• २०८१ बैशाख २२ शनिबार

गुल्मीको पहिरोको भौगर्भिक अध्ययन गरिने

kharibot

काठमाडौँ । सरकारले गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबारे भौगर्भिक अध्ययन गर्दै छ । पहिरो जानुको कारणसँगै सो क्षेत्रमा बस्ती बस्न ठीक छ कि छैन भनेर अध्ययन गर्न लागिएको हो । 

पहिरोग्रस्त क्षेत्रको अध्ययनका लागि खानी तथा भूगर्भविद् विभागको टोली शुक्रबार गुल्मी प्रस्थान गर्दैछ । यहाँ साउन ७ गते बिहान पहिरो खस्दा १३ जनाको मृत्यु भएको थियो । सयौँ घर उच्च जोखिममा परेको छ । एक हजारभन्दा बढी विस्थापित भएका छन् ।

विभागको पहिरो शाखाका भूगर्भविद् राजेन्द्र आचार्यले पहिरो जानुको कारण र सो क्षेत्रमा बस्ती बस्न लायक छ कि छैन भनेर अध्ययन गर्न लागिएको जानकारी दिए । उनका अनुसार झण्डै एक साता लगाएर अध्ययन गरिने छ । अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने आचार्यले बताए । अध्ययनमा आचार्यसँगै अर्का भूगर्भविद् सुलभ कायस्थसमेत सहभागी हुदै छन् । 

उनीहरुको अध्ययन प्रतिवेदनको आधारमा सो क्षेत्रमा बस्ती बसाल्ने कि अन्यत्रै व्यवस्थापन गर्ने भन्ने निक्र्यौल गरिने भएको छ । 

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा ठूलो लुम्पेक र वडा नं ४ को लिम्घामा साउन ७ गते बिहान ३ बजेदेखि परेको अविरल वर्षाका कारण ४ बजेदेखि पहिरो खस्न थालेको थियो । सो पहिरोमा परेर १३ जनाको ज्यान गएको छ भने दुई घाइते र १८ घर पूर्ण क्षति भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 

उनका अनुसार पहिरोका कारण ३०७ घर उच्च जोखिममा छ । पहिरोले एक हजार २६० स्थानीय विस्थापित छन् । उनीहरुमध्ये केहीलाई खुला स्थानमा टेन्ट टाँगेर राखिएको छ भने केही परिवारलाई विभिन्न स्कूलको अस्थायी आश्रयस्थलमा राखिएको छ । 

राहत र उद्धारको काम सकिएकाले अब पुनःनिर्माणको चरणमा अगाडि बढेको प्रजिअ पौडेलले बताए । प्रदेश सरकार र प्रशासन कार्यालयले मृतकका परिवारलाई जनही रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ । राहतमा भने कुनै कमी नगरिएको उनले बताए ।

बुधबारदेखि यहाँ विद्युत् सेवासमेत सञ्चालन गरिएको छ । अहिले खानेपानी र कृषिको क्षतिको विवरण सङ्कलनको काम शुरु भएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै