काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई बिकासका दुई इन्जिनियर र सवारी चालकलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारका अनुसार जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई १४ लाख ६७ हजार ६ सय ५ रूपैया सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुले बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनिहरूसंग घुस रकम लिई बा. १ झ ५२८० नम्बरको सरकारी गाडिमा साउन २ गते काठमाण्डौ आउँदै गरेको भन्ने सुचनाको आधारमा अख्तियारको टोलीले साउन ३ गते भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारले सिनियर ईन्जिनियर अधिकारीको साथबाट १३ लाख ३८ हजार ५ सय, सोहि गाडिमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर साहको साथबाट १ लाख २९ हजार १ सय ५ शंकास्पद नगद फेला परेकोले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै सवारी चालक सुमन खड्कालाई बा १ झ ५२८० नम्बरको टोयोटा हाईलक्स गाडी सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको अख्तियारले जानकारी दिएको छ ।