए ।

भेनेजुयलाका राष्ट्रपति निर्वाचनबाट जनमत प्राप्त अधिकारी भएको भन्दै रूस, चीन र क्युवाले समाजवादी नेता मदुरोलाई दह्रो साथ दिएका थिए, जसका कारण मदुरो सरकारलाई आन्दोलनको बलमा सत्ताबाट हटाउने प्रतिपक्षीको चाहना विफल बनेको थियो ।

सरकार र प्रतिपक्षी दलका प्रतिनिधिहरूबीच वार्ताको वातावरण निर्माण गर्न नर्वेको ओस्लोमा भएका छलफलपछि दुवै पक्षका प्रतिनिधि औपचारिक वार्तामा सहभागि बन्न बार्बेडोस पुगेका छन् ।

सोमबार भएको वार्तापछि राष्ट्रपति मदुरोले राज्य सञ्चालित टेलिभिजन भीटिभीमार्फत गरेको सम्बोधनमा भने, म निकै नै आशावादी छु । सोमबार वार्ताटोलीले करिब पाँच घण्टा छलफल गरेको छ । मलाई लाग्छ, एकपछि अर्को गर्दै हुने छलफल र रणनीतिक धैर्यबाट हामीले शान्तिको बाटो खोज्न सक्छौँ ।

“वार्ता टोलीले मुलुकका सम्पूर्ण हितलाई ध्यानमा राख्दै विभिन्न छ वुँदामा छलफल गरिरेको छ,” राष्ट्रपतिले थपे । तर छलफलका ती छ बुँदा के के रहेका छन् भन्नेबारे भने उनले केही बताएनन् ।

राष्ट्रपति मदुरोले भेनेजुयलाको सङ्कटमा अमेरिकाले प्रतिपक्षीलाई उत्तेजित पारेको आरोप लगाउँदै भने, “यदि प्रतिपक्षीले सद्भावका साथ छलफलमा सहभागी हुने र अमेरिकी हस्तक्षेपवाद हावी नहुने हो भने म ढुक्क छु हामी सहमतिमा पुग्नेछौँ ।”

बार्बेडोसमा भइरहेको वार्ता ओस्लोमा गत मेमा भएको छलफलपछिको तेस्रो चरणको वार्ता हुनेछ । प्रतिपक्षी नेता गुएइदोले गत मङ्गलबार मदुरोसँग पुनःवार्ता गर्ने योजना नरहेको दावी गरेपनि सोमबार लामो समयसम्म दुबै पक्षका बुँदामा केन्द्रित बनेर छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिपक्षी समूहको सहयोगी मानिएका नौसेनाका अवकास प्राप्त उच्च अधिकारी राफेल अकोस्टा अरेभालोको शङ्कास्पद मृत्युले प्रतिपक्षी तथा अमेरिका तथा यूरोपेली मुलुक राष्ट्रपति मदुरोप्रति थप आक्रोशित बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै